कुन्जाङपुटिक कमाल
राडीपाखी व्यवसायमा संलग्न भएपछि कुन्जाङपुटिकको अवस्था फेरिएको छ। उद्योगमा उनले अरूलाई रोजगारी दिएकी मात्र छैनन्, बचतसमेत गरेकी छन्।
दशकअघिको कुरा हो, त्यति बेलासम्म उनलाई राम्रो लाउन र मीठो खान चाडबाड नै कुर्नुपथ्र्यो। के खाऊँ, के लाऊँ भन्ने चिन्ताले सताइरहन्थ्योे। उनको न कमाइखाने जग्गा थियो, न त कुनै व्यवसाय नै। सधैं भोको पेट कसरी भर्ने भन्ने चिन्ता हुन्थ्यो। उनी हुन्, जुम्ला चन्दननाथ नगरपालिका–२ की ४१ वर्षीया कुन्जाङपुटिक तामाङ।
राडीपाखी व्यवसायमा संलग्न भएपछि उनको अवस्था फेरिएको छ। अहिले उनको आफ्नै झोला, लिउ र राडीपाखी उद्योग छ। उनी आफ्नै कमाइबाट सजिलै खर्च टारेर बचतसमेत गर्ने र रोजगारी दिने अवस्थामा पुगेकी छन्। मुगुको कार्मारोङ गाउँपालिकाको दुर्गम ताखा गाउँमा जन्मेर मुगुमै बिहे गरेकी उनले आफ्नो कर्मथलो जुम्लालाई बनाएकी हुन्। गरिबीका कारण सानोमा विद्यालयको मुख नै नदेखेकी उनी अहिले पढ्न नपाएकामा दुःखी हुन्छिन्। तर प्रौढ शिक्षापछि उनी सामान्य लेखपढ र हिसाब गर्न सक्ने भएकी छन्।
२०५५ सालमा २१ वर्षको उमेरमा गाउँकै केटासँग उनको बिहे भयो। उनीभन्दा चार वर्ष कान्छो केटासँग भोटे परम्पराअनुसार बिहे भयो। त्यसको चार वर्ष श्रीमान्सँग अलग बस्नुपर्छ। त्यसैले उनी माइतीमै बसिन्। त्यति बेलै उनी बिरामी परिन्। उपचारका लागि नजिकैका स्वास्थ्यकर्मी, धामी, झाँक्री सबैकहाँ धाइन् तर निको भएन। झन्झन् व्यथा बढ्दै गयो। थला पर्दै गइन्। पछि उनका श्रीमान्लाई माइतीमै बोलाइयो।
र गाउँबाट दुई दिन हिँडेर मुगु जिल्ला अस्पताल लगियो। त्यहाँ आएपछि उनलाई क्षयरोग लागेको पत्ता लाग्यो। त्यसपछि डाक्टरको सल्लाहअनुसार नेपालगन्ज, सुर्खेत वा जुम्लामा गएर उपचार गर्नुपर्ने भयो। घरको आर्थिक अवस्था नाजुक भएका कारण उनीहरू मुगुबाट तीन दिनको बाटो हिँडेर जुम्ला पुगे। आईएनएफ अस्पतालमा क्षयरोग उपचार गर्न थाले। आठ महिनासम्म उनी अस्पतालमै बसिन्। नियमित औषधि सेवनले रोग बिस्तारै निको हुँदै गयो। उनी जुम्लामा भाडाको कोठा लिएर बस्न थालिन्। घरबाट पठाएको पैसा सकियो। ऋण कसैले पत्याएन।
त्यति बेला उनीसँग कमाउनुको विकल्प थिएन। भाडाको सानो कोठा। अन्ततः त्यही कोठाभित्र जाँडरक्सी बनाउन थालिन्। जाँड बेचेर ठीकै आम्दानी त भयो तर समाजले उनलाई जाँड बेच्ने भनेर होच्याउन थाल्यो। धारो छुँदा पनि विभेद गर्न थाले। जाँड बनाउने उनको पुख्र्यौली पेसा र सीप हो। ‘जो आएर जाँड खान्थे, उनैले अपशब्द बोलेर धम्क्याउँदै जान्थे’, उनले भनिन्, ‘पछि मलाई मेरो त्यो कामप्रति आत्मग्लानि भयो र पेसा परिवर्तन गर्ने सोचमा पुगें’, उनले भनिन्।
२०६४ सालतिर घरेलु तथा साना उद्योग विकास समिति जुम्लाले लघुउद्यमी तालिम सञ्चालन गरेको थियो। उनले त्यहाँ आवेदन दिइन् र छनोटमा पनि परिन्। एकमहिने तालिममा झोला, लिउ, राडीपाखी बनाउने सीप सिकिन्। तालिम सकिएपछि उनले घरमा झोला, लिउ र राडीपाखी बनाएर बेच्न थालिन्। आम्दानी बढ्दै गयो। २०७० सालमा उनले उद्योग व्यवसाय नै दर्ता गरिन्। उक्त व्यवसाय थालेपछि उनलाई सामाजिक रूपमा पनि सम्मानित भएको महसुस भयो। जिल्लादेखि राष्ट्रिय स्तरमा उत्कृष्ट उद्यमीका रूपमा सम्मान पाउन थालिन्। उनले १९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी २०७४ मा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीको पुरस्कारसमेत प्राप्त गरिन्।
तामाङले भेडाको उनबाट बनाएका झोला, लिउ र राडीपाखी बेचेर जुम्ला सदरमुकाममा करिब एक करोड रुपैयाँको घरघडेरी जोडेकी छन्। ‘खर्च कटाएर वार्षिक चार पाँच लाख रुपैयाँ कमाइ हुन्छ, त्यसैबाट मैले घरघडेरी जोडेकी हुँ’, उनले भनिन्, ‘ श्रीमान् बेरोजगार छन्, तीन छोराछोरी पढाउनेदेखि सबै खर्च राडीपाखीबाटै चल्छ।’
१० हजार रुपैयाँबाट सुरु गरिएको उनको व्यवसाय अहिले लाखौं रुपैयाँ आम्दानी दिने माध्यम बनेको छ। सुरुसुरुमा काठका सामग्रीद्वारा हातले बनाइने झोला, लिउ र राडीपाखी अहिले साना आधुनिक मेसिनबाट समेत बनाउन थालेकी छन्। यो व्यवसायमा चाहिने भेडाको ऊन छिमेकी जिल्लाका साथै चीनबाट समेत आयात गर्दै आएकी छन्। ‘सीप सिकेपछि मेरो आर्थिक अवस्था हेरेर विभिन्न संघसंस्थाले काम दिन थाले’, उनले भनिन्, ‘काम पाएपछि रातदिन, भोकनिद्रा नभनी मेहनतका साथ काम गरेँ, आज बल्ल आफ्नो खुट्टामा उभिएकी छु।’
आफ्नो उद्योगमा तामाङले अन्य तीन जना महिलालाई पनि रोजगारी दिएकी छन्। रोजगारी पाएका ती महिला उद्योगमा सीप पनि सिकिरहेका छन्। उनीहरूले बनाएका झोलाको प्रतिथान एक हजार र लिउ एवं राडीपाखी १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्। कोट बनाउने कपडा मिटरको तीन हजार रुपैयाँसम्मका दरले सजिलै बजारमा बिक्री हुन्छ। आफ्नो जस्तै परिवार पाल्न संघर्ष गरिरहेका पीडित महिलालाई सीप सिकाएर आफूजस्तै उद्यमी बनाउने तामाङको ध्येय छ।
‘झोला, लिउ र राडीपाखी तथा ऊनीका कपडा उत्पादन गर्न धौधौ छ तर बजारको चिन्ता छैन’, उनी भन्छिन्। आफ्नो उद्योगमा बनेका सामानको माग बढ्दै गएपछि बजारको चिन्ता नरहेको उनी बताउँछिन्। पछिल्लो चरणमा बजारका कपडाको तुलनामा नयाँ डिजाइनका ऊनीका कपडाको माग बढेको हो। राडीपाखीका साथै ऊनीका कपडाको माग मनाङ, मुस्ताङ, सुर्खेत, काठमाडौंलगायत सहरहरूमा बढ्दै गएको तामाङको भनाइ छ
रोजगारीको खोजीमा देशविदेश भौंतारिइरहेका बेरोजगार युवालाई परम्परागत तथा आफ्नो पुख्र्यौली पेसाले पनि गाउँमै बसेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो सन्देश दिएकी छन्।