वादी बस्तीमा सीडीओको ‘मोटिभेसन’
बझाङ : बझाङ सदरमुकाम चैनपुरको बजारछेउमै वादी बस्ती छ। बस्तीकी १५ वर्षीया मनीषा वादी विद्यालय जाने तयारीमा थिइन्। बाआमा मदिरामा लट्ठ, के खाएर स्कुल जानु ? उनी चिन्तामा परिरहेका बेला बझाङमा हालै सुरुवा भएर गएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार केही सुरक्षाकर्मीसहित वादी बस्तीमा पुगे। मनीषा वादी सीडीओलाई हेरिरहेकी थिइन्। उनलाई सीडीओले सोधे, ‘कतिमा पढ्छयौ ? ’ उनले भनिन्, ‘१० कक्षामा।’
‘पढाइ नछाड्नु है, १० पास गर्नुपर्छ, म पनि दलितको छोरो हुँ, पढेकै कारण सीडीओ भएर तपाईंहरूको बस्तीमा आएको छु’, प्रमुख जिल्ला अधिकारी सुनारले उनीहरूलाई ‘मोटिभेसन’ गरिरहेका थिए। एकोहोरो बोलिरहेका सीडीओ सुनारका कुरा बालबच्चा र उनका अभिभावकले सुनिरहेका थिए।
परिवारका हरेक वयस्क महिला हुन् वा पुरुष, एकाबिहानै मदिरामा मस्त भइहाल्छन्। स्कुल पढ्ने उमेरका बालबालिकाले केही खाए कि खाएनन् ? उनीहरू स्कुल जाने हुन् वा होइनन्, घरमा भएका छोराछोरीको दिनभरिको कार्यतालिका के हो ? त्यो कसैलाई मतलव हुन्न।
‘बुवाले बिहानै मदिरा खाइहाले, आमा पनि रमझममै छन्, कसरी स्कुल पढनु ? ’ मनीषाले भनिन्, ‘पढ्न मन लाग्छ तर घरमा न बिजुली छ, न खानेपानी, बाआमा मदिरा खाएर जतिबेला पनि लट्ठ हुन्छन्। बाआमाले मदिरा खाएर लट्ठ भइराखे विद्यालयको शुल्क कसले दिने ? ’ सीडीओ सुनार अभिभावकलाई सम्झाउँदै बालबालिकालाई भने, ‘विद्यालय नछाड्नु, केही समस्या परे मेरो अफिसमा आउनू।’ वादीका धेरै बालबालिकाले आफूहरू पढ्न चाहे पनि बस्तीमा पढ्ने वातावरण नभएको सीडीओलाई गुनासो गरेका थिए। ‘हामी पढ्न चाहन्छौं तर बाआमाकै सपोर्ट हुन्न, कसरी पढ्नु ? हाम्रा बाआमालाई मदिरा नखाने बनाइदिनुप¥यो’, मनीषाले भनिन्। वादी बस्तीमा महिलाको तर्फबाट कक्षा १० सम्म पुग्ने मनीषा पहिलो बालिका हुन्।
प्रमुख जिल्ला अधिकारी सुनारले कतै घरेलु मदिरा बिक्री भएको पाइएमा कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको बताए। १३ परिवार रहेको वादी समुदायमा कसैले पनि एसएलसी पास गरेको छैन उनीहरू बजारमा गीत गाएर मागेर खाने गर्छन्।