खेतानको खासियत

खेतानको खासियत

शिक्षामा निजी लगानी, व्यवसायमा विविधीकरण, सरकारी–निजी साझेदारी र विदेशी ब्रान्डसँग सहकार्यमा अग्रणी पहल।


नेपाल–तिब्बत युद्धताका नेपालमा चामल र नुनको हाहाकार भयो। त्यतिबेला नुन तिब्बतबाट आउँथ्यो। सबैजसो युवा युद्धमा होमिएकाले नेपालमा उत्पादन कम थियो। यसरी नुन, तेल, चामललगायत अत्यावश्यक सामान आयात गर्न नेपालभित्रै उद्यमी व्यवसायी नहुँदा तत्कालीन गोरखा सरकारले मोहनगोपाल खेतानका जिजुबुवालाई उद्यमीका रूपमा नेपाल बोलायो। त्यतिबेला अत्यावश्यक वस्तुको आपूर्तिका लागि सरकारका तर्फबाट व्यवसायी आयात गरिएको हो। यो नै खेतानहरूको नेपालमा औपचारिक प्रवेश थियो।

हुन त मोहनगोपालका जिजुबुवाको पेसा व्यापार व्यवसाय नै थियो। त्यसको बिँडो थाम्दै पूर्णमलले निरन्तरता दिए। बिहारीलालले व्यवसायलाई संस्थागत गर्ने कोसिस गरे भने नयाँ युगमा नयाँ संरचनासहित देशलाई नै नेतृत्व दिने गरी व्यवसायमा आमूल परिवर्तन गर्ने काम मोहनगोपालले गरे।

मोहनगोपालका जिजुबुवा किसुनराम खेतानले नेपाल आइसकेपछि तत्कालीन गोरखा सरकारको इच्छाबमोजिम सामान आयात निर्यात अथवा ड्रेडिङ व्यवसाय अगाडि बढाएका थिए। यसलाई दोस्रो पुस्ताका पूर्णमल हुँदै पाँचौं पुस्तासम्म आइपुग्दा राजेन्द्र, प्रेमप्रकाश र चन्द्रप्रकाशले बिँडो थामिरहेका छन्। छैटौं पुस्ता पनि व्यापार व्यवसायमै सक्रिय हुँदै छ। खेतान समूहमा पुस्तान्तरणको छुट्टै परम्परा छ। पहिलो–दोस्रो, दोस्रो–तेस्रो, तेस्रो–चौथो पुस्ता गरी एकले अर्कोसँग अनुभव बाँड्ने चलन थियो, जुन यथावत् छ। अघिल्लो पुस्ताले अनुभव बाँड्ने हिसाबले पछिल्लो पुस्तासँग साझेदार गथ्र्यो भने पछिल्लो पुस्ताले अघिल्लो पुस्तासँग सिक्ने मनशायले जोडिने गरेको पाइन्छ। त्यसमा अघिल्लो र पछिल्लो पुस्ताको नाम सँगै जोडिएर आउँछ।

निर्यातदेखि आयातसम्म

पहिला भारतलगायत देशबाट सामान आयात गर्ने हिसाबले व्यवसायमा छिरेको खेतान समूहले निर्यात व्यापारलाई पनि अगाडि बढायो। नेपालबाट त्यति बेला सामान निर्यात गर्ने सम्बन्धमा खेतान समूहको अहं भूमिका छ। विशेषतः जुट, घ्यू, तेल र दलहन नेपालबाट निर्यात हुने वस्तुमा पर्थे। बिहारीलालपछि मोहनगोपालको पालो आउँदा खेतान समूहले व्यापार व्यवसायलाई नयाँ युगमा प्रवेश गरायो। उदार अर्थतन्त्रमा सरकारी र निजी क्षेत्रको साझेदार तथा स्वदेशी र विदेशी कम्पनी तथा ब्रान्डबीच साझेदारको सूत्रपात नै खेतान समूह हो।

राणाकालमा ३२ कोठी महाजन भनेर ३२ वटा व्यापारिक फर्म दर्ता भएका थिए। त्यो संस्था दर्ता गरी व्यापार व्यवसाय गर्ने पहिलो आधिकारिक सुरुआत थियो। खेतान समूहले ३२ कोठी महाजनअन्तर्गत आफूलाई दर्ता गराएको थियो।

१९१० सालमा भारतबाट फेब्रिक आयातको सुरुआत खेतान समूहले नै गरेको थियो। नयाँ नयाँ कन्सेप्ट दिने खेतान समूहले सन् १९६६ सालमा म्युचल टे«डिङ कम्पनी सुरु गरेको हो। यसरी खेतान समूहले देशको आवश्यकताअनुसार आफ्नो व्यवसायलाई पनि परिस्कृत र परिमार्जित गरी नयाँ आयाममा लैजाने काम गरेको छ। त्यसका अभियन्ता थिए, मोहनगोपाल।

सन् ९० को दशकमा बोटलर्स नेपाल लिमिटेड दर्ता गरेर कोका–कोलाको बोटलिङ, लेबलिङ र सप्लाई गर्ने काम भयो। त्यतिबेलाका प्रतिष्ठित उद्योगी हिमालयशमशेरसँगै सातवटा व्यवसायमा साझेदारी गरेको थियो खेतान समूहले।

नेपालमै पहिलोपटक संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा लगानी भित्र्याउने श्रेय पनि मोहनगोपाललाई नै जान्छ। उनैको पहलमा डेनिस मल्टिनेसनल कम्पनी काल्र्सबर्गलाई गोरखा ब्रुअरीमार्फत नेपाल भित्र्याइएको थियो। सन् १९९० मा नेपालको पहिलो मल्टिनेसनल बियर ब्रान्ड टुबोर्ग उत्पादन नेपालमै भयो। अहिले टुबोर्ग नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा पर्छ। काल्र्सबर्गको उत्पादन पनि सन् १९९५ देखि नेपालमै सुरु भयो। फिलिपिनो बियर ब्रान्ड सानमिगेलको फ्रेन्चाइजी लिएर त्यसको ब्रिविङ र मार्केटिङ गर्न सुरु भएको थियो।

निजी एअरलाइन्सका सुरुआतकर्ता

नेपालमै पहिलो निजी क्षेत्रको एअरलाइन्स कम्पनी नेपाल एअर चार्टर सर्भिसमार्फत एभरेस्ट डोमेस्टिक एअर सुरु भयो। पहिले कार्गो र त्यसपछि यसलाई प्यासेन्जर हवाई सेवा प्रदायकमा रूपान्तरण गरिएको थियो। त्यसको सिको गर्दै अहिले दर्जनौं एअरलाइन्स कम्पनी नेपालमा खुलिसकेका छन्।

हिमालयन सेक्युरिटिज एन्ड फाइनान्स नामको वित्तीय कम्पनी खोलेर बैंकिङ क्षेत्रमा प्रवेश गरेको खेतान समूहले हिमालयशमशेरसँगै हबिब बैंक अफ पाकिस्तानको साझेदारीमा हिमालयन बैंक स्थापना गर्‍यो। सन् २००२ मा १६औं वाणिज्य बैंकको रूपमा लक्ष्मी बैंक खुल्यो। त्यसको प्रमुख संस्थापक लगानीकर्ता खेतान समूह नै हो।

निजी क्षेत्रका तर्फबाट बिमामा लगानी गर्ने पहिलो व्यापारिक घराना पनि खेतान नै हो। मोहनगोपालले एभरेस्ट इन्स्योरेन्समार्फत बिमामा हात हालेका थिए। पछि उनले प्राइम लाइफ इन्स्योरेन्स पनि खोले।

यसरी मोहनगोपालले गरेका महत्त्वपूर्ण काममध्ये पुँजीको सिर्जना, अन्तर्राष्ट्रिय कम्पनीसँगको साझेदार र सरकारी कम्पनीसँग साझेदारीलाई उन्नत तहमा पुर्‍याए। जीर्ण उद्योगहरू नेपाल ओरियन्ट म्याग्नेसाइट, बुटवल धागो कारखानालगायत क्षेत्रमा पनि उनले लगानी विस्तार गरे।

त्यसका साथै सामाजिक क्षेत्रमा खेतान समूहको ठूलो योगदान छ। निजी क्षेत्रको पहिलो र नेपालको अहिलेको महत्त्वपूर्ण विश्वविद्यालय काठमाडौं विश्वविद्यालय स्थापनामा उनको योगदान छ। उनका बाबु मोहनगोपाल त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य पनि भएका थिए भने छोरा राजेन्द्र खेतान काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य छन्। त्यस्तै हरि खेतान मल्टिपल क्याम्पस वीरगन्ज र पाँचथर मल्टिपल क्याम्पसको स्थापनार्थ मोहनगोपालका भाइ हरि खेतानको महत्त्वपूर्ण भूमिका थियो।

नेपाल उद्योग वाणिज्य महासंघलगायत निजी क्षेत्रका व्यवसायी सम्मिलित संस्थाको स्थापनामा उनको ठूलो योगदान छ। यसरी विभिन्न सरकारी तथा निजी संघसंस्थासँग आबद्ध भएर जीवनपर्यन्त उत्तरदायी भूमिकामा बसे। व्यवसायलाई विविधीकरण गर्ने क्रममा उनले थाई प्रेजिडेन्ट फुड्ससँगको जोइन्ट भेन्चरमा हिमालयन स्न्याक्स एन्ड नुडल्स कम्पनी खोले।

विरासत धान्दै नयाँ पुस्ता

१७ वर्षको किशोर छँदै व्यापार व्यवसायमा छिरेका मोहनगोपालले अभियन्ताकै रूपमा ४२ वर्षसम्म निरन्तर संघर्ष गरिरहे। विभिन्न राजनीतिक परिवर्तन देखेभोगेका उनी प्रत्यक्ष राजनीतिमा त संलग्न भएनन् तर पञ्चायत र बहुदलको पुनर्बहालीपछि सधैं नेतृत्ववर्गलाई सल्लाह सुझाव दिने प्रमुख भूमिकामा रहे।

राजनीतिसँग सधैं निकट भए पनि निरपेक्ष रहेर म्यानुफ्याक्चरिङ, बैंकिङ, इस्योरेन्स गरी दर्जनांै क्षेत्रमा लगानी विस्तार गरेको खेतान समूहको कुल नेटवर्थ ५० अर्ब रुपैयाँको छ। यति ठूलो साम्राज्य विस्तार गरेको खेतान समूहले नेपालमा लगानी विस्तार गर्न इन्भेस्टमेन्ट कम्पनीको कन्सेप्ट ल्याएको हो।

हुन त पछिल्लो केही समय उनी र उनका उत्तराधिकारीबीच लगानीसम्बन्धी मोडालिटीमा सकारात्मक द्वन्द्व भयो। तर ढिट गरेर नबस्ने, सधैं परिवर्तन र नयाँ खोजमा रमाउने मोहनगोपालले पछिल्लो पुस्ताको निर्णयलाई स्वीकार गरी लगानी विविधीकरणको मोहनगोपालको साम्राज्य स्पेसियालिटी बिजनेसमा प्रवेश गर्‍यो।

अहिले बेभरेज आइटममा सबैभन्दा धेरै उत्पादन उसकै छन्। यस क्षेत्रको नेतृत्व यही व्यापारिक घरानाले गरेको छ। बैंक, फाइनान्स र इन्स्योरेन्स सेक्टरमा पनि यसले नयाँ नयाँ प्रोडक्ट लिएर आएको छ भने अरूभन्दा सधैं एक पाइला अगाडि छ।

लगानीकर्ता मात्रै नभएर एक अभियन्ताका रूपमा मोहनगोपालले सुरु गरेको बिजनेसलाई उनी पछाडिका पुस्ताले निरन्तरता दिइरहेका छन्। फगत निरन्तरता दिने मात्रै नभएर उनीहरूको जबर्जस्त उपस्थिति छ। राजेन्द्र खेतान बैंकिङ, फाइनान्स र इन्स्योरेन्समा नयाँ के गर्न सकिन्छ भनेर लागिरहेका छन्। नानो टेक्नोलोजी भित्र्याउने उनको मनसुवा देखिन्छ।

मोहनगोपालका भाइ हरिले शिक्षा क्षेत्रमा लगानी विस्तार गरेका थिए। हरिका छोरा प्रेमप्रकाश र मोहनगोपालका कान्छा छोरा चन्द्रप्रकाशले बेभरेज र सिंगापुरको अन्य व्यवसाय सम्हालिरहेका छन्।

केही नयाँ गर्नुपर्छ भनेर अभियानकै रूपमा लाग्ने मोहनगोपालले छोडेको पदचाप पछ्याउँदै राजेन्द्रले शिक्षामा लगानी गरी नयाँ युगको सुरुआत गर्ने उद्घोष गरेका छन्। शिक्षामा भएको विभेदपूर्ण व्यवस्थाले समाजमा द्वन्द्व सिर्जना भएको छ। अहिलेसम्म देशको आवश्यकताभन्दा विदेशको मागलाई हेरेर शिक्षामा लगानी गरिएको उनको आरोप छ। शिक्षामा विशिष्टीकृत सेवासहित नेपाललाई हब बनाउने यो समूहको लक्ष्य छ। यो अभियानमा खेतान समूहको पाँचौं पुस्ता सक्रिय छ।

सबै सार्क राष्ट्रसँग समदूरीको सम्बन्ध रहेको नेपालले भारत र चीनले गरेको प्रगतिको फाइदा उठाउँदै विश्व परिवेशसँग जोडिन प्राविधिक संस्थाहरूको विकास, सबै तहको सम्पूर्ण शिक्षा र विदेशी विद्यार्थी आयातमा लगानी बढाउनुपर्ने सुझाव राजेन्द्र खेतानको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.