उल्टासुल्टा कुरा लेखिएका छन्
हाम्रा इतिहासका पानामा धेरै उल्टासुल्टा कुरा लेखिएका छन्। नेपाल बनाउने, बढाउने पुरुष चाहिँ देशद्रोहीका रूपमा र देशलाई गुमाउने पराइको बाघपञ्जामा पुर्याइदिने व्यक्तिको चाहिँ बढ्याइँ उच्चै स्वरले गरिन्छ र पढाउने अध्यापक आँखा चिम्लेर यही पढाइराखेका छन् र विद्यार्थीवर्ग पनि गुरुवाक्य मानेर त्यही पढिरहेका छन्।
पक्षपात–लोभ–मोहबाट बचेर निष्पक्षदृष्टिले निक्र्याेल नगरीकन इतिहासको उल्झिएको गुत्थी सुल्झाउन मुस्किलै पर्छ। निष्पक्षता, निर्मोहिता, निर्लोभिता भएर लेख्नु नै इतिहासकारको ठूलो गुण हो, हाम्रो जस्तो देशमा त्यस्ता गुण पाउनु पनि दुर्लभ जस्तो भइरहेछ।
डा. डिल्लीरमण रेग्मीजस्ता सार्वलौकिक कहलिएका व्यक्तिहरू हामीले परिश्रमपूर्वक पढी अनुसन्धान गरी लेखेका लेखलाई सुटुक्कै सारेर अंग्रेजीमा अनुवाद गरेर आफ्नो उपज्ञात (मौलिक) पारी देश–विदेशमा प्रचारप्रसार गरी यश, अर्थआर्जन गरिरहेका छन्, त्यसमा हाम्रो कुरा अरण्यरोदन भइरहेछ। यसमा समर्थन त के सुनुवाइसम्म कतैबाट हुँदैन। हाम्रो देशमा विद्याको क्षेत्र यस्तै ऊषर भइरहेको छ।
आधुनिक इतिहासको पठनपाठन लेखन अनुसन्धान परिपाटी नै दोषपूर्ण छ। विदेशीले बनाएको बाटोबाट सरासर हिँड्न धेरै सजिलो भएबाट यो बाटो छोड्न कसैको हिम्मत हँदैन।
कसै कसैले हाम्रा आफ्नै साधन, स्रोत जुटाएर लेख्न खोजेको प्रयास पनि दूषित परम्पराले गर्दा सही विश्लेषण गर्न नसकेर वा सत्ता सञ्चालनको निर्देशनमा परेर अथवा कुनै अभिनिवेशमा बहेर झन् उल्टो गतिमा गइरहेको छ र सत्यसथ्य उद्घाटित हुन सकेको छैन।
इतिहासकार ज्ञानमणि नेपालको पुस्तक ‘नेपालको महाभारत’बाट।