एउटै खोलामा ३० अर्ब लगानी

एउटै खोलामा ३० अर्ब लगानी

बेंसीसहर : लमजुङको दोर्दीखोलामा स्थानीय र निजी क्षेत्रको अर्बौंको लगानी जलविद्युुत् आयोजना निर्माण भइरहेका छन्। दोर्दीखोलामा अहिले पाँचवटा जलविद्युत् आयोजना निर्माणाधीन छन्। सबै आयोजा पूरा भएपछि एक सय ७५ मेगावाट विद्युत् उत्पादन हुनेछ। निजी क्षेत्र र स्थानीय मिलेर यी आयोजनामा ३० अर्बभन्दा बढी लगानी गरेका छन्।

यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ। एउटै खोलामा भित्रिएको अर्बौं लगानीले स्थानीयमा रोजगार, व्यापार र विकासका ढोका खुलेका छन्। गाउँगाउँमा सडक, पुल, सामुदायिक भवन, विद्यालय सुधार, सिँचाइ, खानेपानी तथा कृषि उत्पादनमा सहयोग पुगेपछि स्थानीय खुसी छन्। ‘एउटै खोलामा भित्रिएको अर्बौं लगानीले भविश्यमा हाम्रो ठाउँ कायापलट हुनेछ’, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहाहदुर गुरुङले भने, ‘हाम्रो लागि यो ठूलो अवसर हो।’

हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को निर्माण अबको एक वर्षभत्र पूरा हुने अवस्था छ। यी आयोजनाको निर्माण ८० प्रतिशत पूरा भएको प्रवर्द्धकले बताएका छन्।

पिपुल्स हाइड्रो पावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ ४० प्रतिशत र दोर्दी खोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१ को निर्माण ५० प्रतिशत पूरा भएको छ। यस्तै, पिपुल्स हाइड्रो पावरले दोर्दी खोलामै ५७ मेगावाटको हिमचुली दोर्दीको निर्माण प्रक्रिया सुरु गरेको छ। सबै आयोजनामा गरी निजी क्षेत्रले ३० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ।

प्रसारण लाइनमा समस्या

एक वर्षभित्र विद्युत् उत्पादन गर्न दुई आयोजना तयार रहेका बेला उत्पादित विद्युत् जोड्ने प्रसारण लाइन भने तयार भइसकेको छैन। निर्माणाधीन सबै आयोजनाको विद्युत् १३२ केभी दोर्दी कोरिडोरमा जोड्ने गरी कनेक्सन एग्रिमेन्ट (जडान सम्झौता) भएको छ। विद्युत् प्राधिकरणले निर्माण गर्नुपर्ने दोर्दी र मस्र्याङ्दी कोरिडोरको काम सुस्त गतिमा भइरहेको छ। यही कारण २७ मेगावाटको दोर्दी खोला र २५ मेगावाटको माथिल्लो दोर्दीको विद्युत् खेर जाने अवस्था देखिएको छ। विद्युत् जोड्न नपाउने अवस्था देखिएपछि प्रवर्द्धकले उत्पादन अवधि सार्ने तयारी गरेका छन्।

लक्षित समयमा प्रसारण लाइन निर्माण नहुने भएपछि प्रवर्द्धकले विद्युत् उत्पादनको म्याद संशोधन गर्न प्राधिकरणमा प्रस्ताव गरेका छन्। आयोजना निर्माणले गति लिए पनि त्यहीअनुसार प्रसारण लाइनको काम नभएको लिबर्टी इनर्जी प्रालिका सञ्चालक राजेन्द्र वस्तीले बताए। ‘प्रसारण लाइन निर्माणलाई तीव्रता दिन प्राधिकरणसँग परामर्श गरिरहेका छौं’, उनले भने, ‘ढिलो हुने अवस्था देखिएकाले उत्पादनको म्याद संशोधन गर्न प्रस्ताव गरेका छौं।’ समयमा प्रसारण लाइन निर्माण नहुँदा विद्युत् खेर जान्छ नै प्राधिकरणले कमाउने करोडौं रुपैयाँ राजस्व पनि गुम्छ। प्रवर्द्धकले बैंकमा तिर्नुपर्ने ब्याजसमेत बढ्छ।

यसअघि विद्युत् प्रसारण लाइन निर्माणमा ढिलाइ भएको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित गरेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोर्दी करिडोरको अनुगमन गरी विद्युत् उत्पादन हुने मितिसम्म प्रसारण लाइन निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण नगरे आयोजनाको कुल वार्षिक ऊर्जाबाट हुने आम्दानीको ५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने सम्झौता हुन्छ। यो नियम प्राधिकरण र समयमा विद्युत् उत्पादन नगरे प्रवर्द्धकलाई पनि लागू हुन्छ। यसरी तिर्ने क्षतिपूर्तिले निजी क्षेत्रको बैंकको ब्याजसमेत तिर्न नपुग्ने प्रवर्द्धक बताउँछन्।

यस्तो छ आयोजनाको प्रगति

दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रो पावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना निर्माण गरिरहेको छ। आयोजनाको निर्माण करिब ४० प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ। झन्डै ९ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर पूरा भएको कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए। कूल ८ अर्ब ७३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट २०७७ असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ। आयोजनामा जिल्लाबासीले मात्रै २७ करोड रुपैयाँ लगानी गरेका छन्। यसमध्ये ५ करोड २ लाख रुपैयाँ प्रभावित क्षेत्र ढोडेनी, फलेनी र बन्सारका स्थानीयले लगानी गरेका छन्।

सुरुमा ४९.६ मेगावाटको अनुमतिपत्र लिएको कम्पनीले विस्तृत अध्ययनपछि क्षमता बढाएको थियो। आयोजनाबाट वार्षिक ३० करोड १० लाख युनिट विद्युत् उत्पादन हुनेछ। नबिल बैंकको अगुवाइमा आयोजनामा ऋण लगानी भएको छ। ऋण र स्वपुँजीको अनुपात ७० र ३० प्रतिशत कायम गरिएको छ। हिमचुली दोर्दी (५७ मेगावाट) पिपुल्स हाइड्रो पावरले नै निर्माण प्रक्रिया सुरु गरेको ५७ मेगावाटको हिमचुली दोर्दीको अहिले सम्भाव्यता अध्ययन पूरा भएको छ।

करिब ८० प्रतिशत निर्माण पूरा भएको दोर्दी खोला (२७ मेगावाट) आयोजनाबाट २०७६ भदौ १५ गतेबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। अहिले आयोजनाको बाँध क्षेत्रको सम्पूर्ण संरचनाको काम पूरा भएको छ।

लिबर्टी इनर्जीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ (२५ मेगावाट) को निर्माणकार्य करिब ८० प्रतिशत पूरा भएको छ। कुल २६ सय ५० मिटर सुरुङको निर्माण पूरा (ब्रेक थ्रू) भइसकेको छ। आयोजनाबाट वार्षिक १३ करोड ८४ लाख युनिट विद्युत उत्पादन हुनेछ। साविकको ढोडेनी–७ तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा बाँध बाँधेर झन्डै ५ किलोमिटर तल ढोडेनी–४ मालेबगरमा निर्माण गरिने विद्युतगृहमा पानी खसालिनेछ। कुुल ४ अर्ब रुपैयाँको लागतमा निर्माण हुने आयोजनामा ९ बैंकले २ अर्ब ७७ करोड ४० लाख रुपैयाँ लगानी गरेका छन्।

दोर्दी खोलामै लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दी खोला जलविद्युत् कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्माण गरिरहेको छ। आयोजनास्थल पूर्वी लमजुङको ढोडेनी, फलेनी र बन्सार गाउँमा पर्छ। साढे २.५ किलोमिटर भूमिगत सुरुङ र ७ सय मिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानी विद्युतगृहमा खसालिनेछ। आयोजनाबाट २०७६ पुसभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि २ मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ। प्रवर्द्धक छयाङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा ४ मेगावाटको अर्को जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.