दोरम्बामा होमस्टे, युद्ध पर्यटन प्रवर्द्धन
काठमाडौं : युद्ध पर्यटनको प्रवर्द्धनलाई दोरम्बा होमस्टेसँगै जोडेर विभिन्न पर्यटकीय गतिविधि सञ्चालन हुन थालेका छन्। रामेछापको दोरम्बा गाउँपालिकामा रहेका विभिन्न १७ वटा घरमा सञ्चालिन होमस्टेलाई पर्यटकीय संस्थाले पनि प्राथमिकता दिएर प्रवर्द्धन कार्यक्रम गरिरहेका छन्। गत साता गाउँ पर्यटन प्रवर्द्धन मन्च (भिटोफ) नेपालले पर्यटकीय संस्थासँगको समन्वयमा उक्त होमस्टे प्रवर्द्धन गर्न स्थलगत अध्ययन भ्रमण गरेको छ।
भिटोफले पर्यटन व्यवसायीसहित एक टोलीलाई उक्त होमस्टे पुर्याएको हो। होमस्टेको प्रवर्द्धनका लागि औपचारिक कार्यक्रम आयोजना गरेर दोरम्बा पुगेको आयोजक संस्था भिटोफका उपाध्यक्ष दीपक दाहालले बताए। ‘दोरम्बा युद्ध पर्यटनको सम्भावना भएको गाउँ हो। यहाँ भएको होमस्टेको प्रवर्द्धनलाई द्वन्द्वकालमा भएको गतिविधिसँग जोडेर प्रवर्द्धन गर्न सकिन्छ’, दाहालले भने। यो गाउँलाई युद्ध पर्यटनको गन्तव्यका रूपमा संसारभर प्रचार गर्दा पर्यटकीय लाभ लिन सकिने र नेपालको एउटा गाउँको प्रवर्द्धन हुने उनको भनाइ छ।
यो स्थानलाई सन् २०१८ सेप्टेम्बर २७ मा भिटोफकै सिफारिसमा सरकारले उत्कृष्ट होमस्टे घोषणा गरेको थियो। सम्भावना भएको र प्रवर्द्धन गर्नुपर्ने विभिन्न आधारलाई दृष्टिगत गरी उक्त होमस्टे छनोट गरेको थियो। भिटोफले बर्सेनि उत्कृष्ट तीनवटा होमस्टे घोषणा गर्ने गरेको छ। यो बाहेक मुगुको कुर्मा र लमजुङको राइनासकोटलाई भिटोफले छनोट गरेको थियो। भिटोफले बर्सेनि छनोट गर्ने यस्ता होमस्टेलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न र पर्यटक केन्द्रित प्याकेज बनाउन व्यवसायीसँग आग्रह गर्ने गरेको छ।
यो होमस्टेलाई सैलुङ, आलेश्वर महादेव, गाल्पादेवी, सहिद पार्कसहित नजिकका गन्तव्यसँग जोड्न सकिन्छ। पर्यटन प्रवर्द्धन गर्न विभिन्न प्याकेज बनाउने र पर्यटकीय गतिविधि अगाडि बढाउने गरी होमस्टे प्रवर्द्धन गर्न सकिने भिटोफले जानकारी दिएको छ।
भिटोफले सन् २०२० को पर्यटन भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर सम्भावना भएको पर्यटकीय गन्तव्यको रूपमा अगाडि सारेको जानकारी दिएको छ। सरकारले राष्ट्रिय अभियानको रूपमा प्रवर्द्धनका गतिविधिसहित अगाडि सारेको भ्रमण वर्षलाई सफल बनाउन सबै पर्यटकीय संस्थाको भूमिका महत्त्वपूर्ण हुनेछ।
भिटोफले नयाँ गाउँ तथा होमस्टे प्रवर्द्धन गरिरहेको छ। यसले नियमित रूपमा वार्षिक कार्यतालिका बनाएरै नयाँ पर्यटकीय गाउँ तथ होमस्टेको प्रवर्द्धन अभियान सञ्चालन गर्ने गरेको छ। यो संस्थाले दोरम्बा प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डसहित पर्यटनका प्रमुख संस्था नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, दोरम्बा गाउँ पर्यटन विकास समिति, दोरम्बा गाउँपालिकासहित संस्थासँग आवश्वक समन्वय गरेको उल्लेख छ।