जसले गाउँ बनाउँदै छन्
बाजुरा : बाजुराका अधिकांश स्थानीय तहका पुरुष कामको खोजीमा भारत गएपछि अहिले पूर्वाधार निर्माणमा महिला खटिन थालेका छन्। आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी हँुदा गाउँ–गाउँमा विकासका कामले तीव्रता पाएको छ। सबैमा ठाउँ महिला सहभागी हुने गरेको जिल्ला समन्वय समिति बाजुराकी सदस्य धनी थापाले बताइन्।
बडिमालिका नगरपालिका–८ र ९ मा बृहत् खानेपानी योजना सञ्चालन भइरहेको छ। खानेपानी निर्माणमा पुरुष नभएपछि महिला आफैं सक्रिय भएका हुन्। सदरमुकाम मार्तडीमा खानेपानीको लाइन विस्तार, ढुंगा फोड्न, घन साबेल चलाउन, मिस्त्रीदेखि अन्य काममा महिला जुट्ने गरेको जिल्ला समन्वय समितिका सदस्य धनी थापाले जानकारी दिइन्।
सरकारले बाजुरामा वितरण गर्ने अनुदानको भानु नुन अनलोड गर्दै महिला।
पुरुषजति कामका लागि भारत गएपछि गाउँमा महिला मात्रै रहेकाले पनि निर्माणमा उनीहरूको सहभागिता बढेको हो। बडिमालिका नगरपालिका–४ ओलेन गाउँमा पुरुष नहुँदा विकास निर्माणमा महिला सहभागी भएका छन्।
गाउँदेखि लेक जाने बाटो निर्माणमा महिला आफैं लागेका हुन्। वडासदस्य तुल्छी नाथले भनिन्, ‘पुरुषजति पैसा कमाउन भारत गएका छन्, कोही आउँदैनन्, महिलाले कडा परि श्रम गरिरहेका छन्।’ उनले गाउँको विकास निर्माणको सबै काम महिलाले गरिरहेको बताइन्।
स्वामीकात्तिक खापर गाउँपालिका–१ साप्पाटा गाउँमा वृद्धवृद्धा, महिला र बालबालिकामा मात्र छन्। स्थानीय शिक्षक मनबहादुर रोकायाले गाउँमा मलामीसमेत भेट्न समस्या भएको बताए। ‘सबै भारततिर पसेका छन्, कोही मर्दा पनि अब महिलाले मलामी जानुपर्ने अवस्था छ’, रोकायाले भने।
बाजुरामा यातायातका साधन चल्न थालेको धेरै समय भएको छैन। पक्की सडक अघिल्लो वर्ष पुगेपछि ठूला मालवाहक गाडी लोड–अनलोड गर्न महिला खटिने गरेका छन्। भएका पुरुष पनि भारत गएर जस्तोसुकै कठिन काम गर्छन् तर आफ्नो ठाउँमा काम गर्न हिच्किचाउने गरेको रोकायाले बताए।
धेरै वर्षदेखि खडेरीले उत्पादन कम भएपछि बाजुराका अधिकांश गाउँका पुरुष आद्यान्न जोहोका लागि पनि भारततिर लागेका हुन्। पुरुषजति सबै भारत गएपछि गाउँ नै पुरुषविहीन बन्दै गएको छ।
गाउँका सबै विकास निर्माण महिलाले गरेको जगन्नाथ गाउँपालिकाका प्रवक्ता डवल विकले बताए। लामो खडेरीका कारण बाजुराको पूर्वोत्तर क्षेत्रका हिमाली, स्वामीकात्तिक खापर, जगन्नथा र बूढिनन्दा नगरपालिकाको उत्पादन एकदमै घटेको छ। खेतीयोग्य जमिन बाँझै रहेपछि स्थानीय चरम खाद्य संकटमा परेकाले भारत जानेक्रम बढेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताए।