तीन एक्का !

तीन एक्का !

जसरी तासमा एक्काको महत्त्व हुन्छ, त्यसरी नै सलाईको सन्दर्भमा तीन एक्का। त्यसताका खुब चलेको सलाई तीन एक्का सबैको मुखमा झुन्डिएको शब्द।


तीन एक्का ! हो, तीन एक्का। धेरैले सुनेको शब्द हो यो। तर पछिल्लो पुस्ता भने यो शब्दलाई सोझो अर्थमा मात्र बुझ्न बाध्य छ अर्थात् तास खेल्दा प्रयोग हुने तीनवटा एक्का। घरमा तीन एक्का। पसल पसलमा तीन एक्का। चुलो बाल्न होस् वा चुरोट सल्काउन। त्यतिबेला सबैको हातहातमा हुने सलाई हो, तीन एक्का। जसरी तासमा एक्काको महत्त्व हुन्छ, त्यसरी नै सलाईको सन्दर्भमा तीन एक्का। त्यसताका खुब चलेको सलाई तीन एक्का सबैको मुखमा झुन्डिएको शब्द। यद्यपि ती अधिकांश प्रयोगकर्तासँग घुलमिल हुन नसकेको नाम हो, आनन्दराज श्रेष्ठ। जो उही तीन एक्का उत्पादन गर्ने उद्योगका मालिक थिए।

श्रेष्ठ उद्योगलाई देशको मेरुदण्ड ठान्थे। उद्योगमार्फत देश विकास गर्ने ढोका खुल्छ भन्थे। र उद्योगमा स्वदेशी लगानी नै हुनुपर्छ भन्ने मत जाहेर गर्थे। छोरा अच्युत बुवाको भनाइ सुनाउँछन्, ‘उद्योग भनेको देशको मेरुदण्ड हो, विदेशीलाई लगानी गर्न दियो भने देशको अर्थतन्त्र बिग्रन्छ।’ ८२ वर्षको उमेरमा २०४२ सालमा निधन भएका आनन्दराजले राणाकालीन त्यो समयमा उद्योग स्थापना गर्न दर्जनौं समस्या सामना गरे। सम्भवतः व्यापारको सिलसिलामा निरन्तर झरीबर्खा नभएको भए सलाई बनाउने उद्योग नेपालमा सुरु हुने थिएन होला।

स्विडेनबाट भारतको कोलकाता बन्दरगाह हुँदै वीरगन्ज नाकाबाट खासगरी राजधानी काठमाडौं ल्याएर सलाईको व्यापार गर्थे आनन्दराज। बर्खाको समय थियो, केही ट्रक वीरगन्ज नाकामै थन्किए। भन्सारको नियम नमिल्दा र प्रक्रिया पुर्‍याउन खोज्दा खोज्दै एक साताभन्दा बढी समय सामान राजधानी आउन पाएन। निरन्तरको पानीले सलाई अन्ततः काम नलाग्ने भयो। ठूलो घाटा बेहोर्नु पर्‍यो उनले। काठमाडौं आउने क्रममा चारकोसे झाडीलाई नजिकबाट नियाल्न पाए उनले। सलाई कारखाना खोल्न सके त यी काठ पनि प्रयोगमा आउने। नेपालमै सलाई उत्पादन पनि गर्न सकिने। यस्तै सोच्दै काठमाडौं आएपछि उनी यसबारे अध्ययन अनुसन्धानमा लागे, लगाए।

आनन्दले सलाई कारखाना खोल्नुअघि नै सन् १९८७ सालमा दी नेपाल सप फ्याक्ट्री खोलेका थिए। लगत्तै १९८८ सालमा दी नेपाल पफ्र्युम वक्र्स खोले। त्यसपछि १९९५ सालमा वीरगन्जमा दी जुद्ध म्याच फ्याक्ट्री पनि खोले। २००२ सालमा मोरङको विराटनगरमा दी जुद्ध म्याच फ्याक्ट्री खोले भने २०१६ सालमा उनैले नेपालगन्ज म्याच फ्याक्ट्री पनि खोले। तीन एक्कासँगै त्यति बेला गैंडा र घोडा नामका सलाई पनि उत्पादन भए।

पहल उनको भए पनि साझेदारसँग सहकार्य नगरी सुख थिएन। आनन्द उनले बोलेअनुसार उद्योगको अध्ययन, खोल्ने र सञ्चालन गर्नेमा निरन्तर थिए भन्ने यी कामबाट पुष्टि हुन्छ। अच्युतका अनुसार खोलेपछि देखिने काम एउटा हो, त्यसअघि उहाँ धेरै काममा धेरैपटक हात हालेर असफल भएका कथा छन्, फरक यत्ति हो उहाँले हिम्मत हार्नुभएन।

आनन्दले बुहारी शोभना भित्र्याए। अर्को वर्ष नाति आशुतोषको मुख हेरे। तेस्रो वर्ष सबैबाट बिदा भए। शोभना घर भित्रिँदा र्‍याक, टेबुल जताततै किताबै किताब। ‘औपचारिक रूपमा स्कुल नगए पनि बुवाको स्वअध्ययन देखेर म छक्क पर्थें, उद्योगसम्बन्धी धेरै थिए’, उनी भन्छिन्, ‘महात्मा गान्धी, नेल्सन मन्डेलाजस्ता विश्वप्रसिद्ध व्यक्तिको जीवनी पनि उत्तिकै पढ्नुहुन्थ्यो।

त्यसकै प्रेरणाले हुनुपर्छ, राणा शासनको त्यो कठोर समयमा पनि यत्ति धेरै उपलब्धि देशका लागि गर्नुभयो।’ दुई छोरीसँग एक्लो छोरो भएर सुखैसुखमा हुर्किनुभए पनि उहाँको जीवन पाइलैपिच्छे संघर्षमा बितेको बुहारी शोभना बताउँछिन्। एक्लो छोरा आनन्दका अच्युत पनि एक्लो नै छोरा। अच्युत पनि सुखमै हुर्किए। उनले बुवाले गरेको संघर्ष त्यति बेला बुझे, जति बेला बुवाको निधन भइसकेको थियो। त्यो पनि चार्टर्ड एकाउन्टेन्ट नेमलाल अमात्यले एक दिन अच्युतलाई भनेपछि, ‘बुझ्यौ अच्युत, तिम्रो बुवा त क अक्षर नपढे पनि र कठोर समय राणा शासनमा पनि त्यत्रा उद्योग खोल्न सफल हुनुभयो, दूरदर्शी मानिसले मात्र कसैले नगरेको काम गर्छ।’

अच्युतलाई बुवा समाजसेवा गर्नुहुन्थ्यो भन्ने पनि थाहा थिएन। ‘जब कोही मन्दिरमा वा अन्यत्र कतै तपाईंको बुवाले यसो गर्नुभएको थियो, तपाईं त्यसलाई निरन्तरता दिने कि अरूले मागिरहेका छन् उनैलाई दिऊँ भन्दै घरमा मानिस आउन थालेपछि मलाई बुवा समाजसेवामा उस्तै खटिनुभएको रहेछ भन्ने थाहा भयो’, उनी भन्छन्।

‘बुबा एकदमै कम बोल्ने तर बोलेको पुग्नुपर्छ भन्ठान्ने। बाहिर गरेका काम घरमा नभन्ने’, शोभना थप्छिन्, ‘त्यसबेला मलाई त राजापछि ससुराबुवा नै राजाजस्तो लाग्थ्यो।’ ललितपुरको नकबहिल साँल्सबाट पछि काठमाडौंको वसन्तपुर बसोबास गर्ने आनन्दको घरमा दुईजनाको तस्बिर प्राथमिकताका साथ राखिएका थिए— घनश्यामदास विरला र जम्सेपुर टाटा। धेरैलाई थाहा छ, विरला सिमेन्ट र टाटा कम्पनी। ‘बुवा यी दुई मेरा भगवान् हुन् भन्नुहुन्थ्यो’, जिज्ञासामा पाएको जवाफ सुनाउँदै अच्युतले थपे।

मान्छेले रुचि भएकै काममा हात हाल्ने हो। कसैलाई एउटामा गहिरिएर काम गर्न मन लाग्छ त कसैलाई धेरै विषयमा। आनन्दलाई किताबमा पनि रुचि रहेको देखिन्छ। चार सहिदमध्ये एक शुक्रराज शास्त्रीले नेपाल संवत् १०४८ मा लेखेको ‘नेपाल भाषा व्याकरण’मा कृतज्ञता प्रकाश भनेर आर्थिक सहयोग गर्नेमा हरिकृष्ण श्रेष्ठ, आनन्दराज श्रेष्ठ, जोगवीर सिंह र राजवैद्य अच्युतानन्द श्रेष्ठ लेखेबाट बुझिन्छ। साहित्यमात्र होइन, सिनेमामा पनि आनन्दको रुचि थियो। पाटनको अशोक सिनेमा हल धेरैलाई थाहा छ, धेरै चलेको हल पनि हो यो। ‘बुवा त्यो बेला हल संस्थापकमध्ये एक बनेर घर र बसमा पुगेर दर्शक बोलाउनुहुन्थ्यो भनेर सुनेको छु’, अच्युत भन्छन्, ‘त्यतिबेला फिल्म हेर्ने मान्छे बिग्रन्छ भन्थे, संघर्ष कति र कत्रो गर्नुभयो होला ? ’

बुवाले देशको मेरुदण्ड बलियो पार्नमै जीवन बिताएको बुझेपछि छोराले त्यसको बिँडो थाम्नै पर्‍यो। केही समय आनन्दले चलाएका उद्योग धाने अच्युतले। तर सबै काम सहज थिएन। ‘केही फ्याक्ट्री उसै बेला बन्द भए, जतिबेला पञ्चायतका मन्त्री हेमबहादुर मल्लले नियम बदलेर जंगल कटानीमा कडाइ गरे’, उनी थप्छन्, ‘बुबाले त्यस बेलै भन्नुभएको थियो, सफलता पाउन निरन्तर परि श्रम गर्नुपर्छ, तिमीहरू स्वर्गमा बस्न पाएका छौं।’

अच्युत र शोभनाले सलाई फ्याक्ट्रीलाई निरन्तरता दिन मैनबत्तीको सलाई अर्थात् वाक्स फ्याक्ट्री सञ्चालन गर्न प्रक्रिया अघि बढाए तर भारतबाट उत्पादन गरेर ल्याइएको सलाई सस्तो भएपछि उनीहरूले बन्द गर्नुको विकल्प देखेनन्। २०७२ को भूकम्पले घर भत्काएपछि सम्पदा क्षेत्र वसन्तपुरमा हालको घर बनाउँदा काठमाडौं महानगरपालिकासँग नक्साको काम गर्दा पौंठेजोरी खेलेको संघर्ष स्मरण गर्दै उनी भन्छन्, ‘गणतन्त्रको समयमा एउटा घर बनाउन यत्रो सास्ती बेहोर्नुपर्छ, बुवाले राणाकालको त्यो हुकुमी शासनमा कसरी यत्रा काम गर्नुभयो होला ? ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.