राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै हो : प्रधानमन्त्री

राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै हो : प्रधानमन्त्री

काठमाडौं :  शुक्रबार सार्वजनिक नीति तथा कार्यक्रमले भन्दा धेरै चर्चा पायो ‘मेरो सरकार’ शब्दले। शनिबार यो चर्चा बालुवाटारसम्मै पुग्यो। यो विषयलाई अनावश्यक चर्चामा ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष समेत गरे।

शनिबार बालुवाटारबाटै प्रधानमन्त्री ओलीले पत्रकारमा अध्ययन नपुगेकै कारण यो विषय चर्चामा आएको भन्न भ्याए। उनले भने, ‘मेरो सरकार भन्ने धारणा अन्तराष्ट्रिय अभ्यास हो, अन्तराष्ट्रिय अभ्यास छ।’   

कम्बोडिया र भियतनामको औपचारिक भ्रमणको तयारीमा व्यस्त प्रधानमन्त्रीले नीति तथा कार्यक्रम उत्कृष्ट र स्पष्ट मात्र गरेनन्, उनले राष्ट्रपति मार्फत भनाइएको ‘मेरो सरकार’ को पनि पूर्ण बचाउ गरे। तर, त्यहाँको संविधानको धारा र नेपालकोे संविधानको धारा उस्तै छ? भन्ने विषयमा उनले ध्यान दिएनन्। सायद यसमा सल्लाहकारको ध्यान जाने नै छ। 

प्रधानमन्त्रीले एउटा अर्को वाक्य भनेका छन्,‘राष्ट्र प्रमुखको हैसियतमा संसदमा आएर प्रस्तुत गर्ने र सबै नीति नियममा लालमोहोर राष्ट्रपतिले नै लाउने हुनाले यो सरकार राष्ट्रपतिकै हो। त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्न मिल्छ।’

राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भन्दा आश्चर्य मानेको देख्दा आफूलाई 'उदेग' लागेको भनिरहेका प्रधानमन्त्रीले यही विषयमा स्पष्टिकरण दिँदै करिब १५ मिनेट खर्च गरे। व्यापक आलोचना भएपछि त्यस विषयमा प्रधानमन्त्रीले स्पष्टिकरणको शैलीमा नै जवाफ दिए। 

आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैगर्दा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने शब्द पटक–पटक प्रयोग गरेकी थिइन्। जुन शब्दले राजाकै झल्को दिएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा विभिन्न नेता तथा बुद्धिजिवीले आलोचना गरेका थिए। यही आलोचनालाई चिर्न प्रधानमन्त्रीले भने, ‘मैले मेरो देश भन्छु, यसको अर्थ तपाईँ वा अरुको होइन भनेको हो र? अनि म मेरो राष्ट्रिय गान भन्छु के त्यो राष्ट्रिय गान अब मेरो मात्र हो र? अनि म मेरो राष्ट्रिय गौरव भन्छु। के त्यो मेरो मात्र हो र?’ 

यस्ता विषयको सामूहिक अर्थ बुझ्न पनि सुझाउदै भने, ‘हामी भर्खर भर्खर राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रमा प्रवेश गरेको यो अवस्थामा फेरि राजतन्त्रको झल्को केही व्यक्तिलाई आएको हुनसक्छ। झल्को नमान्दा हुन्छ।’

भुल भयो, अब हुन्न : प्रधानमन्त्री

कार्यकारी प्रधानमन्त्री व्यस्त हुन्छन्। त्यसमाथि पनि भ्रमणको चटारो। त्यस्ता विषय हेर्न भ्याइँदैन पनि। सर्वसाधारण जानकार छन्। बजेट समेत उनले हेर्न भ्याएनन्। यही कारण बजेट आफ्नो जिल्ला केन्द्रित हुन लागेको हो। यसलाई प्रधानमन्त्रीले स्वीकार गर्दै गल्ती भएको बताएका छन्। 

प्रधानमन्त्री कार्यालयको पत्र संचारमाध्यममा आएपछि मात्र थाहा पाएका प्रधानमन्त्रीले आफ्नै सचिवालयको लेटर प्याड प्रयोग भएपछि यस्तो गल्ती नदोहोरिने भन्दै यसमा भुल भएको स्वीकार गरे। 

आफूलाई यो विषय जानकारी नै नभएको भन्दै प्रधानमन्त्रीले भने,‘यस्ता गल्ती अब हुँदैनन्। भएका गल्तीबाट सिक्दै जाने हो।’ तर, प्रधानमन्त्रीले त्यस्ता गल्ती गर्ने कति कर्मचारी वा आसेपासेलाई कारबाही गरे? भन्ने प्रश्न जहाँतहीँ उब्जेको छ।

‘आफ्नै क्षेत्रमा बजेट ल्याउनुपर्छ भनिएको रहेछ। त्यो राम्रै हो। सबैले आफ्नो क्षेत्रमा लैजान खोज्ने नै हो। नराम्रो छैन,’प्रधानमन्त्रीले भने,‘तर मलाई नै जानकारी नहुने गरी कोही एकले त्यस्तो गरेको विषय गल्ती नै हो। यसलाई सधार्नुपर्छ।’ 

सुरुदेखि नै आफ्नो क्षेत्र केन्द्रित राजनीति आफूले नगरेको बताउँदै प्रधानमन्त्रीले भने,‘त्यसमा म पर्न हुन्न । मैले त जब गृहमन्त्री भएँ त्यही बेलादेखि आफ्नो होइन समग्र मुलुकको हितमा लागें।’  

नीति तथा कार्यक्रम प्रस्तुत गरेर कार्यकारी प्रमुखले संचारमाध्यमसँग आफ्नो धारणा राख्दा यस्ता झिना मसिना विषयमा अल्झन पर्ने अवस्थाको विश्लेषण सायदै होला। शनिबार बिहानै सम्पादकदेखि रिपोर्टरसम्मको उपस्थितमा बालुटारमा आयोजित पत्रकार सम्मेलनको आरम्भ उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले गरे अन्त्य प्रधानमन्त्रीको वाक्यबाट भयो, ‘मेरो कुरा पनि सकियो। यहाँको जिज्ञासा पनि पुरा भयो होला।’ 

दुई चरणको प्रश्नोत्तरपछि प्रधानमन्त्रीले सरकारमा मन्त्रिपरिषद् हेरफेर र पर्यटन मन्त्रालयमा कहिले मन्त्री आउने विषय सहजै छलिदिए।

भ्रष्टाचार उन्मूलन

प्रधानमन्त्रीले यो विकासको आधार वर्षका रूपमा रहेको बताए। यसमा धेरै प्रगति गरिरहेको भन्दै आफ्नो कार्यकालमा भ्रष्टचार उन्मूलन गरेरै छोड्ने उनले दाबी गरे। 

आफू  प्रधानमन्त्री भएदेखि नै विभिन्न क्षेत्रमा छानविन थालेको पनि उनले बताए। ३८ क्विन्टल सुन होस् या बालुवाटारको जग्गा। सबैको छानविन आफ्नो नेतृत्वमा सरकार आएपछि आरम्भ भएको उनले बताए। 

‘सुन पास हुँदा एक शब्द नबोल्नेहरू अहिले धमाधम अभियुक्त पक्राउ पर्न थाले अनि सलवलाउँदै भन्न थाले–ठूला माछा पक्राउ परेको खोइ? ठूला माछा साना माछा सबै जेलमा छन्’ प्रमले भने। 

घरभित्र होस् या गाडीमा लुकाइएका सुन बाहिर आए। यसले एक प्रकारको मानिसमा छटपटी आरम्भ भएको उनले बताए। बालुवाटारको जमिन कसको समयमा हडपिएको बाहिर आउँदैछ त्यसको थालनी हामीले नै गरेको हो भन्दै प्रधानमन्त्रीले भने,‘अहिले धेरै नभनौं। सबै बाहिर आउँछ र कारबाहीको भागेदार पनि हुन्छन्।’ 

वाइडबडीको प्रशंग आयो छानबिन भइरहेको छ। हामी दोषीलाई कारबाही गछौं प्रधानमन्त्रीले भने,‘मेरो नीति भ्रष्टाचार न्यूनीकरण मात्र होइन उन्मूलन हो।’ उनले  प्रमुख प्रतिपक्ष दलका नेताहरूले नीति तथा कार्यक्रम आश्वासनको पुलिन्दा भनेको विषयमा पनि कटाक्ष गरे,‘विरोधका लागि मात्रै विरोध गर्ने परिपाटी ठीक भएन। 

‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा कहाँ अस्पष्टता छ त्यो बताउन सक्नुपर्छ, केमा कमी भयो भन्न नसक्ने र आलोचना मात्र गर्ने?,’ उनले भने, ‘सरकारले धेरै काम गर्न लागेको अनि प्रतिपक्षी र केही तत्वहरु डराउँदा यस्तो भएको हो।’

‘भेरी बबई सुरुङ नै हेर्नुहोस्। आरोप मात्र नलगाउनुहोस्,’ सबै काममा ढिलाई नभएको भन्दै प्रधानमन्त्रीले भने,‘वर्तमान सरकारको पालामा नेपालले गरेको आर्थिक वृद्धिले पनि सरकारका काम प्रभावकारी ढंगबाट काम अघि बढेको छ। यसमा नै सबै अतालिएका हुन्। अहिले नै सबै योजना भन्दा के होला। सबै अचम्मित छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.