होटलका अग्रणी
नेपालमा पर्यटनको सम्भावना भए पनि होटलबाट लगानीअनुसारको मुनाफा निकाल्न गाह्रो छ। त्यसैले सरकारले बढी खर्च गर्ने पर्यटक ल्याउनेबारे सरकारले सोच्नुपर्ने उनी ठान्छन्।
गौतमदास श्रेष्ठ (८०) ले जीवनको अधिकांश समय होटल व्यवसायमा बिताए। विद्यार्थी छँदा नै हस्पिटालिटीलाई आफ्नो ‘प्यासन’ बनाएका उनले जब फ्रान्सबाट होटल म्यानेजमेन्ट अध्ययन गर्ने मौका पाए, तब यसको महत्त्व अझ थाहा पाए।
एक दशकयता चितवनको पटिहानीमा उनले सञ्चालन गरेको सफारी नारायणी होटल यस क्षेत्रको नामी होटल हो। श्रेष्ठले सबैभन्दा पहिला सुरु गरेको होटल थियो– हिमालय होटल। भर्खर स्कुलको पढाइ सकेका उनले काठमाडौंको न्युरोडमा यो होटल चलाउन थालेका थिए।
यसैबीच भाषा र होटल व्यवस्थापनमा छात्रवृति पाएर उनी फ्रान्स गए। उनका बुवा सेवा क्षेत्रमा जागिर गर्थे। तर बुवाले व्यवसायमा हात हाल्न सुझाव दिएका कारण होटल क्षेत्रमा लगानी गरेको सुनाउँछन्।
१९६३ मा फ्रान्स गएर भाषा र होटल म्यानेजमेन्टको अध्यययन गर्ने मौका पाए। फ्रान्समा तीन वर्ष बस्दा त्यहाँको चर्चित होटल जस्र्याङमा डेढ वर्ष काम गरे। त्यहाँ लकर हेर्ने र फ्रन्ट अफिसरको जिम्मेवारी उनले पाएका थिए। यो होटलमा बस्न पहिला नै बुकिङ गर्नुपथ्र्यो। अत्यन्त व्यवस्थित यो होटलमा लिएको अनुभवले आफूले स्थापना गरेको पहिलो हिमालय होटललाई पनि व्यवस्थित गरे। फ्रान्सबाट फर्केको केही समय उनले ठमेलमा गणेशमान सिंहको घरमा होटल गार्डेन सञ्चालन गरे। तर दुई वर्ष चलेपछि उक्त होटल बन्द भयो।
होटल अन्नपूर्णको टिमले दरबारमार्गमा चारतारे होटल सञ्चालनको तयारी गर्दै थियो। उक्त निर्माणाधीन उक्त होटल पछि श्रेष्ठले किने। उनले खरिद गर्दा दुईतले घर बनिसकेको थियो। तर होटल सुरु भइसकेको थिएन।श्रेष्ठले निर्माणाधीन भवनसहित ६ रोपनी जग्गा ३५ हजार रुपैयाँमा खरिद गरेका थिए। नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) बाट ८० लाख रुपैयाँ ऋण लिएर साझेदारीमा सन् १९८७ मा ७० कोठे शेर्पा होटल सुरु भयो।
५० प्रतिशत हिस्सासहित श्रेष्ठले होटलको म्यानेजिङ डाइरेक्टरको जिम्मेवारी सम्हाले। त्यतिबेला होटल राम्रोसँग सञ्चालनमा आउन अझै सकेका थिएनन्। धेरै होटल समस्यामा थिए। तर शेर्पा होटलले आफ्नो व्यवस्थापन चुस्त बनायो, कर्मचारीलाई खुसी बनायो। समस्या भोग्नु परेन। भन्छन्, ‘स्टाफलाई खुसी पार्र्दै आफू पनि दत्तचित्त भएर खट्नुपर्छ, अनिमात्र सफलता प्राप्त हुन्छ।’ लगानीकर्ता र कर्मचारी मिलेर काम गर्दा कहिल्यै समस्या नआउने उनको अनुभव छ। ‘स्टाफलाई छोराछोरीजस्तै व्यवहार गर्नुपर्छ। उपयुक्त सेवासुविधा दिनुपर्छ’ उनी भन्छन्।
शेर्पा होटलबाट उनले नाम र दाम दुवै कमाए। राजकुमारी शान्ति सिंहका श्रीमान् दीपककुमार उनका पाटर्नर थिए। दीपकसँगै मिलेर मर्सिडिज बेन्जको एजेन्ट भएर २० वर्ष गाडीको व्यवसाय पनि गरे। कूटनीतिक नियोग, राजपरिवारका सदस्यहरूले यो महँगो गाडी खरिद गर्दथे।
शेर्पा होटलमा राजदरबारका अधिकांश सदस्य जाने गर्दथे। विदेशी पाहुनाको पनि रोजाइमा पथ्र्यो। शान्तिको दरबार हत्याकाण्डमा निधन भयो। दीपक कुमारको १९८५ मै बेलायतमा निधन भइसकेको थियो। शेर्पा होटलबाट छुट्टै पहिचान बनाएका श्रेष्ठ पछिल्लो समयमा उक्त होटलबाट अलग भए। ‘राजकुमारी र उनका श्रीमान्को निधनपछि नयाँ पुस्तासँग मन मिलेन’, उनी भन्छन्।
शेर्पाबाट सेयरबापत लिएको ११ करोडबाट चितवनमा सफारी नारायणी होटल सञ्चालन गरेका हुन्। अहिले सफारी होटल पर्यटकको आकर्षण बनेको छ। होटल व्यवसायमा अहिले छोराहरू राजीव श्रेष्ठ र सञ्जीव श्रेष्ठले सघाइरहेका छन्। स्विट्जरल्यान्डबाट होटल म्यानेजमेन्ट पढेका राजीव र सञ्जीवले शेर्पामा क्रमशः फुड एन्ड वेभरेज र व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। ५२ कोठे सफारी होटलले ९० जनालाई रोजगारी दिएको छ।
चितवनमा पर्यटनको सम्भावना भएकाले लगानी गरेको उनी बताउँछन्। तर लगानीअनुसारको मुनाफा निकाल्न भने धेरै गर्न बाँकी छ। त्यसका लागि सुरुमा बढी खर्च गर्ने पर्यटक कसरी ल्याउने भन्ने विषयमा सरकारले सोच्नुपर्ने उनी ठान्छन्।
‘पर्यटक भित्रिएदेखि उसको बसाइ लम्ब्याउन र खर्च गराउने वातावरण तयार गर्न आवश्यक छ’, उनी भन्छन्। खर्च गर्न नसक्ने पर्यटक ल्याउनुभन्दा खर्च गर्ने पर्यटक ल्याउन सरकारले विशेष पर्यटनका योजना ल्याउनुपर्ने उनको भनाइ छ। नेपाल भ्रमण वर्ष २०२० लक्ष्य गरी सरकारले पर्यटनका आकर्षक प्याकेज ल्याउनुपर्ने उनको सुझाव छ।
होटल क्षेत्रको संस्थागत निकायमा पनि उनले काम गरे। १९९८ देखि २००० सम्म उनी होटल एसोसिएसनको अध्यक्ष रहे।