कर्णाली प्रिमियर लिगको उपाधि आर्मीलाई
सुर्खेत : वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। आर्मीले लगातार दोस्रोपटक उपाधि जितेको हो।
सुर्खेतको कालिन्चोक मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीले न्यु होराइजन बुटवललाई ५९ रनले हराउँदै उपाधि रक्षा गर्यो। उपाधिसँगै आर्मीले पाँच लाख रुपैयाँ हात पार्यो। न्यु होराइजनले दुई लाख रुपैयाँमा चित्त बुझायो।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो। आर्मीका लागि हरिबहादुर चौहानले सर्वाधिक ५६ रन बनाए। राजु रिजालले ३४ र भीम सार्कीले अविजित २१ रन बनाए। न्यु होराइजनका विकास श्रेष्ठले दुई तथा राहुल प्रजापति, विपिन खत्री र अखिलेश यादवले एक एक विकेट लिए।
एक सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो। होराइजनका लागि विशाल सुनारले सर्वाधिक २६ र निश्चल चौधरीले १९ रन बनाए। बलिङमा आर्मीका जितेन्द्र मुखिया र साहब आलमले तीन तीन विकेट लिए। सुसन भारीले दुई विकेट लिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु होराइजनका कप्तानसमेत रहेका शक्ति गौचन घोषित भए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृष्ट ब्याट्सम्यान कर्णालीका रवीन्द्रजंग शाही तथा उत्कृस्ट बलर आर्मीका सुशन भारी घोषित भए। दुवैले जनही २० हजार रुपैयाँ पाए।
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वैशाख १२ देखि सुरु भएको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए।