एचआईभी संक्रमितको पीडा, भोको पेटमा औषधि

एचआईभी संक्रमितको पीडा, भोको पेटमा औषधि

टीकापुर : कैलालीको टीकापुर नगरपालिका–८ धनसिंहपुरकी एचआईभी संक्रमित कलसी (नाम परिवर्तन) का चार सन्तान छन्। उनका श्रीमान्को अढाई वर्षअघि एचआईभी एड्सका कारण मृत्यु भयो।

सामान्य विपन्न परिवार। भएको जायजेथा सम्पत्ति श्रीमान्को उपचारमै सकियो। श्रीमान्को मृत्युपछि चार सन्तानको लालनपालन गर्दै आएकी कलसीलाई सन्तानको जीविकोपार्जनको चिन्ताले पिरोल्ने गरेको छ।

कलसीसहित घरका चारै जना एआरटी औषधि सेवन गर्छन्। एआरटी सेवन गर्ने व्यक्तिले पोषिलो खानेकुरा खानुपर्ने हुन्छ। साँझ–बिहानको छाक टार्नै धौधौ पर्ने कलसीको परिवारका लागि पोषिलो खानेकुरा सपनाजस्तै हो।

कलसीले छाक टार्नै समस्या भएपछि १४ वर्षको नाबालक छोरालाई छिमेकीसँगै रोजगारीका लागि भारत पठाएकी छन्। छोराले महिना दिनमा पठाएको सानो कमाइले उनको परिवारको जीविकोपार्जन भइरहेको छ। ‘नाबालक छोराले पठाएको पैसाले भोको पेट भर्दै आएका छौं’, उनले भनिन्, ‘यस्तो अवस्थामा पोषिलो खानेकुरा हाम्रा लागि सपनाजस्तै हो।’ पोषिलो खानेकुरा अभावमा एआरटी सेवन गर्दै आएका थुप्रै संक्रमितको स्वास्थ्य अवस्था कलसीको जस्तै छ।

उनीहरू एआरटी सेवन गरेपनि स्वस्थ छैनन्। एआरटी सेवनकर्तामध्ये बालबालिका र महिलाको अवस्था झन् दयनीय बनेको छ। चिकित्सकका अनुसार संक्रमितले बाँचुन्जेल एआरटी सेवन गर्नुपर्ने हुन्छ।

एआरटी सेवनसँगै पोषिलो खानेकुरा खाने संक्रमितको स्वास्थ्य अवस्था खासै बिग्रिँदैन। उनीहरूलाई एआरटीसँगै पोषिलो खानेकुराको अत्यावसयक पर्छ। पोषिलो खानेकुरा नखाए एआरटीले उल्टै स्वास्थ्यमा असर पार्ने चिकित्सक बताउँछन्।

लम्कीचुहा नगरपालिका–९ की रमिला (नाम परिवर्तन) का पति १३ वर्षअघि बिते। उनकी एक छोरी छन्। आफन्तको घरमा काम गरी खान्छन्। ५ वर्षदेखि एआरटी खाँदै छन्। ‘जग्गा छैन। काम नगरे खानै नपाइने ठाउँ कसरी पोषिलो पाउनु। पोषिलो खान भने पनि कहाँ पाउनु ? हामी गरिबले ? ’ रमिलाले भनिन्।

टीकापुर नगरपालिका–६ नारायणपुरकी धना (नाम परिवर्तन) का ५ छोराछोरी छन्। ३ जना एआरटी खान्छन्। उनका पतिको ६ वर्षअघि पतिको भारतमा मृत्यु भयो। उनको दुई कठ्ठा मात्रै जमिन छ। ‘दुई कठ्ठा जग्गामा के पो फलाउन सकिन्छ र ? त्यसमा पोषिलो खाना कहाँबाट ल्याउनु’, उनले भनिन्।

कैलालीमा १ हजार ३ सय ३१ जना संक्रमितले एआरटी सेवन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरैले सेती अञ्चल अस्पतालबाट एआरटी सेवन गर्ने गरेको पाइएको छ। सेती अञ्चल अस्पतालबाट एआरटी सेवन गर्नेको संख्या ७ सय ९३ रहेको त्यहाँ कार्यरत ज्ञानेन्द्र शाहीले जानकारी दिए।

एआरटी सेवनकर्तामध्ये बालबालिका र महिलाको अवस्था झन् दयनीय बनेको छ।

त्यस्तै, टीकापुर अस्पतालबाट ४ सय ७२, मालाखेतीबाट ४१ र बलिया वितरण केन्द्रबाट २५ जना संक्रमितले एआरटी सेवन गर्ने गरेका छन्। कैलालीमा महिला संक्रमितको संख्या झन्डै ७ सय र बालबालिकाको संख्या डेढ सयभन्दा माथि छ।

उनीहरूमध्ये अधिकांश पोषिलो खानेकुराबाट वञ्चित छन्। ती सबै विपन्न समुदायका बासिन्दा रहेको नवजीवन एकता समाज कैलालीका अध्यक्ष जगत् भण्डारी बताउँछन्। उनका अनुसार संक्रमितमध्ये पनि एकल महिलाको अवस्था अझ दयनीय छ।

उनले त्यस्ता महिलाले भोको पेट एआरटी सेवन गर्नुपर्ने बाध्यता रहेको बताए। ‘उनीहरूको आर्थिक अवस्था निकै कमजोर छ। साँझ–बिहानको छाक टार्नै समस्या छ’, उनले भने, ‘यस्तो बेला झन् पोषिलो खानेकुरा त परै जाओस्।’

सरकारले २ वर्ष एचआईभी संक्रमितका लागि पोषण सहयोग कार्यक्रम लागू गरेको थियो। उनीहरूले एआरटी सेवन गर्न आउँदा एआरटी सेन्टरबाटै पोषिलो खानेकुरा निःशुल्क पाउँथे। सरकारले ३ वर्षदेखि सो कार्यक्रम स्थगन गरेको छ।

संविधानमा असहाय÷अशक्तलाई सामाजिक सुरक्षाभित्र राख्ने उल्लेख भए पनि एचआइभी संक्रमित नसमेटिएको समाजका अध्यक्ष भण्डारीले बताए। उनले आफूहरूलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था हुनुपर्नेमा जोड दिए। उनले एचआईभी संक्रमितलाई राज्यका तर्फबाट खासै सहयोग नभएको गुनासो गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.