राम्ररी पकाए बर्डफ्लु सर्दैन
बर्डफ्लुको संक्रमणबाट एक युवकको मृत्यु भएपछि कुखुराको अन्डा र मासु सेवन गर्न हिच्किचाउनुभएको छ ? तर नआत्तिनुस्, सावधानी अपनाउनुभएको अवस्थामा भाइरस संक्रमण नहुने चिकित्सक बताउँछन्।
सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रूपमा मर्छ। तर, पकाइएका सबै भागमा न्यूनतम ७० डिग्री सेल्सियससम्म तापक्रम पुग्नुपर्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले समेत राम्रो तरिकाले पकाएको अवस्थामा बर्डफ्लुका भाइरस मर्ने जनाएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, अन्डा उसिनिन पनि एक सय डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने भएको उसिनेको अन्डा र राम्ररी पकाएको कुखुराको मासु खाँदा बर्डफ्लु सर्दैन।
के हो इन्फ्लुएन्जा ?
इन्फ्लुएन्जा ए (एच फाइभ एनवन) को छोटकरी रूप नै बर्डफ्लु हो। नामक इन्फ्लुएन्जा भाइरसको संक्रमण भएपछि बर्डफ्लु हुन्छ। यो भाइरसको संक्रमण पन्छीजन्यमा बढी हुन्छ। ‘राम्रोसँग पकाएको खानाबाट यो रोग सरेको वा फैलिएको प्रमाण छैन’, डा. लालले भने।
संक्रमित पन्छि, मृत पन्छी वा दूषित वातावरणका कारण नै भाइरस सरेको पाइएको छ। पन्छीजन्यमा बढी संक्रमण हुने यस भाइरसले मानिसलाई संक्रमण गरेमा अंगहरू शिथिल हुन्छन्। यस भाइरसले आफ्नो स्वरूप भने परिवर्तन गरिरहन्छ। यस भाइरसले आफ्नो वंशाणुगत गुण परिवर्तन गर्छ।
लक्षणहरू
- उच्च ज्वरो आउँछ
- खोकी लाग्छ
- घाँटी दुख्छ
- मांसपेसी दुख्छ
- पेट, छाती दुख्छ
- पखाला लाग्छ
उपचार छ
सन् १९९६ मा यो भाइरस पत्ता लागेको थियो। यो भाइरस मानिसमा यदाकदा मात्र मात्र संक्रमण हुने डा. लालको भनाइ छ। यो मानिसबाट मानिसमा सितिमिती सर्दैन। जब यसले मानिसमा संक्रमण गर्छ मानिसको मृत्युदर ६० प्रतिशत मात्र हुने उनी बताउँछन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार डेढ दशकको अवधिमा विश्वभर ८ सय ६० जना व्यक्तिमा भाइरसको संक्रमण भएको छ। त्यसमध्ये झन्डै आधा अर्थात् ४ सय ५४ जनाको मृत्यु भएको छ। सन् २०१७ यता संक्रमितको ज्यान गएको छैन। नेपालमा भने पहिलो पटक २१ वर्षीय युवकमा संक्रमण भएको थियो। सुरुमा ज्वरो र खोकीको लक्षणका साथ बिरामी परेका ती युवकको श्वासप्रश्वासमा समस्या भई ज्यान गएको थियो।
भाइरस सजिलै परिवर्तन भयो र मानिसबाट मानिसमा स¥यो भने जनस्वास्थ्यमा गम्भीर असर पर्छ। ‘मानिसबाट मानिसमा संक्रमण भएको यकिनका साथ हालसम्म पुष्टि हुन सकेको छैन’, डा. लालले भने। नेपालमा बर्डफ्लुको संक्रमण भएका कुखुरा गत वर्षझैं यस वर्ष पनि मारिएका थिए। तर मानिसमा संक्रमण भइ ज्यान गएको थिएन।
यसअघि बंगलादेश, पाकिस्तानमा बर्डफ्लुको संक्रमणबाट ज्यान गएको थियो। नेपालमा बर्डफ्लु सर्वप्रथम एक दशक अघि झापामा देखापरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीका अनुसार, भाइरसको संक्रमण हुन नदिन निगरानीलाई झन् प्रभावकारी बनाइएको छ।
जोगिने उपाय
- व्यक्तिगत सरसफाइमा ध्यान दिने
- वरिपरिको वातावरण सफा राख्ने
- बिरामी वा मृत कुखुरा वा चुराचुरुंगीबाट टाढा रहने
- कुखुराको मासु राम्ररी पकाएर खाने
- काँचो मासु काट्दा वा पकाउँदा नाक, मुख खुला नराख्ने
- हातमा पन्जा र मुखमा मास्क लगाएर मासुको काम गर्ने
- मासु तयार पर्दा भाँडाकुँडा, औजार ,अचनो सफा गर्ने
- मासु काटिसकेपछि साबुन पानीले हात धुने
- पन्छि मरेको वा बिरामी देखे जानकारी दिने
- मृत पन्छी वा तिनीहरूको सुलीबाट टाढा रहने