प्राइभेट इज पोलिटिकल
काठमाडौं : बलात्कार कसका कारण हुन्छ ? अँध्यारो थिएटरभित्र एकाएक चर्को स्वरमा प्रश्न सोधिन्छ। प्रश्नले निरन्तर जवाफ माग्छ तर सब चुपचाप छन्। प्रश्नकर्ताको नजर आफूतिर पर्छ कि भनेर हरेक मान्छे प्रश्नदेखि भाग्न खोज्छन्। के भन्ने, कस्तो जवाफ दिने ? साँच्चि बलात्कार कसका कारण हुन्छ ? उफ ! कस्तो जटिल प्रश्न। जब जवाफ सुन्नुहुन्छ नि, तपाईं झन् चकित पर्नुहुन्छ।
बलात्कार महिलाका कारण हुन्छ। महिलाले बलात्कारी पुरुष जन्माइदिएकाले हुन्छ। महिलासँग योनी भएका कारण बलात्कार हुन्छ। कुनै पनि महिलाले पुरुष नजन्माउने हो भने बलात्कार बन्द हुन्छ। थिएटरमा एकाएक यस्तो अनपेक्षित जवाफ गुञ्जियो। मञ्च उज्यालो भयो। कल्याङ मल्याङ गर्दै केही युवती देखा परे। दर्शक अवाक् बने, छेउछाउमा बसेकालाई हेराहेर गर्न थाले।
तपाईं जवान युवक हुनुहुन्छ, युवती देख्नुभयो भने पहिलो पटक तपाईंको नजर कहाँ पर्छ ? उसको अनुहार, आँखा या अन्त कतै ? यसो होइन, पक्कै पनि उनको वक्षस्थलतिर तपाईंका आँखाले हेर्न खोज्छन्। कस्सिएको हिप, थाई र उक्सिएको छातीमा प्रायः पुरुषको नजर पर्छ। नचिनेको पुरुषले एकोहोरो आफ्नो वक्षस्थलतिर हेरिरहँदा जुनसुकै महिलालाई असहज पक्कै लाग्छ। यस्तै अनेकौं अनुभव तथा सत्य घटनाका कैयौं कथा समेटिएको छ— नाटक ‘प्राइभेट इज पोलिटिकल’मा।
महिलामाथि हुने यौनजन्य हिंसा, उनीहरूलाई परेको नकारात्मक असर, आफ्नो अधिकारप्रति सचेत महिलाको आवाज पनि नाटकले उठाएको छ। टेकुस्थित कौसी थिएटरमा वैशाख १३ देखि मञ्चन भइरहेको यो नाटक महिलाको आत्मसम्मान र अधिकार बुझाउने एउटा दस्तावेज बनेको छ। नाटक यही २८ गतेसम्म चल्ने छ।
नाटकको सुरुआती संवाद अलि अश्लील लाग्न सक्छ। संवादमा योनीको चिन्ता गरिएको छ। ‘मानिसहरू योनीको पृष्ठभूमि, समाज, संस्कृतिका बारेमा जान्न चाहन्छन्। यसको वरिपरि लुकेको अन्धकार र रहस्य खोतल्न चाहन्छन्। तर जान्ने–नजान्ने, शिक्षित–अशिक्षित सबै महिला योनीको कुरा गर्नु व्यर्थ ठान्छन्’, नाटककी एक पात्र अनुजा भजाइना मनोलगको इतिहाससँगै तथ्यांक पनि पेस गर्छे।
बन्द कोठामा घन्टौं पोर्न फिल्म र भिडियो हेरेर बस्ने हामी जब सार्वजनिक रूपमै यौनको कुरा गर्छौं, तब नाक खुम्च्याउँछौं। घोसेमुन्टो लगाएर बस्छौं। यो हाम्रो समाजको चरित्र हो। अब हरेक घरमा यो विषयमा खुला बहस सुरु गर्ने बेला भइसक्यो। दाजुले जानेर नजानेरै कसैलाई यौन हिंसा गरेको छ कि ? या बहिनी कोही पुरुष मित्रबाट हिंसामा परेकी छ कि ? हामीलाई हुर्कने समयमा के कस्ता घटना आउन सक्छन् ? कसरी हिंसाबाट बच्ने ? यस्ता विषयमा समाजमा अन्तरक्रिया चल्नुपर्छ। कुनै नाटकको रिहर्सलमा जम्मा भएका केही महिला कलाकार छलफल गरिरहेका छन्।
तपाईं जवान हुनुहुन्छ, युवती देख्नुभयो भने पहिलो पटक तपाईंको नजर कहाँ पर्छ ? उसको अनुहार, आँखा या अन्त कतै ? पक्कै पनि उनको वक्षस्थल तपाईंका आँखाले हेर्न खोज्छन्। कस्सिएको हिप, थाई र उक्सिएको छातीमा प्रायः पुरुषको नजर पर्छ।
नाटकमा एक पात्र बढो कहालीलाग्दो आफ्नो कथा भनिरहेकी छ। सानोमा चकलेट लिएर घरमा आउने फुपाजूले चिमोट्ने, गाला सुम्सुम्याउने र एक्लै भएको बेला जबरजस्ती गर्न खोज्ने गरेको कथा सुनाउँदै रोसनी स्याङ्बोले हरेक महिलाले बाल्यकालमा भोग्नुपर्ने हिंसा सुनाएकी छन्। नाटकमा हरेक पात्रले फरक फरक घटना उठाएका छन्।
महिला हिंसा हरेक ठाउँमा हुनसक्छ भन्ने संकेत छाड्दै कलेजमा लोकप्रिय शिक्षकले कसरी हातपात गर्न खोज्छन् भनेर बताइएको छ। नेपाली राजनीतिमा पञ्चायत, बहुदल, लोकतन्त्र, गणतन्त्रजस्ता परिवर्तन आए पनि महिलाको सामाजिक स्थितिमा धेरै परिवर्तन आउन सकेको छैन। महिलामाथि हुने हिंसा र घटना हरेक दिन बढिरहेकामा रंगकर्मीले आवाज उठाएका छन् नाटकबाटै।
नाटकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुग्नै लागे पनि अहिलेसम्म अपराधी पत्ता नलागेकोमा आक्रोश पोखिएको छ। निर्मला बनेर एक पात्र आफ्नो कथा सुनाइरहेकी छ। अँध्यारो हलमा एक युवतीको आवाज गुञ्जिरहेको छ। उनी निर्मला हुन्। भन्छिन्, ‘बाबाले सुनसान एकान्तमा नजानू भन्नुभो। सर्पले टोक्ला भन्दै ख्याल गर्न अराउनु भो। लडिएला, चोटपटक लाग्ला, कीरा फट्यांग्राले घाउ बनाउला भनेर सचेत बनाउनु भो। तर पल्लाघरे अंकल र तल्लाघरे दाजुबाट पनि मारिन सक्छेस्, टोकिन सक्छेस् किन भन्नुभएन ? ’
निर्मलाका माध्यमबाट बलात्कृत भएर मर्न बाध्य समाजका तमाम छोरीको आवाज नाटकले बोलेको छ। निकै भावुक शब्दमा कलाकारले ‘बाबालाई भन्दिन्छु’ नामक चिठी पढ्दा नाटकघर सुनसान बनेको थियो। हरेक दर्शकले कलाकारको अभिनयसँगै घरका छोरीलाई सम्झँदै थिए। कति दर्शक त सँुक्क सुँक्क रोइरहेका थिए। नाटकको संवादले मञ्चमा मौनता छाउँछ।
प्राइभेट इज पोलिटिकल नाटक मात्रै नभएरै यसलाई एउटा अभियानका रूपमा बुझिदिन निर्देशक आकांक्षा कार्कीको आग्रह छ। उनका अनुसार नाटकको कथा हरेक महिलाको मन, अनुभव, जीवनको वास्तविक भोगाइ हो। दबाइएका, हाँसोमा उडाइएका, सामसुम पारिएका र नजानेरै सामान्य बनाइएका घटनाको प्रस्तुति हो। कलाकारको निजी अनुभवबाट नाटकको कथा सुरु हुन्छ। घर, स्कुल, कलेज, काम गर्ने ठाउँमा हुने यौन दुर्व्यवहारमा कहीँ कतै पितृसत्तात्मक समाजको मान्यताले पनि काम गर्छ। यसैले पनि पितृसत्ताको बन्देजबाट उम्कने एउटा प्रयास गरेको कार्कीले स्पष्टीकरण दिइन्।
नाटकमा कलाकारले आफूलाई कसैले बलात्कार गरिरहेको कल्पना गर्छन्, कुरा मात्रै गर्दा पनि निकै तर्सन्छन्। कोहीले आफूलाई तेजाब खन्याएर जलाएको कल्पना गर्छन्, बटोमा हिँड्दा हिँड्दै हिंसामा पर्न सक्ने कल्पना गर्छन्। वैवाहिक बलात्कारका घटना पनि देखाइएको छ। महिला हरेक पल असुरक्षित भएर हिँड्नुपर्ने बाध्यता नाटकमा उठाइएको छ। ट्रान्सजेन्डर मानिसले कसरी घरदेखि समाजसम्म विभेद भोग्न बाध्य छन् ? उनीहरूको कथा पनि नाटकमा समेटिएको छ।
महिलालाई अधिकार दियौं भन्नेलाई प्रश्न छ। एउटै आमाका कोखबाट जन्मिएका दुई सन्तानमा एउटा अधिकार दिने र अर्को लिने ठाउँमा कसरी पुग्छन् ? सन्तान सदैव एउटै होइन र ? अधिकार दिने लिने भन्ने धारण नै गलत भएकाले सच्याउनुपर्ने कलाकारको आग्रह छ। नाटकले यस्तै अनगिन्ती कथा समेट्ने प्रयास गरेको छ।
मञ्चमा अनुजा अधिकारी, अर्चना पन्थी, आयुष प्याकुरेल, केनिपा सिंह, विनीता गुरुङ, लुनिभा तुलाधर, रोशनी स्याङ्बो, सचिन मल्ल, सुदाम सिकेको अभिनय छ। केही घटना र दृश्य दोहोरिएका छन्। यसले नाटक हेर्ने दर्शकलाई केही दिक्क बनाउँछ। समग्र कथाले नेपाली समाजको प्रतिनिधित्व गरेको छ।