तरकारीमा मानव मलमूत्र प्रयोग
बेंसीसहर : लमजुङको मर्स्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन्। गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्या उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग सुरु गरेका हुन्। पशुपालन विस्तारै हराउँदै गएपछि मानव मलमूत्रको प्रयोग गरी तरकारी फलाउन किसान जुटेका हुन्।
लमजुङमै पहिलोपटक किसानले मानव मलमूत्रको प्रयोग गरी खेती गर्ने योजना बनाएका हुन्। बजारमा पाइने रासायनिक मलभन्दा मानव मलमूत्रको प्रयोगबाट उत्पादन राम्रो हुने जानकारी पाएपछि किसानले यो कदम चालेको बताएका छन्।
ताघ्रिङकी किसान आशकुमारी गुरुङले गाउँमा पशुचौपाय पाल्न छाडिएको र मल पाउन समस्या भएकाले यसको सट्टामा घरमा तथा सार्वजनिक स्थलमा पिसाब संकलन गरी बालीमा हाल्ने गरेको बताइन्। ‘घरमै पिसाब संकलन गरेर बारीमा हाले उत्पादन बढ्ने र रोग पनि नलाग्ने जानकारी तालिमबाट पाएका छौं’ उनले भनिन्, ‘गाईभैंसी पाल्न नसकिएपछि यो तरिका सहज लाग्यो। गाउँलेले सोही अनुसार मान्छेको मलमुत्र जम्मा गरेर खेतीबालीमा हाल्ने योजना बनाएका छौं।’
स्थानीय किसान बैंशबहादुर गुरुङले मानव मलमूत्रको प्रयोग गरी खेतीपाती गर्ने तयारीमा गाउँले जुटेको बताए। बैशाख दोस्रो साताबाट घर–घरमा पिसाब संकलन गरिने र बोटविरुवा तथा तरकारीमा हाल्ने उनले बताए। वडाध्यक्ष सुमन गुरुङका अनुसार वडा कार्यालयले वडाभित्रका अगुवा किसानलाई कृषि बालीमा मानव मलमूत्र सम्बन्धि ३ दिने तालिम दिइसकेको छ। तालिमपछि किसानले मानव मलमूत्रबाटै तरकारी फलाउने प्रतिबद्धता गरेको उनले बताए।
पशुपालन गर्ने क्रम विस्तारै घट्दो अवस्थामा रहेकाले किसानलाई यो प्रविधिबाट तरकारी खेती गर्न सिकाइएको उनले बताए। ‘मानव मलमूत्रबाट तरकारी उत्पादन साह्रै राम्रो हुने रहेछ। बाहिरी जिल्ला गएर हेर्दा रोग पनि नलागेको पाइयो’ उनले भने, ‘हामीले पनि यस्तै गर्न सके किसानलाई सहज हुन्छ भनी तालिम दियौं।’ उनका अनुसार एउटै परिवारका सदस्यको पिसाब संकलन गरेर राखेमा सोही दिनमै तरकारी बालीमा हाल्न सकिने र धेरै घरपरिवारको जम्मा गरेमा एक महिनासम्म राखेर बालीमा हाल्न सकिन्छ। एक लिटर पिसाबमा ३ लिटर पानी हालेर बोटविरुवा र बालीमा राख्न सकिने उनले बताए।
प्रशिक्षक एवं जिल्ला सुआहारा सरसफाई अधिकृत रोशन चौलागाईकाअनुसार पिसाबमा क्याल्सियम, फस्फोरस भएकाले रसायनिक मलभन्दा धेरै गुणा राम्रो हुन्छ। घरपरिवारमा भन्दा विद्यालय र सार्वजनिक स्थलमा मावन मलमूत्र संकलन गर्दा राम्रो हुने उनले बताए। विद्यालयमा संकलन गर्न सकेमा तरकारीमा हाल्न सकिने र बिक्रीसमेत गर्न सकिने भएकाले निकै प्रभावकारी हुने उनले बताए। ‘हामीले मानव मलमुत्रलाई खेर जाने वस्तु भनेर खासै वास्ता गर्दैनौं। तर, त्यही चिज राम्रो मल हुन्छ भन्ने बुझेका छैनौं’ उनले भने, ‘लमजुङका लागि यो नयाँ प्रयोग हो। कतिपय जिल्लामा भने प्रयोगमा आइसकेको छ।’ स्याङजा, म्याग्दी, बाग्लुङलगायत जिल्लामा मानव मलमुत्रबाट राम्रो उत्पादन भइरहेको उनले बताए।