कमलमणि लेख्छन् - संपादकज्यू, यो पत्र छापिएला भन्ने आशा त छैन
संपादकज्यू, आठ रुपियाँ तिरेर गोरखापत्रको ग्राहक हुन पर्दैन।
नेपाली साहित्यिक, प्राज्ञिक इतिहासमा रुचि राख्नेका लागि कमलमणि दीक्षित नौलो नाम होइन। १९८६ सालमा कमलमणि जन्मदा नेपालमा जहानियाँ राणा शासन थियो। राणा कालमा दीक्षितको खलक नेपालका शक्तिशाली गैरराणा परिवारमध्ये एक थियो। कमलमणि युवावयमा पुग्दै गर्दा २००७
सालको जनआन्दोलनले राणा शासन बढार्यो। सँगै, राणा–आश्रित आचार्य–दीक्षित परिवारको ‘शान–ओ–शौकत’, प्रभाव केही खुम्चियो।
करिब तीन दशक एकछत्र शासन गरेका चन्द्रसम्शेरसँग नजिकको सम्बन्ध थियो दीक्षित खलकको। चन्द्रसम्शेर बितेपछि केही प्रभाव घटे पनि उनका छोराहरूसँग दीक्षितहरूको सान्निध्य टुटेन। कमलमणिको परिवार चन्द्रसम्शेरका छोरा मदनसम्शेरसँग टाँसिएरै रहे। सोही सम्बन्ध र सेवाबाट आर्जित पुँजी (आर्थिक र सांस्कृतिक) ले कमलमणिको परिवारलाई सार्वजनिक जीवनमा तैर्याइरह्यो (अफ्लोट)। मदन र उनकी श्रीमती जगदम्बाको सेवा क्रममा प्राप्त स्रोत–साधनले मदन पुरस्कार पुस्तकालय र गुठी÷पुरस्कार जस्ता संस्था स्थापना र सञ्चालन हुन सके।
कविता लेखेर कलिलै उमेरमा साहित्य सृजनातर्फ प्रवृत्त भएका कमलमणि पछि गएर निबन्ध (अनुसन्धानमूलक र आत्मपरक) लेखनतर्फ लागे। साहित्यिक इतिहास लेखन÷सम्पादनमा संलग्न रहे। आफ्नो निजी प्रयोजनका लागि कमलमणिले जम्मा गरेका पुस्तकहरूबाटै मदन पुरस्कार पुस्तकालय बन्न सक्यो। पुस्तकालयमा नेपाली भाषाका पुस्तक मात्र होइन, गोरखापत्र लगायत नेपाली भाषाका पत्रपत्रिकाका धेरै अंक संगृहीत भए। यसले नेपाली भाषा÷पुस्तकप्रतिको उनको मोह दर्शाउँछ।
कमलमणि पहिलेदेखि नै गोरखापत्रका प्रतिबद्ध पाठक थिए। आफ्नो पुस्तक ‘चार कन्था’मा संगृहीत निबन्धमा उनले लेखेका छन्, ‘त्यो ताका ृराणा कालमो माघे–झरीमा समेत छाता ओडेर भिज्दै हरेक शुक्रवार, एउटा स्कूले केटो, म गोरखापत्र आउने छिमेकको एउटा महलमा पुग्थें— गोरखापत्र पढ्न। हुन त आज हेरी उसबेलाका गोरखापत्रमा पढ्ने कुरा बेसी केही हुँदैनथ्यो होला, तैपनि छापिएको नेपाली कुरा पढ्ने लोभले मलाई त्यहाँ पुर्याउँथ्यो।’
‘गोरखापत्र’का यी प्रतिबद्ध पाठकले पछिसम्म पनि ‘गोरखापत्र’ खेलाइरहे, केलाइरहे। यही पत्रिकाका पुराना अंक खोतलेरै उनले ‘गोरखापत्र’ र अन्य विषयमा विभिन्न छोटा–लामा लेख लेखे। उनले ‘गोरखापत्र’बारे लेखेका निबन्धका तीन पुस्तक कागतीको सिरप (२०२६), चार कन्था (२०५३) र शाखासन्तान (२०६३) प्रकाशित छन्। पछिल्लो कालखण्डमा गोरखापत्रबारे उनीभन्दा बढ्ता जानकार अरू कोही थिएन भन्दा अत्युक्ति ठहर्दैन। तर अब, न उनी रहे, न अर्का जानकार शिव रेग्मी। अहिले पनि गोरखापत्रबारे जान्न, त्यसको इतिहास बुझ्न चाहने जोसुकैलाई कमलमणिका पुस्तक नपढी धरै छैन।
कमलमणिले भिन्न प्रयोजनका लागि विभिन्न स्थानमा लेखेका सामग्रीमध्ये सबैजसो उनका दर्जनौं पुस्तकहरूमा पछि संगृहीत गरिएका छन्। त्यसैले अन्य सर्जकका जस्तो उनका रचना खोज्न जहीँतहीँ डुलिरहन पर्दैन। तथापि, केही सामग्री विभिन्न कारणले अद्यापि छुटेका, छुटाइएका होलान्। त्यस्तै छुटे÷छुटाइएका सामग्रीमध्येको एक हो— उनले गोरखापत्रका सम्पादकलाई २००८ भदौमा लेखेको चिठी, जसलाई तल जस्ताको तस्तै उतारिएको छ।
तर, चिठी पढ्नुअघि सो चिठीमा उल्लिखित केही प्रसंगबारे चर्चा गरौं, जसले कमलमणिको तत्कालीक वैचारिक अवस्था, राजनीतिक परिस्थिति, गोरखापत्र र उसको भाषा, विज्ञापन नीति, आदिबारे हामीलाई केही कुरा बताउँछ।
गोरखापत्रमा छापिएको एउटा ‘जीवन–ज्योति’ नाम दिइएको औषधिको विज्ञापनलाई लिएर कमलमणिले सो चिठी लेखेका हुन्। उनले ‘कम्प्लेन’ गरेको विज्ञापन २००८ को असार–साउन महिनाका गोरखापत्रमा कम्तीमा तीन अंकमा प्रकाशन भएको छ। पहिले विज्ञापन नै हेरौं :
दिदी बहिनी दाजु भाइ हो !
तपाईंहरू कुनै किसिमको धातुको रोग अथवा प्रदरको रोगले पीडित हुनुहुन्छ भने निर्दोष तरल महोषधि ‘जीवन ज्योति’ व्यवहार गर्नुहोस्। जीवन–ज्योतिले धेरै चाँडो रोग निर्मूल गर्छ। जीवन–ज्योतिको २ थोपा नाभिस्थान. (नाइटो) मा घसिदिए पुग्छ। खान पर्ने होइन।
निरोगी पुरुषहरूले एक घण्टा जति अगाडि जीवन–ज्योतिको २ थोपा आफ्नो नाभीमा घसिदिनोस्। यसले नामर्दीलाई नास गर्दछ।’ (हेर्नुहोस् तस्बिर)
यो विज्ञापन छापिँदा कमलमणि बनारसबाट बीए सक्काएर कलकत्तामा काम गरिरहेका थिए। पढालिखा उनी, त्यहाँका पत्रपत्रिका पढ्थे, विज्ञापनतिर समेत नजर दिन्थे। अहिले उत्तर भारतका गाउँ–सहरका भित्तैभर रंगिएका नामर्दी, बवासीर, हाइड्रोसिल, स्वप्नदोष आदिबाट उन्मुक्तिका विज्ञापन जस्तै त्यतिखेरको कलकत्ता सहरका गल्ली–बजारमा हिँड्दा–डुल्दा सम्भवत : उनका आँखामा त्यस्तै खाले विज्ञापन ठोकिन आउँथे। जसबाट, यस्तो लाग्छ, कमलमणि आजित थिए। त्यसमाथि, कलकत्तामा बसेर वार्षिक आठ रुपियाँ तिरेर ग्राहक बनेको गोरखापत्रको पनि उही पारा ! बस, कमलमणिको सहनशक्तिले जवाफ दिएछ। अनि सम्पादकको झ्याँको झार्न उनले कलम उजाए।
कमलमणिले सम्पादकको सातो लिने क्रममा गोरखापत्रमै अलि पहिले प्रकाशित विज्ञापन नीतिलाई पक्डेका छन्। राणाकालको उत्तरार्धतिर (२००७ वैशाखमा) गोरखापत्रमा छापिएको (मुख्य गरी औषधिको) विज्ञापनसम्बन्धी नीतिमा यस्तो भनिएको रहेछ :
पेटेन्ट खाने औषधिको विज्ञापन छपाउदा यो औषधिमा यो यो माल यति यति परेको छ भनी छपाउन आवश्यक छ। कुनै जना (?) नेपालराज्यमा जागीरे एम.बी. र त्यसको समकक्ष पास भएका डाक्टरहरूले यो औषधि अनुभव गरेका प्रमाण पत्र चाहिन्छ। अथवा फर्मासीकल(?) केमेटिक
(?) पास भएको एक जनाको प्रमाणपत्रले पनि चल्न सक्तछ। सम्पादकलाई पत्यार गर्ने प्रसिद्ध लिमिटेड कम्पनीहरूले तयार गरेका खाने औषधिमा चाहिँ कुनै किसिमका प्रमाण पत्र चाहिँदैन। घस्ने औषधिमा पनि ठगी नियत नदेखिएका खण्डमा प्रमाण नभए पनि छापिन सक्तछ। आयुर्वेदका प्रमाण ग्रन्थहरूमा वर्णित औषधिका निम्ति पनि विशेष प्रमाण चाहिँदैन। बूढाहरूलाई दुई चार मात्रा औषधिले युवक बनाउने इत्यादि ठगीको उद्देश्य भएका र अश्लील विज्ञापन गो.प.मा छापिँदैनन्।
उहिले छापिएको गोरखापत्रको नीति र उसले प्रकाशन गरेको विज्ञापनलाई केलाउने हो भने आफ्नो विज्ञापन–नीतिकै बर्खिलाप पत्रिका गएकै भन्न अलि मिल्दैन। किनभने, एक त यो ‘घस्ने औषधि’ थियो, जसका हकमा उल्लिखित नीतिले नै ‘ठगी नियत नदेखिएका खण्डमा प्रमाण नभए पनि छापिन सक्तछ’ भनेकै थियो। दोस्रो, युवावयका कमलमणिले ‘एक घण्टा जति अगाडि नाभीमा घस्ने’ कुरालाई ‘अश्लील’ ठहर्याए, र लेखे, ‘हाम्रा अखबार पढ्ने भद्र महिला र आला काचा ठिटा ठिटीको मनमा के भाव ल्याउला ? ’ यद्यपि, उनले लगाएको अश्लील भयो भन्ने आरोप उति खरो जँच्दैन।
यौनांग उल्लेखै नगरी संकेत मात्र गरिएको यो विज्ञापनबारे कमलमणिको त्यो ‘आगो ओकल्ने’ प्रतिक्रियाले ऊबेलाका कमलमणिलाई पुरातनपन्थी कित्तामा उभ्याउँछ। यहाँनेर उनी ‘मोरल पोलिसिङ’ गरिरहेका देखिन्छन्। सम्भवत : उनी जुन परिवारमा जन्मे, जसको छत्रछायाँमा हुर्के त्यसको प्रभाव उनीमा परेको हुनुपर्छ। किनकि, उनका हजुरबाहरू राममणि, भरतमणि, आदिका ऊबेलाका अभिव्यक्तिहरूको एक खाले प्रभाव उनमा त्यतिखेर देखिन्छ।
आफ्नो चिठीमा कमलमणिले गोरखापत्रको सो विज्ञापनका लागि सम्पादकलाई नै जिम्मेवार ठहर्याएका छन्। उहिले पो जर्साब जिम्मेवार हुन्थे, अब त तिमी नै जवाफदेही छौ, र म उत्तरदायी प्रजातन्त्रको नागरिकका हैसियतले यो प्रश्न तिमीसँग राख्न सक्छु भन्दै र आफ्नो नागरिक–अधिकारको उपयोग गर्दै कमलमणिले सम्पादकको दोहोलो काडेका छन्। यद्यपि, सम्पादक प्रेमराज शर्मा उनका नातासम्बन्धी (भानिजदाइ पर्ने)
पनि थिए।
शासकको चाल र समयको मर्म बुझेर काम गर्न खोज्ने सम्पादक थिए, प्रेमराज। तापनि, उनको कार्यकाललाई विश्लेषण गर्ने हो भने समग्रमा अलि उदारदिल नै देखिन्छन् उनी। पहिले–पहिलेको जस्तो भए सायद उनी यस्ता प्रश्नको मुखभरिको जवाफ पनि पत्रिकामै दिन्थे, तर समयले कोल्टे फेरिसकेको थियो। प्रजातन्त्र आइसकेको थियो। आफ्नो सीमा र दायित्व उनले बुझेका थिए। तसर्थ, उनी विभिन्न व्यक्तिहरूले लेखेका चिठीपत्र र लेखलाई स्थान दिँदै सार्वजनिक बहस, छलफललाई प्रवद्र्धन गर्दै थिए। सार्वजनिक वृत्तलाई फराकिलो बनाउँदै थिए।
त्यसैले आफूले केही नबोली कमलमणिको पत्र जस्ताको त्यस्तै प्रकाशन गरेर सही गलत छुट्टयाउने जिम्मा सुधी पाठक र इतिहासकारलाई छाडिदिए, आफ्नो ‘जवाफदारी अदा’ गरे।
कमलमणिको सो धारिलो चिठीले होला, ‘जीवन–ज्योति’को विज्ञापन लगत्तैका महिनामा गोरखापत्रमा देखिँदैन। २००९ जेठमा यो विज्ञापन पुन : छापियो, ‘रजिष्टर्ड’वाला बनेर। तर, पहिलेको जसरी होइन। विज्ञापनले भन्यो, ‘स्त्री जातिको – रक्तप्रदर, श्वेतप्रदर, ऋतुगल (?) आदि र पुरुष जातिको – धातुसम्बन्धी अनेक दोषहरू हटाउन जीवन–ज्योति अमृत तुल्य छ, यो नाभीमा घसिदिए पुग्छ. खानुपर्ने होइन’ (हेर्नुहोस् तस्बिर २)। यो विज्ञापनले यतिखेर पनि स्त्री–पुरुष दुवैलाई नै लक्षित गरेको देखिन्छ, तथापि यसले पुरुषको ‘नामर्दी’ हटाउने सीधा दाबी गरेको छैन।
२०१० वैशाखमा यो विज्ञापनको नयाँ संस्करण देखापर्छ। यसपालि यो विज्ञापनले आफ्नो ध्यान पुरुषबाट पूरै हटाएर स्त्रीतर्फ केन्द्रित गरेको छ। त्यतिमात्र होइन, यसले नेपालकै प्रसिद्ध डाक्टरबाट आफ्नो औषधि प्रमाणित गराएको दाबीसमेत गरेर उभिएको छ। विज्ञापनमा लेखिएको छ, ‘जीवन–ज्योति’ नेपालका प्रसिद्ध डाक्टरहरूबाट अनुभव गरी सर्टिफिकेट पाएको एउटा चमत्कारी औषधी हो, पचासौं पटक लाउन पुग्छ’ (हेर्नुहोस् तस्बिर ३)।
सम्पादक प्रेमराजले पहिले–पहिले गोरखापत्रमा केही उत्पाद–समालोचना (प्रोडक्ट रिभ्यू) छापिसकेका थिए। यस्ता उत्पादनहरू उनी स्वयंले वा अन्य उपभोक्तालाई (जस्तो धोबी÷डाक्टरलाई साबुन) परख गर्न लगाएर तिनको समालोचना प्रेमराज आफ्नो पत्रिकामा छाप्थे, जसका उदाहरण कमलमणिको ‘कागतिको सिरप’ शीर्षकको निबन्धमा समेत पाइन्छ। सम्भवत : कमलमणिको ‘अब्जेक्शन’पछि या त उनी आफैले या औषधि कम्पनीले आफ्नो औषधि डाक्टरहरूलाई परीक्षण गर्न लगाए। परीक्षणमा उत्तीर्ण भएपछि गोरखापत्रमा सोही बमोजिम नयाँ विज्ञापन छापिएको हुन सक्छ। पहिले पुरुषहरूका लागि समेत उपयोगी दाबी गरिएको यो औषधिले पछि सो दाबी छाड्नुको पछाडि ‘डाक्टरी परीक्षण’मा खरो उत्रन
नसकेकाले हुनसक्छ।
गोरखापत्रमा छापिएका अन्य विभिन्न विज्ञापनबारे र उत्पाद–समालोचनाबारे उनै कमलमणिले पछि गएर आफ्ना निबन्धहरूमा लेखेका छन्। यद्यपि, यही विज्ञापनको प्रसंगलाई लिएर कमलमणिले थप कतै केही लेखेको मैले पढेको छैन। तर, यो २००८ सालको सानो घटनाको उनीमा स्मृति नै नभएको जस्तो चाहिँ लाग्दैन। आफ्नो पुस्तक कागतिको सिरप को पाना ४० मा ‘नाभीमा घस्ने औषधि’को विज्ञापनको उनले सामान्य उल्लेख गरे पनि सोबारे उनले थप बेलिविस्तार लगाएका छैनन्। सम्भवत : आफूले युवावयमा लेखेको चिठीउपर उनलाई रत्तिभर गर्व थिएन (बरू लाजै पो थियो कि ?), त्यसैले त्यो फिस्टे विज्ञापनउपरको आफ्नो तत्कालीन रोषबारे पछि कतै केही बोलेनन्। त्यो चिठीलाई कुनै संग्रहमा समेत समेटेनन्।
माथि उल्लेख गरेझैं, त्यो चिठी लेख्दा कमलमणि कलकत्तामा थिए। २०१० सालमा मदनसम्शेरको मृत्यु भएपछि कमलमणिलाई काठमाण्डूमै बस्ने÷काम गर्ने गरी फिर्ता बोलाइयो। उनी काठमाण्डू आए, र मदनसम्शेरकी श्रीमती जगदम्बाको निजी सचिव भएर काम गर्न थाले। पहिले आफैले सातो लिन खोजेका गोरखापत्रका सम्पादक प्रेमराजसँग उनको ‘हेमखेम’ बढ्यो।
पत्रिकाको कार्यालय गएर गोरखापत्रका ठेली, सनद, सवाल पढ्न र लेख्न थाले। उनले लेखेका छन् : ‘प्रजातन्त्र आएको निकैपछि म गो.प. कार्यालयमा पुगें। त्यसपछि सम्पादकजीसँग हेमखेम बढ्दै जाँदा म नित्य जसो गोरखापत्र कार्यालयमा पुग्न थालें। सम्पादक (प्रेमराज) जीले नै गरिदिएर मैले गोरखापत्र कार्यालयमा भएका समग्र पुराना ढड्डाहरू पढ्न पाएको हुँ।’
यसरी गोरखापत्र पढ्दै र लेख्दै गर्दा, र खास गरी गोरखापत्रको पहिलो अंक भेट्टाएर जन्मदिन खुट्टयाइदिएकाले सम्पादक प्रेमराज शर्माले २०१३
सालमा उनलाई ‘गोरखापत्रका पुरेत’को पगरीसमेत गुताइदिएका थिए।
कमलमणि र गोरखापत्रबारेको टिप्पणीलाई यहीँ बिट मारेर अब सो पत्रिकामा छापिएको कमलमणिको सम्भवत : पहिलो सामग्री पढौं। पत्रलाई अहिलेको भाषा, हिज्जे अनुरूप नतुल्याई जस्ताको तस्तै उतारिएको छ, अनि नबुझिने ठाउँमा कोष्ठकभित्र प्रश्नवाचक चिह्न राखिएको छ।
@parajulilr ‘स्टडिज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’ तथा ‘समाज अध्ययन’ जर्नलका सह–सम्पादक हुन्।