झंकार कति उठे तिम्रा
छुट्टिनु त छँदै छ, त्यसैकारण भेट्नु बोलाको
मौका हेरी आउनु छ किन घरिघरि बोलाको
अम्बर सर बित्नुभन्दा केही समयअघि उहाँले मलाई फोन गर्नुभएको थियो। मैले पूर्ण खुसीका साथ रिसिभ गरेँ।
‘तपाईंको नम्बर हराएछ र देवेन्द्र (पत्रकार देवेन्द्र भट्टराई) सँग मागेर गरेको। मेरो घर आउनुहोस् न भेटघाट गरौं’
उहाँले भन्नुभयो।
‘सर म त इलामतिर छु, काठमाडौं आएको बेला फोन गर्छु’, मैले जवाफ फर्काएँ। त्यो बेला हामीले गीतसंगीतबारे लामो कुरा गर्यौं। अन्त्यमा काठमाडांै आउँदा भेट्ने वाचासहित हाम्रो फोन वार्ता टुंगियो।
लामो समयसम्म म ह्याङओभरमा रुमल्लिइरहेँ। पन्छी भए उडेर उहाँसम्म पुग्थेँ र सांगीतिक कुराकानी गर्थें भन्ने सोचले पग्लिएँ। अम्बर सरसँग भेट्ने साइत कहिले आउला भनेर व्यग्र प्रतीक्षा गरिरहेँ। उहाँलाई बिरामी भएर भारतको मेदान्त अस्पतालमा भर्ना गरिएको र सरकारबाट खासै सहयोग नभएको सञ्चारमाध्यमबाट सुनेँ। हृदय भक्कानिएर आयो। कति बेला भेटौंझैं लाग्यो। तर बच्चा र व्यावहारिक कठिनाइले गर्दा सरलाई भेट्न जान पाइनँ।
अम्बर गुरुङ संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको कुलपति हुँदा मैले उहाँको व्यक्तिगत सहयोगीका रूपमा काम गर्ने मौका पाएकी थिएँ। उहाँका रचनाबारे छलफल गर्ने, सांगीतिक क्रियाकलापका बारेमा चर्चा गर्ने, उहाँका सिर्जना अंग्रेजीमा अनुवाद गरेर सुनाउँथेँ म। तीन किताब ‘कहाँ गए ती दिनहरू’, ‘सम्हालेर राख’, ‘अक्षरका आवाजहरू‘को अनुवादित रूप आएर विश्वभरिका संगीतप्रेमीले पढ्न पाऊन् भन्ने सपना साँचेका यी महान् स्रष्टाको अंग्रेजी भाषा पनि धेरै राम्रो थियो। उहाँका रचनाहरू दैनिक अनुवाद गरेर सुनाउँथे।
शारीरिक अस्वस्थताको कारण दिनभरि अफिसमा बस्न नसक्ने अम्बर गुरुङ आउने समय म व्यग्रताका साथ पर्खिरहन्थेँ। आफ्नो कक्षमा पुगेपछि ‘बालिका आउनुहोस्’ भन्दै मायालु शब्दले बोलाउनुहुन्थ्यो। अनि हाम्रो गफ गीत, संगीत, साहित्य, समसामयिकदेखि लिएर विभिन्न विषयवस्तुमा केन्द्रित रहन्थ्यो।
जीवनका अविस्मरणीय अनुभवहरू सेयर गर्ने उहाँको स्वभाव थियो। रोग र बुढेसकालका कारण बोली राम्ररी बुझ्न गाह्रो पथ्र्यो तथापि बोल्न रुचाउनुहुन्थ्यो। हात थरथरी कामेर मोबाइलसम्म समाउन मुस्किल पथ्र्यो। आफ्ना कृति मैले अनुवाद गरेर सुनाउँदा मुहारभरि सन्तुष्टिको किरण फैलाउँदै भन्नुहुन्थ्यो, ‘अंग्रेजी भाषामा तपाईंको राम्रो दखल रहेछ। मेरा यी सम्पूर्ण कृति अंग्रेजी भाषामा अनुवाद गर्दिनुस् है।’ मैले त्यो अनुरोध इन्कार गर्ने सवालै थिएन, बरु गौरव महसुस गरेँ। सोही सिलसिलामा ‘म अम्बर हुँ तिमी धर्ती’ शीर्षकको गीतको जवाफस्वरूप एउटा गीत सरको नाममा समर्पण गरेर लेखेकी थिएँ र उहाँलाई पढ्न दिए। गीत यस्तो थियो :
तिमी अम्बर भयौ र धर्ती सामु आउन खोजिन्
अपार उचाइ बिर्सिएर प्रीति लाउन खोजिन्।
झंकार कति उठे तिम्रा सातै सुर र तालभरि
धुन बज्न थाले छमछम सरगम छालभरि
उनी पनि के कम, तिम्रै साथमा गाउन खोजिन्
अपार उचाइ बिर्सिएर प्रीति लाउन खोजिन्।
अनुराग फुलेपछि संसारमा नयाँ रंग आयो
संगीतले जन्म लियो र बाँच्ने नयाँ ढंग आयो,
मीठो मृगतृष्णा बोकी तिमीलाई पाउन खोजिन्
अपार उचाइ बिर्सिएर प्रीति लाउन् खोजिन्।
यो गीत सरले खुब मन पराउनुभयो र अफिसका सबै जनालाई देखाउँदै यसमा संगीत भर्ने प्रण गर्नुभयो।
अम्बर सरको व्यक्तिगत सहयोगी हँदाको एउटा रमाइलो प्रसंग सम्झिएर मुस्कुराउने गर्छु। सर खैनी खानुहुन्थ्यो। एक दिन खैनी नभएर आपत् परेछ। अफिसका कार्यालय सहयोगी पनि कामविशेषले बाहिर गएको हुनाले खैनी ल्याइदिने मान्छे कोही भएन। ‘सर म ल्याइदिन्छु नि त’, मैले भनेँ। सरले आपत्ति जनाउने हाउभाउसहित भन्नुभयो, ‘हुँदैन, तपाईंजस्तो मान्छेलाई खैनी किन्न पठाएर म अपमान गर्न सक्दिनँ।’ कार्यालय सहयोगी आएपछि मात्र खैनीका लागि अह्राउनुभयो।
अरू सम्मान त छँदै थिए, तीलगायत संगीत क्षेत्रमा अतुलनीय योगदान पुर्याएबापत कर्नेलको उपाधि दिएको घोषणा गर्दै उहाँलाई दज्र्यानी चिह्न प्रदान गरिएको थियो। पूर्वप्रधानमन्त्री झलनाथ खनालमार्फत उक्त पद र दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको थियो। व्याकुल माइलाद्वारा रचित राष्ट्रिय गीत ‘सयांै थुंगा फूलका हामी एउटै माला नेपाली’का संगीतकार मात्र नभएर कयौं मन छुने गीतका रचनाकार हुँदै सुमधुर संगीत भर्ने अम्बर सरभित्र अद्भुत प्रतिभा थियो।
काठमाडौं जाउलाखेलस्थित डेभ कलेजको हलमा अम्बर सरको सांगीतिक कार्यक्रम थियो। वर्षायामको साँझपख समय। पानीको मौसम। अधिकांश जोडीको उपस्थिति। बढीजसो नाम कहलिएका जोडी सहभागी थिए। हल खचाखच थियो। त्यही हलको एक कुनामा कवि मन भएकी एक युवती म आफ्नो जोडी सम्झिँदै अम्बर सरको प्रस्तुति हेर्न आतुर थिए। बुढ्यौली र रोगले सताए पनि गीत–संगीतप्रतिको सरको मृगतृष्णालाई उपस्थित सबैले बुझेझंै लाग्थ्यो। बाजागाजा बज्न थाले। सर जागरुकतासाथ गीत गाउन थाल्नुभयो :
म अम्बर हुँ तिमी धर्ती
लाख चाहे पनि हाम्रो
मिलन कहिले नहोला।
यही मीठो र अमर गीत गाएर सांगीतिक माहोल सुरु गर्नुभयो। हरेक गीतको पृष्ठभूमि खुलाउँदै कालजयी गीत गाउँदै जानुभयो।
सम्हालेर राख, सँगालेर राख
फेरि फुल्ने हो कि होइन जीवनको फूल
यसलाई राख साँची साँची राख
चाहे झरोस् बिरानीमा निशानी भई फूल।
यो गीत सुनेर मेरा आँखा रसाए। सबै श्रोता पनि गम्भीर देखिए। जति सुने पनि गीत र संगीतको मिठास सकिने छाँट थिएन्। हलभरि रुमानी राग व्याप्त थियो। आफूले रचना गरेका गीतसंगीतमा ढालेर गाउन पाउँदा जीवनको उत्तराद्र्धमा अम्बर सर निकै सन्तुष्ट देखिनुहुन्थ्यो। अब युगल गीतको पालो थियो। महिला गायकले उहाँलाई साथ दिइरहनुभएको थियो। गीत यसरी अघि बढ्यो :
केटी : ए कान्छा, मलाई सुनको तारा खसाइदेऊ न,
केटा : त्यो तारा मात्रै होइन जून पनि झारिदिऊँला।
माहोल अझ रोमाञ्चित बनाउन अर्को पनि युगल गीत सुनाउनुभयो।
केटा : छुट्टिनु त छँदै छ, त्यसैकारण भेट्नु बोलाको
पर्खूं कि म नपर्खूं त्यही कुरा सोध्नु बोलाको
केटी : मौका हेरी आउनु छ किन घरि घरि बोलाको
भेट हुँदाचाहिँ लाटोजस्तो तिमी किन टोलाको ?
अब उहाँले हाम्रो ध्यान गजलतिर मोड्न चाहनुभयो। गजल रोमाञ्चकताले भरिपूर्ण थियो :
जसै केश तिमीले फुकायौ हावा गज्जबसँग लहरायो
जिन्दगीले हेर मुस्कुरायो।
भावमा विविधता दिन लोक शैलीको गीत पनि गाउनुभयो। हामीलाई उहाँले फरक फरक शैलीको मिठास प्रदान गर्नुभयो ः
रुन्छ न्याउली वनैमा म रुन्छु मनैमा
कसलाई थाहा कहाँ दुख्छ सम्झँदा मनैमा
रानीवनैमा बरर आँसु छ नैनतालैमा।
अम्बर सरसँग मेरो संगत लामो नभए पनि अविस्मरणीय रह्यो। उहाँको मृत्युको खबर सुनेपछि म मर्माहत भएँ। कयौंपटक आँसुको सहारा लिन पुगें। उहाँको संगीतप्रतिको उच्च ज्ञानलाई मनमनै सलाम गरें। उहाँले भेट्न चाहेर फोन गर्दा पनि हाम्रो भेट हुन सकेन। यही पछुतोले सताइरह्यो। सरसँग बिताएका क्षण स्मृतिका पानामा पल्टिइरहे। सरका कृति अनुवाद गरेर विश्वभरका पाठकमाझ पुर्याउनु नै उहाँका लागि पवित्र श्रद्धाञ्जलि हुनेछ। म उहाँका कृति अंग्रेजीमा अनुवाद गरिरहेकी छु।
थपलिया इलाममा बसेर लेखपढ तथा उल्था गर्छिन्।