पहिले बाँझो, अहिले लटरम्म तरकारी
सुर्खेत : चिङ्गाढ गाउँपालिका–२ की ३९ वर्षीया लली जैसीको दिन खानेपानीको जोहो गर्दै बित्थ्यो। ‘घरनजिकै खानेपानी थिएन, गाउँका सबैले दुई घण्टा टाढाको खोलाबाट बोकेर ल्याउँथ्यौं’, उनले भनिन्, ‘दिनभर परिवारका लागि र पशुको लागि पानी बोक्दै मेरा दिन बिते।’
जैसी मात्रै नभई गाउँका सबै त्यही खोलामा पालो लागेर पानीको जोहो गर्थे। सुख्खा मौसममा गिठेनीका स्थानीयलाई खानेपानीको हाहाकार नै हुन्थ्यो। तर खानेपानीको त्यो दुःख अहिले हराएको छ। ललीको मात्रै होइन, बस्तीकै जीवनशैली फेरिएको छ। अहिले आँगनमै पानीको धारा निर्माण भएका छन्। २४सै घण्टा धारामा पानी आउँछ। यसअघि पानीको अभावमा बाँझो रहेका खेतबारी पनि अहिले व्यावसायिक तरकारी खेतीले हरियो देखिन थालेका छन्।
झुपा खत्रीले भनिन्, ‘आँगनमा धारा बनेपछि पानी बोक्ने समय बचत भएको छ। विगतका ती दुःखबाट मुक्ति मिलेको छ।’ पानी अभावका कारण सुख्खा देखिने गाउँमा सिँचाइ सुविधा पुगेको छ। धाराबाट बगेको पानी करेसाबारीमा उपयोग हुन्छ। नुहाउँदा, कपडा धुँदा, भाडा माझ्दाजस्ता दैनिक काम गर्दा धाराबाट बगेको पानीसमेत उपयोगी बनेको छ। गाउँपालिकाले गिठेनीका लागि खानेपानी गाउँसम्म पु¥याएको हो। गाउँपालिकासँग भएको पाँच लाख र स्थानीय गैरसरकारी संस्था सुन्दर नेपालको पाँच लाखका साथै नौ लाख ९६ हजार बराबरको जन श्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको हो।
एक छाक खाना पकाउने पानीका लागि हाहाकार मच्चिने गिठेनीमा खानेपानी आएपछि अधिकांश स्थानीय नागरिक व्यावसायिक किसानका रूपमा बदलिएका छन्। झन्डै साढे दुई किलोमिटर टाढाबाट गाउँमा खानेपानी पु¥याइएको छ। खानेपानीबाट ३३ घरपरिवार लाभान्वित भएका हुन्। समुदायमा ११ वटा खानेपानी, चारवटा सिँचाइका धारा जडान गरिएका छन्। घरनजिकै धारामा पानी आउन थालेपछि तरकारी खेतीबाट किसानले आम्दानीसमेत गर्न थालेका छन्।
‘मौसमअनुसार तरकारी खेती गर्न थालेको छौं, तरकारीबाटै घरखर्चसमेत चलेको छ’, खत्रीले खुसी हुँदै भनिन्, ‘धारा बनेपछि थुप्रै फाइदा भएका छन्। पहिले खानेपानी नै हुन्थेन, हिजोआज तरकारी खेती गर्नसमेत पुगेको छ।’ सिंगो बस्तीमै तरकारी खेती फस्टाएको छ। पहल परियोजनाले प्लास्टिक पानी पोखरी निर्माण गरिदिएको छ। जसको सहायताले तरकारी खेतीमा सिँचाइ सुविधा पुगेको हो।