यो दुःखको अन्त्य छैन

यो दुःखको अन्त्य छैन

प्रकृति अराजक छ। नदी कुनै नियम र लय मानेर बगेको हुँदैन। त्यो त आफ्नै बहुलठ्ठीमा हाँस्दै, गर्जंदै, छिल्लिँदै बगेको हुन्छ। जब वसन्त आउँछ, फूलहरू सल्लाह  गरेर पालैसँग फुल्दैनन्। वसन्तले त रङहरूको  विस्फोट लिएर आउँछ। छ्यापिदिन्छ, पोतिदिन्छ प्रकृतिलाई। सिर्जना प्रकृतिजस्तै अराजक हुन्छ। त्यसैले महान् सर्जकहरूलाई साधारण मान्छेले सधैं पागल ठानेका छन्। 

देवकोटा पागल, पिकासो पागल, जिम मोरिसन पागल र भ्यान गग पागल। साधारण मान्छे महान् कलाकार हुनै सक्दैन। संगीत शान्ति होइन। दुई वस्तुको घर्षणबाट उत्पन्न भएको ध्वनिको ताण्डव हो संगीत। रङहरूको ताण्डव हो एउटा सुन्दर पेन्टिङ। लहरमा मिलाएर शब्द राख्दैमा कविता बन्दैन। शब्दहरूको ताण्डव हो कविता। 
त्यस्तै, उमेरको सतही यात्रा मात्र जीवनको परिभाषा हैन। जीवन सिर्जनाले नापिनुपर्छ र सिर्जना गर्न पहिला आफ्नै जीवन अराजक हुनुपर्छ। अस्तव्यस्त हुनुपर्छ। अनेक पल्ट आफ्नो हृदय तोडिएर बहुलाएको मान्छे मात्र महानतम सर्जक बन्छ। रातका तारा त्यसै बनेका हैनन्। तातो ग्यासको भट्टीमा लाखौं वर्ष पाकेर ती बनेका हुन्। 

भावनाकै कुरा गर्दा पनि खुसीमा त्यो गहिराइ कहाँ जुन पीडामा हुन्छ। त्यसैले, महानतम व्यक्तिहरूले जहिल्यै पीडा रोजे। पीडाकै गहिराइमा डुबेर आफ्नो सिर्जना रचे। उत्तप्त आवेगमा बाँचिएको जीवनले भावना र विचारको नदीमा बाढी ल्याउँछ। त्यही बाढीले शब्द र ध्वनिका बाँध भत्काए कविता र संगीत बन्छ। रङका बाँध फुटाए पेन्टिङ बन्छ।
अवसादको एउटा शृंखला रह्यो, भिन्सेन्ट भ्यान गगको जीवन। बाँचुन्जेल न प्रेम पाए उनले, न सफलता। अहिले बहुमूल्य मानिने उनका पेन्टिङ उनी जीवितै हुँदा भने एउटा पनि बिक्री हुन सकेन। दुःखी, पीडित र बहुला जीवन बाँचे भ्यान गग। त्यही दुःखले उनलाई यस्तो गहिराइदियो जो उनको कलामा 
पोखिएको पाइन्छ। 

भ्यान गगको रङ–चेतना असाधारण थियो भनिन्छ। अरू कलाकारहरूले रङको उज्यालो थोप्लोमा सीमित गरेका ताराहरूलाई उनले विचित्रको व्यक्तित्व दिए। भ्यान गगका पेन्टिङमा ताराहरू रंगीन स्पाइरलका रूपमा चित्रित हुन्छन् जसका लागि उनले आफ्ना समकालीनहरूको प्रशस्त गाली खाए। ‘ताराहरू पनि कहीँ तिमीले बनाएको जस्तो हुन्छ ? जे पायो त्यही बनाउँछौ ?’ भनेर प्रश्न गरिँदा भ्यान गग भन्थे, ‘मेरा आँखाले जे देख्छन्, म त्यही बनाउँछु। मेरा आँखाले ताराहरूलाई यस्तै देख्छन् त म के गरौं ?’

बाँचुन्जेल न प्रेम पाए, न सफलता। अहिले लाखौं डलर मोल तोकिएका उनका पेन्टिङ उनी जीवितै हुँदा एउटा पनि बिकेनन्। दुःखी, पीडित र बहुला जीवन बाँचेका भिन्सेन्ट भ्यान गग कलाको इतिहासका सबैभन्दा उदास अनुहार हुन्। 

संसार आश्चर्यचकित भयो जब सन् २००४ मा हबल स्पेस टेलिस्कोपले खिचेको तारापुञ्जको तस्बिर सार्वजनिक भयो। त्यो तस्बिर भ्यान गगले फ्रान्सको एउटा पागलखानामा रहँदाताका बनाएको मास्टरपिस ‘स्टारी नाइट्स’ चित्रसँग धेरै मिल्दोजुल्दो थियो। भनेपछि भ्यान गगका नांगा आँखा र फुस्केको दिमागले ताराहरूलाई हबल स्पेस टेलिस्कोपले झैं देख्दा रहेछन्। 

नासाले सन् २००४ मा निकालेको प्रेस वक्तव्यमा लेखिएको छ, ‘भ्यान गगको प्रख्यात चित्र स्टारी नाइट्समा देखाइएका ताराहरू र नासाको हबल स्पेस टेलिस्कोपबाट खिचिएका ताराहरूका नयाँ चित्रहरूमा धेरै समानता पाइएको छ।’ भ्यान गग भन्ने गर्थे, ‘तिमीहरूका लागि हरियो एउटा रङ होला, तर म त्यही एउटा रङमा हजारवटा भिन्न सेड्स देख्छु।’ 
के पीडा र पागलपनले भ्यान गगको चेतनाको द्वार यसरी खोलिदिएको थियो कि उनी प्रकृतिका रहस्यलाई सामान्य आँखाले नै देख्न सक्थे ? खगोलशास्त्रीहरू मात्र नभएर अहिले भौतिक विज्ञानका शोधकर्ताहरूसमेत एउटा रहस्यमयी प्राकृतिक घटना ‘फ्ल्युइड टरब्युलेन्स’लाई भ्यान गगका चित्रहरूसँग तुलना गर्छन्। इतिहासकै महानतम् चित्रकारमध्येका एक मानिएका भ्यान गग आफ्नो सफलता र ख्याति भने देख्नै नपाई ३७ वर्षकै उमेरमा मरे। 

आफ्ना भाइ थियोलाई लेखेको एउटा पत्रमा भ्यान गगले लेखेका छन्, ‘ताराहरू मेरो प्रेरणा हुन्। तिनैले हुन् मलाई सपना देखाउने। म आफैंलाई सोध्छु, किन फ्रान्सको नक्सामा कालो थोप्लाले अंकित गरिने सहरहरूझैं छैनन् यी ताराहरू ? ट्रेन चढेर एक सहरबाट अर्कोमा पुग्न सकेझैं किन एक ताराबाट अर्कोमा पुग्न नसकिएको ? सायद सकिन्छ। मृत्युपछि !’ 

अधुरो प्रेम 

सन् १८७३ लन्डन।

उन्नाइस वर्षकी केटी थिई उर्सुला। उर्सुला र उसकी आमाले चलाएको बोर्डिङ हाउसमा बस्थे भिन्सेन्ट भ्यान गग। एक्काइस वर्षका भ्यान गग उर्सुलाले ब्रेकफास्ट सर्भ गर्दै गर्दा सोच्थे, ‘यो केटीले जीवनभर यसैगरी मलाई ब्रेकफास्ट सर्भ गरे हुने।’ 

जीवनको पहिलो प्रेम उनको। तर एकतर्फी। हुन त यसअघि क्यारोलाइन नामकी एक आफन्त केटीलाई पनि भ्यान गगले मनमनै मन पराएका थिए भनेर केही अध्येताहरू दाबी गर्छन्। तर उर्सुलाप्रतिको उनको चाह यस्तो गहिरो थियो, उर्सुलाका अगाडि बोली नै बन्द हुन्थ्यो, भ्यान गगको। उर्सुला मुस्कुराउँथी, आफ्नो उमेरजन्य चञ्चलता देखाउँथी। भ्यान गग त्यसैलाई प्रेम भन्ठान्थे। ठान्थे, उनी आफू जति प्रेम गर्छन् उर्सुलालाई, ऊ पनि त्यति नै गर्छे उनलाई। एक दिन लजाउँदै, डराउँदै मनका कुरा राखे पनि उनले। तर भन्न राम्रोसँग जानेनन् सायद। भनिदिए सीधै, ‘उर्सुला म चाहन्छु तिमी मेरी पत्नी बन।’ 

‘तपाईंकी पत्नी ? असम्भव ! मेरो अरू नै कसैसँग मगनी भएको एक वर्ष भइसक्यो। तपाईंभन्दा माथिको कोठामा त बस्छ ऊ। तपाईं यहाँ आउनुअघि ऊ तपाईं बस्नुभएकै कोठामा बस्थ्यो। अहिले वेल्स गएको छ। छिट्टै उसको गर्मी छुट्टी सुरु हुन्छ अनि मलाई भेट्न आउँछ’, उर्सुलाले स्पष्टीकरण दिई। 
उदास स्वरमा भ्यान गगले सोधे, ‘यो कुरा मलाई पहिल्यै किन भनिनौ ? तिमीलाई प्रेम गर्न थाल्दै छु भन्ने थाहा पाउँदा पाउँदै किन मलाई रोकिनौ ?’
‘म त साथी मात्र बन्न चाहन्थेँ। मलाई प्रेम गर्नु तपाईंको गल्ती थियो’, उर्सुलाले झर्किंदै उत्तर दिई। 

उसलाई चुम्बन गर्ने प्रयास गर्दै भ्यान गगले भने, ‘विवाह गर उर्सुला मसँग। तिमीले उसलाई बिर्सिनेछौ। म यति धेरै प्रेम गर्नेछु तिमीलाई।’ उर्सुला कराई, ‘उसो भए मैले आफूलाई प्रेम गर्छु भन्ने सबैसँग विवाह गर्दै हिँड्नुपर्ने ? खै छाड्नुहोस् मलाई, नत्र म कराएर सबैलाई बोलाइदिन्छु। रातो टाउके मूर्ख !’  सधैं बिहान ब्रेकफास्टका लागि बोलाउन आउने उर्सुला भोलिपल्ट बिहान भने आइन। भिन्सेन्ट आफैं तल ओर्लिए। उर्सुला र उसकी आमा केही खस्याकखुसुक गर्दै थिए, भिन्सेन्टलाई देख्नासाथ उर्सुला भान्साकोठातिर छिरी। सकेसम्म भिन्सेन्टको अघिल्तिरै पर्नु नपरेझैं हुन्थ्यो गरी उसले पूरा हप्ता बिताई। एक बिहान मौका छोपेर भिन्सेन्टले फेरि उसलाई भने, ‘उर्सुला अस्ति मैले तिमीलाई खुब तर्साएँ है ? माफ गरिदेऊ मलाई।’

‘ए त्यो कुरा त मैले उहिल्यै बिर्सिसकेँ’ भन्दै उर्सुला आफ्नो बाटो लाग्न खोजी। भिन्सेन्टले रोके। ‘उर्सुला, गत हप्तादेखि म कती उदास छु तिमीलाई के थाहा ? तिमी किन मबाट तर्किंदै हिँड्ने गरेकी अचेल ?’

‘फेरि त्यस्तै कुरा पो गर्न थाल्नुभयो तपाईं त ! बरु तपाईं अब अर्को घर खोज्नुहोस् बस्नलाई। आमाले भन्नुभएको। मेरो प्रेमी आउँदै छ। उसको लागि कोठा चाहिएको छ।’ 
यसरी उर्सुलाको प्रेमले जगाइदिएका भिन्सेन्टका आँखाको चमक फेरि ओइलायो। अन्ततः उनले कोठा छाडे। नयाँ घरमा बस्न गए। अर्को घरमा गए पनि बेला बेला उनी उर्सुलाको घरछेउ आएर उसको कोठातिर हेरिरहन्थे। 

उर्सुलाको छायासम्म देख्न पाए भने खुसी हुन्थे। मुसलधारे पानी परेको एक दिन यसरी नै उनी उर्सुलाको घरतर्फ हानिएका थिए। टेम्स नदीको पानी बाढीले पहेंँलै भएको थियो। ओभरकोट र ह्याटसमेत लगाउन बिर्सिएर हिँडेका भ्यान गग भिजेर निथ्रुक्क भएका थिए। जुत्ताभित्र समेत पानीपानी भएको थियो। घन्टौं पैदल हिँडेर अन्ततः साँझपख आफू पहिला बस्ने घरअघि आइपुगेका उनले यसपालि देखे, घरमा झिलिमिली छ। घरअघि बग्गीहरू रोकिएका छन्। छाता ओढेर बग्गीमा बसेको बग्गी चालकलाई सोधेर थाहा पाए, आज उर्सुलाको विवाह रहेछ। 

उनी आँसु बगाउँदै सडकको एक छेउ उभिइरहे, केही बेरमा उर्सुला र उसको पति हातमा हात समातेर आए र बग्गीमा चढे। भ्यान गगको छातीमा चसक्क गर्‍यो। यही क्षणमा उनलाई कताकता पूर्वाभास भएको थियो, जीवन सजिलो हुनेवाला छैन। बाँचुन्जेल उदासीले छाड्नेवाला छैन। यो जीवनकै पहिलो र अधुरो प्रेमपछि उनले लन्डन सधैंका लागि छाडे। 
सायद ईश्वरले नै त्यस्तै चाहे, अथवा हुन सक्छ भ्यान गगको अवचेतन मनले नै पीडा रोजेको हो आफ्नो कलामा निखार आओस् भनेर। उनी सधैं अप्राप्यजस्तो लाग्ने किसिमका महिलाहरूलाई मात्र प्रेमिकाका रूपमा हेर्ने गर्थे। उनको कुनै प्रेमसम्बन्ध दोहोरो र सुखद भएन। 

उर्सुलापछि उनले फेरि आफ्नै एक विधवा आफन्तलाई मन पराउन थाले। उनीसमक्ष जब भिन्सेन्टले विवाहको प्रस्ताव राखे, उनले पनि उर्सुलाकै भाषा बोलिन्। मुहारमा भय र घृणाका भाव प्रकट गर्दै, शरीर थरथरी कमाउँदै उनले उत्तर दिइन्, ‘विवाह ? तपाईंसँग ? अहँ ! नाइँ !! गर्दै गर्दिनँ !!’ 

यसरी प्रेम पाउने अनेक असफल प्रयासबाट हार खाएका उनी जीवनको अन्त्यमा केवल वेश्याहरूसँग सम्बन्ध बनाउने गर्थे। मारिया नामकी एउटी गर्भवती वेश्यालाई त यिनले सडकबाट उठाएर घरमै लिएर आए। डेढ वर्षसम्म सँगै बसेपछि उसैसँग विवाह गर्न तम्सेका थिए भ्यान गग। घरमा खानैको समस्या हुन थालेपछि मारियाकी आमाले मारियालाई फेरि वेश्यावृत्तिमै फर्कन बाध्य बनाई। वेश्यासँग बसेको भनेर भ्यान गगका परिवारले त उनलाई पहिल्यै माया मारिसकेका थिए। मारियालाई सडकमा फर्कनबाट रोक्न सकेनन् उनले। 

दाजुभाइको दोस्ती 

दाजुभाइबीचको प्रगाढ सम्बन्धको अनुपम उदाहरण हो, भिन्सेन्ट भ्यान गग र थियो भ्यान गगबीचको सम्बन्ध। यसबारेमा अनेक सिनेमा बनेका छन्, किताब लेखिएका छन्। भाइ थियोले नै दाजु भिन्सेन्टलाई उनमा चित्रकारिताको असाधारण क्षमता रहेको र उनले त्यही दिशामा आफ्नो जीवन यात्रा गर्नुपर्ने कुरा सुझाएका थिए। दाजुभाइ दुवै कलापारखी। दुवैले एउटा प्रख्यात आर्ट ग्यालरीमा आर्ट डिलरको जागिर सुरु गरेका थिए। कालान्तरमा थियो आफ्नो पेसामा जम्दै गए, भिन्सेन्ट भने सकेनन्। 

पेन्टिङ गरेरै जीवन बिताउने निधो गरेका भिन्सेन्ट भ्यान गगलाई जीवनभर आर्थिक सहयोग गरेर मद्दत गरे थियोले। भिन्सेन्ट भने उनले खानेकुरा किन्नू भनेर पठाएको रकम पनि रङ, ब्रस र क्यानभास किनेरै सक्थे र भोकभोकै चित्र बनाएर बस्थे। भिन्सेन्टको जीवनभरमा थियोले उनलाई अनेक पल्ट गरेर अठार हजार अमेरिकी डलर पठाएका थिए। भनिन्छ, त्यो हालको समयमा चार लाख अमेरिकी डलर बराबर हुन आउँछ। 

भिन्सेन्टको कला एक अर्थमा थियो र भिन्सेन्टको साझा परियोजना थियो भन्दा अतिशयोक्ति हुँदैन। भिन्सेन्टको परिवर्तित भइरहने मुडलाई सम्बोधन गर्नेदेखि लिएर उनलाई जीविकोपार्जन गर्न चाहिने वस्तुहरू जुटाइदिने कामसम्ममा थियो सहभागी थिए। संसारले आज भिन्सेन्ट भ्यान गगलाई जुन अर्थमा चिन्छ, त्यो थियोको सहयोगबिना सम्भव थिएन। भिन्सेन्टको मानसिक अवस्था डामाडोल हुँदै गएका दिनहरूमा पनि थियोले उनलाई प्रेम र सहयोग गर्न छाडेनन्। गोली लागेर मृत्युशड्ढयामा परेका भिन्सेन्टको खबर पाउनेबित्तिकै भिन्सेन्टलाई भेट्न निस्केका थियो भिन्सेन्टको अन्तिम समयमा उनीसँगै थिए। 

भिन्सेन्टको मृत्युपछिका दिन थियोको लागि सहज भएन। बिस्तारै उनको मानसिक अवस्था पनि बिग्रन थाल्यो र उनलाई पनि अस्पतालमा भर्ना गर्नुपर्‍यो। भिन्सेन्टको अल्पायुको जिम्मेवार आफूलाई ठान्न थालेका थिए थियोले। भिन्सेन्ट बिनाको आफ्नो जीवन अधुरो ठानेका थियोको मृत्यु भिन्सेन्टको मृत्यु भएको छ महिना नबित्दै भयो। उनीहरूबीचको प्रगाढ प्रेमको कदर गर्दै हाल थियोको समाधिस्थल भिन्सेन्टकै छेउमा 
बनाइएको छ। 

१८९० जुलाई २९ को बिहान उत्तरी फ्रान्सको एउटा भाडाको कोठामा भिन्सेन्ट भ्यान गगको मृत्यु भयो। पेटमा गोली लागेको थियो उनलाई। मर्नुअघि उनले आफैंले आफैंलाई गोली हानेको दाबी गरे। आत्महत्या गर्ने प्रयास गरेको दाबी गरे। मान्छेहरूले पत्याए। त्यसै पनि दिमाग फुस्किएको मान्छेको रूपमा चिनिएका थिए उनी वरिपरि। 

वर्षौंसम्म आत्महत्या नै उनको मृत्युको कारक मानियो। उनको अस्थीर मानसिक अवस्था र डिप्रेसनका बारेमा सबैलाई थाहै थियो। हुन पनि १८९० मा आफ्नो अस्थिर मानसिक स्वास्थ्योपचार गराउन एक वर्ष एउटा मानसिक अस्पतालमा बिताएका थिए उनले। त्यहाँबाट उनको मुड कहिल्यै स्थिर हुँदैन थियो। कहिले उनी खुसीले रमाइरहेका हुन्थे त कहिले थरथरी काम्दै पागलसरी बर्बराइरहेका हुन्थे। हाल उनको व्यक्तित्वमाथि अध्ययन गरिरहेका मनोचिकित्सकहरू भन्छन्, भ्यान गगलाई कुनै एक मानसिक समस्या मात्र नभएर सिजोफ्रिनिया, छारेरोग, क्रोनिक डिप्रेसन, अटिजमलगायत अनेक मानसिक समस्या रहेको हुन सक्ने सम्भावना भएको देखिन्छ। मानसिक स्वास्थ्यका बारेमा पर्याप्त चेतना र जानकारी नभएको समयमा उनले बिना कुनै सहायता त्यत्रा समस्या एकसाथ कसरी झेले होलान् भनेर अनुमान गर्दा नै हामीलाई पीडा हुन्छ। 
उनको मृत्यु भएको एक सय २० वर्षपछि भने उनले आत्महत्या गरेको कुरामाथि प्रश्न उठाइन थाल्यो। 

पुलिट्जर पुरस्कार प्राप्त दुई पत्रकारले बृहत् अनुसन्धान गरेर २०११ मा प्रकाशन गरेको भ्यान गगको जीवनीले उनले आत्महत्या नगरेको दाबी गर्‍यो। उनीहरूका अनुसार उनलाई भूलचुकले एउटा स्कुले केटोले गोली हानेको थियो। भ्यान गगले उक्त केटोमाथि हत्याको आरोप नलागोस् भनेर आफैंले आफूमाथि गोली चलाएको भनेर झुट बोलेका थिए। उनीहरूसँग यो दाबीलाई पुष्टि गर्ने पर्याप्त आधार थिए। 

जस्तै, उनीहरूले प्रश्न उठाएका थिए— भ्यान गगसँग बन्दुक कहाँबाट आयो र उक्त बन्दुक फेरि कहाँ बेपत्ता भयो ? जहाँ र जसरी उनको शरीरमा गोलीको घाउ लागेको थियो, त्यो घाउ आफैंले आफैंलाई गोली हानेर भएको प्रकृतिको छँदै थिएन। गोली लागेको बीस घण्टापछी बल्ल उनको मृत्यु भएको थियो। आत्महत्या गर्न खोज्ने मान्छेले आफूमाथि त्यसरी किन गोली चलाउँथ्यो ? साथै उनको खल्तीमा भाइ थियोका लागि लेखिएको पत्र भेटिएको थियो जसमा लेखिएका कुराहरू आत्महत्या गर्न लागेको मान्छेले लेख्ने खालको थिएन। 
भ्यान गगको मृत्युको यो रहस्य ठ्याक्कै सायदै कहिले सुल्झिएला। उनको असाधारण प्रतिभा, रङ र क्यानभासप्रतिको उनको प्रेम र उनले छाडेर गएका अद्भुत कलाकृतिहरू भने हामीमाझ रही नै रहनेछन्, एउटा अचम्मको किंवदन्तीझैं बनेर। आफ्नो हृदयको हरेक ढुकढुकी रङमा पोखेर, क्यानभासमा पोतेर गएका छन् उनले।
बाँचुन्जेल दुखी जीवन बाँचेका भिन्सेन्ट भ्यान गगले 
आफ्नो जीवनको अन्तिम क्षणमा भनेका थिए रे, ‘यो दुखको 
अन्त्य छैन...’

सन् १८५३ मा हल्यान्डमा जन्मिएका थिए भिन्सेन्ट भ्यान गग। उनका पिता पादरी भएकाले घरको वातावरण धार्मिक प्रकृतिको थियो। स्वभावतः उनले कडा अनुशासनमा हुर्कनुपर्‍यो। जीवनको केही समय उनले किताब पसल र कलाकृति बेच्ने पसलमा काम गरे। केही समय पादरी बनेर पनि बिताए। 

आफूभित्र रहेको ईश्वरप्रदत्त प्रतिभाको पहिचान उनले जीवनको बीसौं दशकको उत्तराद्र्धमा मात्र गर्न पाए। सुरुसुरुमा उनका पेन्टिङहरू अँध्यारा किसिमका हुने गर्थे। यो बेलाको उनको प्रख्यात कलाकृति ‘द पोटेटो इटर्स’ हो, जसमा एउटा किसान परिवार आफ्नो रात्रिकालीन भोजन गर्दै गरेको देखाइएको छ। त्यसपछि भाइ थियोसँग समय बिताउन भनेर पेरिस गएका भ्यान गगले फ्रान्सका तत्कालीन पेन्टरहरूले बनाउने गरेका उज्याला चित्रहरू देखे र तीबाट निकै प्रभावित भए। 
यसउप्रान्त उनका कलाकृतिहरूमा उज्याला रङहरूको प्रयोग देखिन थाल्यो।
 

अस्थीर प्रकृतिका भ्यान गग पेरिसदेखि पनि वाक्क भएर दक्षिणी फ्रान्सतिर लागे जहाँ उनको भेट अर्का एक पेन्टर पल गोगाँसँग भयो। गोगाँबाट भ्यान गग अत्यन्तै प्रभावित थिए। उनीहरू एकआपसमा एउटा आर्ट स्टुडियो सञ्चालन गर्ने सपना देखिरहेका थिए। उनीहरूबीचको सम्बन्ध अनौठो थियो। मिल्दा ज्यानै दिएर मिल्ने, बाझाबाझ गर्दा ज्यानै लिऊँलाझैं गर्ने। गोगाँसँग झगडा भएकै झोंकमा एकपल्ट भ्यान गगले आफ्नो कान काटी त्यसलाई खाममा राखेर एउटी वेश्यालाई दिएर आए। अत्यधिक रक्तश्रावले झन्डै मरेका थिए त्यस बेला उनी। त्यहाँउप्रान्त भ्यान गग र गोगाँको कहिल्यै भेट भएन। 

यसको केही समयपश्चात् भ्यान गग बसेको गाउँका गाउँलेहरू मिलेर उनलाई मानसिक अस्पतालमा राखिनुपर्ने आवेदन दिए। उनलाई मानसिक अस्पताल पुर्‍याइयो। त्यहाँ रहुन्जेल उनले पेन्ट गर्न पाएनन्। त्यसै त उदास स्वभावका भ्यान गग, त्यहाँ त्यसरी बस्नुपर्दा झनै गहिरो डिप्रेसनको सिकार भए। अस्पतालले डिस्चार्ज गरेपछि फेरि पेन्ट गर्न थालेका उनले विभिन्न कारणले फेरि एकपल्ट स्वेच्छाले मानसिक अस्पताल भर्ती हुने निर्णय गरे। 

यसपालि भने अर्कै मानसिक अस्पतालमा जहाँ उनलाई पेन्ट गर्ने अनुमति थियो। यही मानसिक अस्पतालमा रहँदा उनले आफ्नो प्रख्यात ‘स्टेरी नाइट्स सिरिज’ बनाएका थिए। भ्यान गगलाई ‘एक्सप्रेसनिजम’ नामको एउटा शैलीको प्रणेता मानिन्छ। आफ्नो प्यासनलाई प्रोफेसन बनाउन चाहने, परम्परागत करिअर विकल्प नरोजेर आफ्नो हृदयले चाहेको प्रोफेसन रोज्न चाहनेका लागि भ्यान गगको जीवन प्रेरणादायी हुन सक्छ। २७ वर्षको उमेरमा मात्र उनले आफूमा पेन्टर बन्न सक्ने क्षमता छ भन्ने कुराको पहिचान गरेका थिए। यो प्रमाण हो, समाजले तोकिदिएअनुसारकै गति हुनुपर्छ जीवनमा भन्ने छैन। कसैले आफ्नो प्रतिभाको पहिचान ढिलो गर्छन्, कसैले चाँडो। कुनै नयाँ कुरा ठ्याक्कै यही उमेरमा मात्र सुरु गर्नुपर्छ भन्ने छैन। हामी सबै आआफ्नो गतिमा यात्रा गर्न स्वच्छन्द छौं। 

अनेक समस्याका बीच, अस्थीर मानसिक स्वास्थ्यका बीच भिन्सेन्ट भ्यान गगले आफ्नो मार्ग पहिल्याई छाडे। यो प्रमाण हो, समस्याले प्रतिभालाई छेक्न सक्दैन। र सबैभन्दा महत्वपूर्ण कुरा— प्रतिभा लुक्दैन, समयका अँध्यारा पानामा हराएर जाँदैन। कुनै एक दिन प्रतिभाको कदर भएरै छाड्छ। कुनै जमानामा कसैले किन्न नचाहेका उनका पेन्टिङको मूल्य अहिले लाखौं डलर तोकिएको छ। 
अनुपम पोखरेल देश–दुनियाँका अराजक लेखक–कलाकार–आध्यात्मिकहरूका पारखी लेखक÷अनुवादक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.