मणिहर्षको ज्योति
बाबुले लगाएको ऋण नतिरेसम्म काठमाडौं नफर्किने प्रतिज्ञा गरेर भारत भासिएका भाजुरत्नले बालेको ‘ज्योति’ले नेपालको व्यावसायिक क्षितिज उज्यालो बनाएको छ।
झन्डै एक शताब्दीअगाडि बाबु भाजुरत्न कंसाकरले लिएको ऋणको पिरलोले भारतको कलकत्ता हान्निएका थिए, मणिहर्ष ज्योति। उतै स्थानीय व्यापारीका घरमा भान्छेको काम सुरु गरेका उनले व्यापारका कखरा त्यहीँ सिके। मणिहर्षले बसालेको जगमा विस्तार भएको ज्योति ग्रुप आज नेपालको अग्रणी व्यावसायिक संस्था बनेको छ।
ऋण लाग्नुको कारण थियो। १९७४ मा मछिन्द्रबहालमा भीषण आगलागी भयो। यसले मणिहर्षका ठूलोबुवा कुलरत्न र पिता भाजुरत्नका काँचो धागो र कपास पसल जलेर खरानी भए। आयस्रोतको विकल्प नभएपछि भाजुरत्नले ऋण लिनु पर्यो। ऋणमाथि ऋण थपियो। केही समयपछि मणिहर्षकी आमा ज्ञानमायाले पनि धरती छोडिन्। ऋणको जालोमा फसेका भाजुरत्नलाई घरबाट बाहिर निस्कनसमेत अप्ठेरो थियो। बाबुको ऋणले पारेको अप्ठ्यारोले भर्खर १६ वर्ष टेकेका मणिहर्ष कलकत्ता हिँडेका थिए।
भाजुरत्न तमाखु व्यापार गर्न कालिम्पोङ गए। ऋण तिर्न नसकेसम्म काठमाडौं नआउने प्रतिज्ञा गरेर उनी त्यता लागेका थिए। ल्हासा, कालिम्पोङ, कलकत्ता हुँदै व्यापार हुन्थ्यो। चीनले व्यापारमा कडाइ गर्नुअघिसम्म ल्हासाको व्यापारमा काठमाडौंका नेवार साहुजीको दबदबा थियो।
बाबुले ऋण नतिरेसम्म काठमाडौं नफर्किने प्रतिज्ञा गरेजस्तै मणिहर्षले पनि म्याट्रिकुलेसन पास नगरेसम्म काठमाडौं नफर्किने अठोट लिएका थिए। ऋणको तोडले उनी भाइको व्रतबन्धमा समेत सहभागी नभएको रूपज्योति बताउँछन्।
कलकत्ता करामत
ऋणले आत्तिएका भाजुरत्नले कमाउलाभन्दा पनि व्यापार सिक्ला भनेर छोरालाई कलकत्ता पठाएका थिए। त्यहाँ उनले धर्ममान तुलाधर (धर्मा साहू)को घरमा बिहान बेलुका भात पकाई खुवाउने काम गरे। स्नातक पूरा गरेपछि व्यापार गर्ने सोच लिएर मणिरत्न काठमाडौं फर्किए। भाँडा पसल खोले। तर उनलाई व्यापारमा खासै लाभ भएन। त्यसपछि बाबुसँगै कालिम्पोङ गए। कालिम्पोङको बसाइ उनका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो।
त्यहाँ उनले तिब्बतको फारिजोङबाट काम नलाग्ने धातुका टुक्रा पत्रुहरू ल्याएर बिक्री गरे। पत्रुको व्यापार मणिहर्षलाई फाप्यो। केही समयमै उनले कालिम्पोङमा जग्गा किने।
भनिन्छ, मानिसको जीवनका अनुभवहरू बेकार हुँदैनन्। मणिहर्षलाई कलकत्ता बस्दाको चिनजान र रहनसहनले काम गर्यो। उनले कालिम्पोङ, कलकत्ता र ल्हासामा व्यापारीका सामान ओसारपसार गर्ने क्लियरिङ एन्ड फर्वाडिङको काम लिए।
व्यापारको जग बसेपछि भाजुरत्न साहू ‘स्यामुकापु’को नामले चिनिन थाले। पत्रुको व्यापारबाट फाइदा भएपछि उनलाई धातुमा रुचि बढ्यो। उनले दक्षिण भारतमा फलाम र म्यांगानिज खानीको ठेक्का लिए। उनले भारतबाट जापान र युरोपमा फलाम निर्यात गर्न थाले। ‘उता तिब्बतको व्यापार पनि चलिरहेको थियो भने यता खानी पनि फस्टाइरहेको थियो’, रूपज्योति भन्छन्, ‘भाइहरूलाई साथमा लिएर काम गर्नुभयो। बुवाले आफ्ना भाइ रत्नज्योति, ज्ञानज्योति र देवज्योतिलाई ल्हासमा पठाउनुभएको थियो।’ एक वर्षमै मणिरत्नले बुवाको ऋण चुक्त गरिसकेका थिए।
ज्योतिको उज्यालो
स्वतन्त्रतापछि भारत सरकारले भारतमा ठूलो स्टिल प्लान्ट खोल्यो। यसको प्रमुख वितरक बन्न सफल भयो, मणिहर्षको खानी। यसको उद्घाटनमा जवाहरलाल नेहरू र इन्दिरा गान्धीसमेत उपस्थित थिए।
उद्योगलाई चाहिने आइरन इंगट (फलामे ढुंगा) आपूर्तिको ठेक्का मणिहर्षले पाए। सप्लायर भएको हुँदा भारतका तत्कालीन राष्ट्रपति डा. राजेन्द्रप्रसादले गरेको प्लान्टको उद्घाटनमा ज्योति परिवार आमन्त्रित थियो। आफूसमेत उद्घाटन कार्यक्रममा गएको बाल्यकालको धूमिल सम्झना मणिहर्षका छोरा रूपज्योतिलाई अझै छ। मणिहर्ष व्यापारमा चम्किए, काठमाडौंमा साहुजीको ऋण चुक्ता गरेर परिवारलाई ऋणमुक्त बनाए।
व्यापारमा चम्किएपछि निर्वासित नेता, भिक्षु, कलकत्ता पुग्ने नेपाली धेरै उनको सम्पर्कमा आउन थाले। भारतमा इंगोट सप्लाई गर्ने भएकाले उनलाई आइरन उद्योगको आइडिया थियो। त्यो बेला घर बनाउँदा डन्डी प्रयोग गर्ने चलन थिएन। धनीमानीले इँटामा सुर्की र चुनाको जोडाइमा घर बनाउँथे। सरकारी भवन पनि यसरी नै बनाइन्थ्यो। सामान्यले काँचो इँटामा माटोको जोडाइ गर्थे।
मणिहर्षको बढ्दो चर्चाले नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालालाई तान्यो। उनले मणिहर्षलाई स्वदेशमा फर्केर लगानी गर्न आग्रह गरेको रूपज्योति बताउँछन्। ‘सानो उद्योगबाट व्यवसाय सुरु गर्नुभयो। बुवा राजनीतिमा पनि चासो राख्नुहुन्थ्यो’, उनी भन्छन्, ‘भारतको स्वतन्त्रता आन्दोलनमा समेत बुवा सक्रिय हुनुहुन्थ्यो।’ भूमिगत भएका नेपाली कांग्रेसका संस्थापकहरूलाई उनी सघाउने गर्थे। २०१५ मा उनको योगदान र प्रसिद्धिलाई ध्यानमा राखी नेपालको पहिलो संसद् (महासभा)को सभासद्का रूपमा समेत उनलाई मनोनीत गरिएको थियो।
प्रजातन्त्र स्थापनापछि मणिहर्ष नेपाल फर्किए। उनले परवानीपुरमा स्टिल रोलिङ मिल हिमाल आयरन एन्ड स्टिल इन्डस्ट्रिज स्थापन गरे। यो नेपालको पहिलो ठूलो स्टिल उद्योग हो।
मणिहर्ष तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा चीन भ्रमणको प्रतिनिधिमण्डलमा सदस्य थिए। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछिको चीन भ्रमणमा पनि उनलाई छुटाइएको थिएन। काठमाडौंको चोभारमा उनले पहिलो सिमेन्ट कारखाना हिमाल सिमेन्ट कारखाना खोले। पछि सरकारले त्यसलाई सरकारीकरण गर्यो।
सन् १९४० मा उनले आफ्नो कारोबारलाई ज्योति ग्रुपको नामबाट सञ्चालनमा ल्याए। उनले आफ्नो ‘मिडल नेम’लाई राखेर कम्पनी सञ्चालन गरेका हुन्।
लगानीको लहरो
अहिले उनका छोरा पद्मज्योति र रूपज्योतिले कम्पनी चलाइरहेका छन्। अहिले ज्योति ग्रुपको फलाम, स्टिल, अक्सिजन, गाडीको बिक्रेता, ट्र्याक्टर, पम्प, औषधि, वित्तीय संस्था र पर्यटनसँग सम्बन्धित सेवाहरूमा लगानी छ। साथै जलविद्युत्, बिमा र अस्पतालमा समेत यसले हात हालेको छ।
ज्योति परिवार बस्ने जमलको घर पनि डन्डी प्रयोग नगरी बनाइएको थियो। मणिहर्ष कलकत्ता छँदा भीमबहादुर पाँडे (सरदार)सँग दोस्ती भएको थियो। हिमाल आइरनमा उनले पनि थोरै लगानी गरे। ध्रुवभक्त माथेमा (केदारभक्त माथेमाका बुवा)को पनि थोरै सेयर रह्यो।
हिमाल आइरन २०१८ सालमा दर्ता भयो। रूपज्योतिका अनुसार निर्माण त्यसअघि नै सुरु भइसकेको थियो। उद्योग स्थापना गर्न बाराको परवानीपुरमा जग्गा खरिद गरिएको थियो। परवानीपुर त्यति बेला निर्जन ठाउँ थियो। परवानीपुरबाट दक्षिणमा एकैचोटि वीरगन्जमा बस्ती थियो। सिमरासम्म कुनै उद्योग थिएनन्। आयात निर्यातको नाका वीरगन्ज नजिक पर्नुका साथै रक्सौल– अमलेखगन्ज रेल चल्ने भएकाले उनले परवानीपुरलाई उद्योगका लागि सही ठाउँ ठहर्याएका थिए। तर, उद्योग चलाउन बिजुलीसम्म थिएन।
उद्योग चलाउन पानीजहाज चलाउने पाँच सय हर्स पावरको जेनरेटर ल्याइएको थियो। जापानबाट मेसिनरी ल्याई उद्योग तयार बनाइयो। तर, ट्रायल उत्पादन गर्ने बेला विपत् आयो। हावाहुरीले उद्योगको संरचना नै भत्कायो। धन्न मुख्य मेसिनमा क्षति पुगेको थिएन। रूपज्योतिका अनुसार बैंकले थप ऋण दिए, साँवा ब्याज तिर्न नयाँ भाका दिए। मणिहर्ष ज्योतिले क्षतिग्रस्त संरचना पुनर्निर्माण गरे।
आफ्नो बाबुको आदर्शबाट ठूलो पाठ सिकेको उनका छोरा रूपज्योति बताउँछन्। ‘पैसाकै लागि इमान बेच्न नहुने उहाँबाट लिनसक्ने मूल पाठ हो। उहाँले उद्योगपति नै बन्न र पैसा कमाउन बियर र चुरोटको कम्पनी पनि खोल्न सक्नुहुन्थ्यो तर त्यसो गर्नुभएन’, उनी भन्छन्, ‘आफूले गर्ने कामबाट देश विकासमा पनि थोरै टेवा पुगोस् भन्ने उहाँको धारणा थियो।’