सिकलसेलले सास्ती
बर्दिया : ठाकुरबाबा नगरपालिका–२ का पतिराम थारूले सिकलसेल एनिमिया भएको थाहा पाउन विभिन्न ठाउँ धाउनुपर्यो। रोग पत्ता लगाउने क्रममा करिब २५ लाख रुपैयाँ सकियो पनि। उनी मात्र होइन, पत्नी र दिदीलाई पनि सिकलसेल एनिमियाले सास्ती दिएको छ। थारू समुदायमा यसले धेरैलाई सताएको छ। बुवाआमाबाट बच्चामा सर्ने वंशाणुगत रोगले समुदायमा तनाव थपेको छ।
बर्दियाका करिब १० प्रतिशत थारू समुदायमा सिकलसेल एनिमियाको समस्या रहेको भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवं सिकलसेल रोगका फोकल पर्सन डा. राजन पाण्डेले बताए। बर्दियामा मात्र पाँच लाखको संख्यामा थारू समुदाय छन्।
थारूबाहेक केही रैदास, बीसी र प्युठानमा योगी थरका व्यक्तिमा पनि सिकलसेल एनिमिया देखापरेको छ। यो रोगका दुई हजार बिरामीले सरकारको विपन्न नागरिक उपचार कोषमार्फत उपचार सहयोग लिएका छन्।
लक्षण नदेखिन सक्छ
वंशाणुगत रोग भएकाले आमाबाबुबाट सजिलै बच्चामा सर्छ। शरीरभित्र रगतमा हुने रक्तकोष (आरबीसी) गोलाकार हुन्छन्। जिनको खराबीका कारण रक्त कोषहरू हँसिया आकारको हुने भएकाले यसलाई सिकलसेल एनिमिया भनिएको हो। डा. पाण्डेका अनुसार, हँसिया आकारका रक्तकोष रगतमा सजिलै बग्न सक्दैनन्।
सामान्यतया मानिसको रगतमा रातो रक्तकोषको आयु १ सय २० दिनको हुन्छ। तर सिकलसेल एनिमिया भएका मानिसको रक्तकोषको आयु १० देखि २० दिनसम्म मात्र हुन्छ। जसका कारण शरीरमा रगतको कमी (रक्तअल्पता) हुन जान्छ।
बर्दियाका करिब १० प्रतिशत थारू समुदायमा सिकलसेल एनिमियाको समस्या छ।
आमा र बुवा दुवैमा सिकलसेल एनिमियाको जिन भए वा दुईमध्ये एक जनामा भए पनि यो रोग बच्चामा सर्न सक्छ। यो सर्ने तथा नसर्ने जोखिमबारे जेनेटिक परामर्श लिनुपर्ने डा. पाण्डेको सुझाव छ। सिकलसेल एनिमियाका बिरामीमा अचानक छाती दुख्ने, सास फेर्न गाह्रो हुने, शरीर कमजोर, ज्वरो बढ्ने, हात तथा खुट्टा सुन्निने, टाउको शरीर दुख्ने लक्षण देखिन्छन्। यस्ता बिरामीले कुनै लक्षण नदेखिई सामान्य जीवन पनि बिताउन सक्छन्।
उपचार
सिकलसेल एनिमिया भएका बिरामीले तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न डा. पाण्डेको सुझाव छ। सिकलसेल एनिमियाको समस्या भए/नभएको अवस्था थाहा पाउन ल्याबमार्फत रक्तपरीक्षण गर्नुपर्छ। रोग लागेका मानिसलाई दुखाइको तत्काल समाधान र लक्षणका आधारमा उपचार हुने डा. पाण्डे बताउँछन्।