सुकुम्बासीलाई न पानी, न बिजुली
गुल्मी : खरले छाएका साना झुपडी। घामपानी भित्रै पस्छ। एकै नासका १० वटा खरका झुपडी मदन भण्डारी लोकमार्ग छेउमै छन्। दर्जन व्यक्ति एकै घरमा कोचिएर बस्छन्। मदन भण्डारी लोकमार्ग कालोपत्रे गर्ने क्रममा छ। सडकको सहज सुविधाले यस बस्तीलाई छोएको छ। छिमेकी पक्की घरमा बसेका छन्। उनीहरूको घरमा पानीका धारा छन्।
सबैका घरमा बिजुली बलेको छ। छिमेकमा चाडपर्वका बेला बेग्लै उत्साह हुन्छ। तर, झुपडीमा कष्टपूर्ण जीवन कटाइरहेका मालिका गाउँपालिका–७ घमिर सिलादी गुल्मीका सुकुम्बासी बस्तीमा कहिल्यै उज्यालो छाउन सकेन। बत्ती नहुँदा घाम नडुब्दै पकाउँछन्, साँझ नपर्दै खाना खाएर सुत्छन्। बालबच्चाले राम्रोसँग पढ्न पाएका छैनन्। सानै उमेरमा विवाह गरेर आमा बनेका छन्। छाक टार्नै मुस्किल पर्ने यस समुदायका नागरिकका धेरैजसो महिला रातोमाटो खनिदिएर नुन–तेलको जोहो गर्छन्।
०५६ देखि ०७४ सालसम्म भएको चुनावमा चार पटक यी बस्तीका नागरिकले भोट हालेर नेता चुने। चुनावमा आयो आश्वासन दियो, जग्गा भाग लगायो, निर्वाचित भएपछि मतदाताको बेवास्ता। चुनावका बेला घरघरमा पानीका धारा, बिजुली ल्याइदिने नेताले आश्वासन बाँडेको यो समुदायले भुलेको छैन। चुनाव जितेर पदमा पुगेका नेता फर्केर नआएकामा उनीहरूको गुनासो छ। ‘चुनावका बेला नेता यही झुपडीमा आएर सुतेर जान्थे’, ४७ वर्षीय पोमबहादुर विकले दुःखेसो पोख्दै भने, ‘बाटो नजिकै दुःख कटाएर बसेका छौँ। हाम्रो पीडा कसैले सुनेनन्।’
खोलाको पानीले प्यास मेटाउनुपरेको उनले गुनासो गरे। छिमेकका घरमा पानीको धारा खसे पनि सुकुम्बासी भएकै कारण आफूहरूलाई नदिएको उनले सुनाए। सिमलटारी बजारदेखि करिब १५ मिनेट पैदल यात्रा गरेपछि सुकुम्बासी बस्तीमा पुग्न सकिन्छ। दलित समुदायका परिवार १६ वर्षदेखि सुकुम्बासी बस्तीमा कष्टपूर्ण जीवन कटाइरहेका छन्। नेताले आफूहरूलाई यस क्षेत्रबाट विस्थापित गरी नयाँ स्थानमा लालपुर्जासहितको जग्गा दिएर स्थापित गरिदिने ‘गुलिया वचन’ दिए पनि कार्यान्वयन नगरेको दलित परिवारको गुनासो छ।
सुकुम्बासी बस्तीमा बत्ती नहुँदा घाम नडुब्दै पकाउँछन्, साँझ नपर्दै खाना खाएर सुत्छन्।
चाडपर्व र दुःख, बिरामी पर्दा धेरै समस्या पर्ने गरेको ६३ वर्षीया गोठी विकले बिलौना गरिन्। ‘४९ सालमा श्रीमान् बित्नुभयो। चार छोरा छन्’, उनले भनिन्, ‘सरकारले विधवा भत्ता दिएको छ, यसैबाट नुनतेल किन्छु।’ बिरामी हुँदा उपचार गर्ने पैसा नहुँदा रोग च्यापेर बस्नुपरेको उनले सुनाइन्। दलित परिवारमा हुर्केका नौजवान युवा छन्। तर, उनीहरू आय आर्जनमा जोडिन सकेका छैनन्। गाउँमा आफूहरूलाई कसैले ऋण नपत्याउँदा लगानी गर्ने अवस्था नरहेको उनीहरूको गुनासो छ। दशकअघि घमिरको टुनीखोलामा गएको पहिरोका कारण घर, सम्पत्ति मासिएपछि सुकुम्बासी हुनुपरेको उनीहरूले बताए। एकै सन्तानका दलित परिवार साविक घमिर गाविस–७ का हुन्। ५० जनाभन्दा बढी संख्यामा उनीहरू बस्दै आएका छन्।
०६४ को संविधानसभा निर्वाचनमा साविक नेकपा माओवादीका चन्द्रबहादुर थापा र त्यसपछिका निर्वाचनमा एमालेका गोकर्ण विष्टले चुनाव जिते। विष्ट यसअघि ऊर्जा र हाल श्रम तथा रोजगारमन्त्री छन्। उनी यसै क्षेत्रका सांसद हुन्। घामपानी ओत्न नसक्ने खरका झुपडीमा बाँचिरहेका सुकुम्बासी बस्तीको जीवन बदल्ने गरी नीति, कार्यक्रम ल्याउन नागरिक समाजका अगुवाले नेतृत्वलाई सुझाव दिएका छन्।
के भन्छ स्थानीय तह ?
सुकुम्बासी बसोवास गर्दै आएको क्षेत्र मालिका, इस्मा र धुर्कोट गाउँपालिकालाई पायक पर्ने स्थानमा पर्छ। यस क्षेत्रमा मालिका गाउँपालिकाले पार्क वा तीनवटै स्थानीय तहका नागरिकलाई सुविधा पुग्नेगरी अस्पताल सञ्चालन गर्ने सोच बनाएको गाउँपालिका अध्यक्ष रीतबहादुर थापाले बताए। ‘सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दै छ’, थापाले भने, ‘यस क्षेत्रमा रहेका सबै नागरिक सुकुम्बासी होइनन्, केही मात्र हुन्। लगत संकलन गरेर उनीहरूलाई एकीकृत बस्ती बनाएर स्थानान्तरण गर्छौं।’
चालु वर्षमा नीति तथा कार्यक्रम नरहेको थापाले बताए। आगामी वर्ष यी समुदायको जीवनमा परिवर्तन ल्याउने गरी कार्यक्रम बनाउने थापाले प्रतिक्रिया दिए। यस वर्ष खरको छाना हटाउने अभियान भए पनि यस बस्तीमा तत्कालै जस्तापाता वितरण गर्ने कार्यक्रम नरहेको उनको भनाइ छ। स्थानातरण गर्ने योजना भएकाले तत्कालै विकासका अन्य पूर्वाधार निर्माण गर्न नसकिएको थापा बताउँछन्।