प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न सिफारिस, राजधानी रुपन्देही कि दाङ ?
बुटवल : प्रदेश ५ को नाम लुम्बिनी र राजधानी रुपन्देही वा दाङमा बनाउने सुझाव दिइएको छ। प्रदेश सभामा राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई सुझाव सहितको प्रतिवेदन दिएको हो।
शनिबार बसेको बैठकले १२ वटै जिल्लाबाट संकलन भएको सुझावका आधारमा प्रतिवेदन बनाएको छ। सो प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम रुप दिनेछ।
हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो। प्रदेशको राजधानी र नाम सिफारिश गर्न बनेको विशेष समितिले बनाएका ६ वटा उपसमितिले तयार पारेको सुझावलाई समेटेर बनाएको प्रतिवेदन प्रदेश सभामा पेश गर्ने अन्तिम तयारी भएको छ।
उपसमिति सदस्यहरूमध्येका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरलाई शनिबारको बैठकमा हस्तान्तरण गरेको समितिका सदस्य कल्पना पाण्डेले जानकारी दिइन्।
‘सुझाव संकलनका क्रममा आएका सुझावहरूलाई एकीकृत गरी तयार गर्नका लागि ५ सदस्यीय उपसमिति बनाएका थियौं', विशेष समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले भने, 'त्यसबारे बाँकी छलफल सकेर सभामुखलाई बुझाउनेबारे टुंगो लगाउन आइतबार बैठक बस्दैछौं।’
सुझावसहितको प्रतिवेदनमा प्रदेशको स्थायी राजधानीका लागि चर्चामा रहेका रुपन्देही र दाङलाई सिफारिस गरिएको छ। सुझावका क्रममा बनाइएको प्रश्नपत्रमा लेखिएका उत्तरका आधारमा समितिले सिफारिस गरेको हो। धेरै सुझाव रुपन्देही र दाङमा रहेको छ। उपसमितिले तेस्रो नाममा कपिलवस्तुलाई सिफारिश गर्ने टुंगो लगाएको समितिका एक सदस्यले बताए।
प्यूठानको सरुमारानी, अर्घाखाँचीको लापे, पाल्पाको तानसेनलगायतका स्थानको नाम पनि प्रतिवेदनमा समेटिएको छ। सुझाव संकलनमा १३ सय १२ जनालाई प्रश्न सोधिएको थियो। त्यसमध्ये रुपन्देही र दाङले मात्रै संख्याको १० प्रतिशतभन्दा बढी मत पाएका हुन्।
विशेष समितिको शनिबार बसेको बैठकले १२ जिल्लामा पुगेर संकलन गरेको सुझावका आधारमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिश गर्दै छ। सुझाव संकलनका क्रममा आएका सुझावअनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि सूचीमा राखिएको विशेष समितिका एक सदस्यले जानकारी दिए।
बैठकमा लुम्बिनी प्रदेशको विपक्षमा दुई जना सांसदले मात्रै राय राखेका छन्। उनीहरूले बुद्धभूमि राख्नुपर्ने राय दिएको ती सदस्यले अन्नपूर्णलाई बताए।
समितिका सदस्य तारा जिसीले प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा धेरैको सहमति रहेको बताइन्। 'केहीको बुद्धभूमि नाम राखौं भन्ने सुझाव छ', उनले भनिन्, ‘लुम्बिनीमै धेरैको सहमति छ।’ उपसमितिको प्रतिवेदनको अन्तिम रुप दिने बैठकमा मतविभाजन नभएको उनले बताइन्। उनको पार्टी जनमोर्चाले भने विज्ञ समितिको सुझावका आधारमा राजधानी तोकिनुपर्ने बताउदै आएको छ।
सम्पर्क कार्यालय राख्न सुझाव
स्थायी राजधानी र नामाकरणबारे विवाद चर्किने सम्भावना बढेपछि केही सांसदहरूले मध्यमार्गी उपायको खोजी गर्दै दाङ वा कपिलवस्तुमा सम्पर्क कार्यालय राखेर रुपन्देहीलाई नै स्थायी राजधानी तोक्नुपर्ने सुझाव दिएका छन्।
‘प्रदेश ५ को राजधानी बनाउनका लागि रुपन्देही नै उपयुक्त छ, अहिले भौतिक पूर्वाधारका हिसाबले पनि व्यवस्थापन गर्न सजिलो छ, यसैले अन्य क्षेत्रलाई समेत समेट्ने गरी प्रदेशको सम्पर्क कार्यालय राख्ने गरी निर्णय गर्नु उपयुक्त हुन्छ–एक सत्तारुढ दलका सांसदले भने–‘यसअघि पनि यो विषय हाम्रा आन्तरिक बैठक र छलफलहरूमा उठ्दै आएको कुरा हो, यसमा सबै सांसदहरूको र दलहरूको समेत सहमति हुन्छ भन्ने लाग्छ।’
शनिबार बसेको विशेष समितिको बैठकमा समेत यो विषयमा कुरा उठेको थियो। तर बाहुल्य सांसदले अरु प्रदेशको सिको गर्न जरुरी नभएको बताएपछि थप छलफल नभएको उनले बताए।