मिडिया मन्त्र
देशमा भर्खर पुनर्स्थापित प्रजातन्त्रलाई वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामार्फत मजबुत पार्ने काममा गोयन्काको महत्त्वपूर्ण योगदान छ।
२९ वर्षको उमेरमा दैनिक पत्रिका 'दी काठमाडौं पोस्ट्' र 'कान्तिपुर' प्रकाशन गरेर उनले इतिहास रच्ने काम त गरे नै, देशमा भर्खर आएको प्रजातन्त्रलाई वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामार्फत मजबुत पार्ने काममा पनि महत्त्वपूर्ण योगदान दिए। उनी हुन्— निजी मिडिया उद्योग सञ्चालनमा एक पायोनियर नाम, श्याम गोयन्का।
लामो सयम भारतमा बसी दि इन्डियन एक्सप्रेससँग आबद्ध रहेर गोयन्काले मिडियालाई नजिकबाट बुझ्ने मौका पाए। नेपाल आएपछि पनि आफ्नो देशमा व्याप्त निरंकुशता, भ्रष्टाचार, गरिबी, अशिक्षा लगायतका विषयमा विचार विमर्श होस् भन्ने सधैं उनको चाहना रह्यो। यही चाहना पूरा गर्न स्वतन्त्र, निष्पक्ष र वस्तुनिष्ठ सञ्चार माध्यम स्थापना गर्ने उनको लक्ष्य थियो।
यही लक्ष्य प्राप्तिमा अगाडि बढ्नुको अर्को कारण पनि थियो, दोस्रो पटक प्राप्त प्रजातन्त्रलाई स्थायित्व दिनु। स्वतन्त्र प्रेसलाई संस्थागत नगरी प्रजातन्त्रको रक्षा गर्न सकिन्न भन्ने उनलाई लाग्यो। त्यति बेला प्रकाशन हुने केही ट्याब्लोइड र सरकारी पत्रिकाले मात्र यो गर्न नसक्ने देखेपछि उनले आफैं दैनिक पत्रिका प्रकाशन गर्ने निधो गरेका थिए।
देशभर पुग्ने पत्रिका प्रकाशनका लागि ठूलो लगानी चाहिन्थ्यो। तर उनी मध्यमवर्गीय परिवारबाट आएका हुनाले उनका लागि रकम जम्मा गर्नु चुनौती थियो। यद्यपि लामो समयको तयारी र मेहनतपछि बल्ल २०४९ फागुन ७ गते पत्रिका प्रकाशन आरम्भ भयो।
सुरुका केही महिना करिब ५० लाख रुपैयाँ खर्च हुन्थ्यो। उक्त रकम उनका लागि लगभग पूर्ण घाटा नै थियो। भर्खरको ठिटोले गरेको काममा विश्वास गर्न त्यति बेला धेरैले हिचकिचाएका थिए। तर पनि आफ्नो सपना अगाडि बढाउन सहयोगका लागि साथीभाइ र आफन्त जति सबैसँग अनुरोध गरे उनले।
'कर्मवीर काँध' को अग्रलेख पढ्नुहोस् >>> तिनका कर्म-कथा जाे-जाे नेपथ्यका नायक हुन्
कान्तिपुर र दी काठमाडौं पोस्ट् सुरु भएको एक सातामै यी पत्रिकाले आफ्नो प्रभाव छाड्न सफल भए। यही कारणले छोटो समयमै यी पत्रिकाले पाठकको मन जित्ने मात्र नभई मुलुकको उच्च निकायबाट देशको सामाजिक–राजनीतिक विकासमा एक विश्वसनीय उत्प्रेरक बन्न सक्ने संकेतसमेत पाएको थियो । त्यसपछि पत्रिकालाई सहयोग गर्न केही निकाय अग्रसर रहेका उनले पाए। तर पनि पत्रिकाको स्वतन्त्रता र निष्पक्षतामा असर पर्ने गरी कसैबाट सहयोग लिन नहुनेमा उनी अडिग रहे।
यही क्रममा एक पटक पत्रिका छाप्न गोदाममा पाँच दिनका लागि मात्र कागज थियो । बाँकी अर्डर गर्न उनीसँग स्रोत थिएन । पछिल्लो पटक पारिश्रमिकबापत २० लाख रुपैयाँ भुक्तानी भएको केही सातामात्र भएको थियो। आउँदो दिनका लागि कहाँबाट जुटाउने, यसको पनि कुनै पत्तो थिएन । र, पनि आफूलाई आएका सहयोगका प्रस्ताव उनले अस्वीकार गरे।
यसपछि पत्रिकाले अग्रिम विज्ञापन लिने र ग्राहक बढाउने लगायतका अभियान चलायो। यसले पनि घाटा कम गर्न सहयोगी भूमिका खेल्यो। आफूसँगको प्रतिबद्धताअनुसार उनले सहयोगका लागि सरकारसँग पनि आग्रह गरे। तर केही साताभित्रै सरकार परिवर्तन भएकाले आश्वासनअनुसार काम हुन सकेन। खर्च बढेको बढ्यै भएपछि त्यसलाई धान्न उनलाई निकै गाह्रो पर्यो। त्यसपछि आफ्नो मिसनमा साथ दिने समूह अर्थात् सम्भावित लगानीकर्ताहरू खोज्नुबाहेक अन्य विकल्प रहेन।
२०४९ चैतमा कैलाश सिरोहिया र विनोदराज ज्ञवालीले यसमा रुचि देखाए र उनका साझेदार बन्न पुगे। उनीहरूबीच राम्रै सम्बन्ध थियो । आज पनि कैलाश सिरोहिया र उनको टिमले प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै उनी भन्छन्, ‘कैलाश एक सज्जन व्यक्ति हुनुहुन्छ। हाम्रो एकआपसमा सहयोगको परिपाटी अझै कायम छ। उहाँको व्यावसायिकताप्रति मेरो सम्मान छ।’
केही समयको सहयात्रापछि उनको दायित्वमा रहेको न्युज प्रिन्टको बक्यौताबारे छलफल भयो। श्यामले आफ्नो सेयर धितो राखेर उक्त दायित्व पूरा गर्ने वाचा गरे। तर सञ्चालकमध्येका एकले उक्त प्रस्ताव अस्वीकार गरेपछि उक्त परिस्थिति श्यामको अपेक्षाविपरीत रह्यो। तर ती सञ्चालक कैलाश सिरोहिया होइनन् भनेर उनले प्रस्ट्याए।
उनको नामको ५० प्रतिशत सेयरमध्येबाट केही अंश बिक्री गरेमा ती सञ्चालकले श्यामको भागको आर्थिक दायित्व जिम्मा लिने प्रस्ताव उनीसमक्ष राखे। त्यो योजनाको अन्तर्यमा आफ्नो स्वामित्व ५० प्रतिशतभन्दा तल झार्ने र सन्तानसरी हुर्काएको मिसनको सञ्चालनमा उनलाई नै मूकदर्शक बनाउने उद्देश्य रहेको श्यामले बुझे। अन्ततः विभिन्न चरणका छलफलपछि उनी मध्यरातमा समाचार कक्षमा छिरे। आफ्नो आँसु लुकाउँदै राजीनामा दिए र बाहिरिए।
ब्रेक इभनमा पुग्न लागेको र आर्थिक हिसाबले भविष्य सहज रहेको अवस्थामा उनी किन कम्पनीबाट बाहिरिए ? यस विषयमा धेरैले आआफ्नो हिसाबमा अड्कलबाजी लगाउन थाले। उनको यो कदमप्रति चकित भएर भोलिपल्ट बिहानै धेरै शुभचिन्तक उनको घरसमेत पुगेका थिए।
उनले जोसँग काम गरे, सधैं परिवारको सदस्यसरह नजिक रहेर काम गरे। सधैं आफ्नै दाजुभाइ दिदीबहिनी जसरी उनीहरूसँग व्यवहार गरे। दुःखसुख सबै बाँडे। विगत २६ वर्षमा यस्तो कुनै दिन छैन, जब उनले आफ्ना सहकर्मीलाई नसम्झिएका हुन्। कान्तिपुरको न्युजरुमबाट बाहिरिँदा धेरै सिनियर सहकर्मीका आँखामा समेत आँसु टिलपिलाएको थियो। नोस्ट्याल्जिक हुँदै उनले भने, ‘उहाँहरूलाई छाडेर जानुपर्दा म पनि उत्तिकै रोएको थिएँ र आजसम्म पनि रोइरहेको छु।’
श्यामले यो कदम कुनै व्यावसायिक मुनाफाका लागि भने उठाएका थिएनन्। आफू एक जनाले छाडेर करिब दुई सयभन्दा बढी उत्कृष्ट र निर्दोष सहकर्मी राष्ट्रिय हितमा लागिरहन पाउँछन् भने यो नै बढी महत्त्वपूर्ण लाग्यो उनलाई। त्यसैले त उनले त्यति बेला आफ्ना सहकर्मीहरूलाई सम्झाउँदै भनेका थिए, ‘जुनसुकै स्वामित्व संरचनामा गए पनि संस्था सधैं अटल रहन्छ।’
त्यसैगरी भर्खरै प्राप्त प्रजातन्त्र हुर्काउन र बलियो पार्न पनि आफ्नो कदम महत्त्वपूर्ण रहेको उनी सम्झन्छन्। उनी भन्छन्, ‘त्यति बेलाको मेरो कदम राष्ट्रप्रति समर्पित थियो; जुन सामाजिक न्याय, समानता, स्वतन्त्रता र प्रजातन्त्रका लागि अत्यावश्यक थियो ।’अर्कोतर्फ आफ्नो उक्त कदमबाट उनी खुसी पनि छन्। आफूले जन्माएको संस्था अमर छ । यसको जस उनी कैलाश र आफ्नो तनमन लगाएर काममा समर्पित उनको टिमलाई दिन्छन्।
यो पनि पढ्नुस् >>> कान्तिपुरका संस्थापक गोयन्काको अनुभूति : बाध्यात्मक बहिर्गमन
नेपालको मिडिया क्षेत्रको भलाइ तथा पेसागत उन्नति उनको सधैं चासोको विषय रह्यो। यही कारणले पनि उनी पुनः मिडियामा योगदान गर्ने योजनामा छन्। 'सामाजिक-राजनीतिक विकासमा सञ्चारमाध्यममार्फत योगदान गर्ने मेरो ईच्छा त पूरा भयो तर छोटो समयमै मिसनबाट बाहिरिनुपर्दा सामाजिक-आर्थिक विकासमा योगदान गर्ने मेरो सपना पूरा हुन सकेन', उनी भन्छन्, 'राष्ट्रको आर्थिक विकासमा योगदान गर्ने उतिबेलाको अधुरो चाहना पूरा गर्ने योजना कार्यान्वयनको चरणमा छु।' विकास पत्रकारिताको क्षेत्रमा सुरु हुने नयाँ पहल कान्तिपुर र मूलधारका अन्य मिडियाका लागि परिपूरक बन्ने उनको अपेक्षा छ।
अहिलेका मूलधारका पत्रिकाहरूले स्वभाविक रुपमा बढीजसो राजनीतिक र समसामयिक विषयमा समाचार, लेख र फिचर प्रकाशन गर्ने गरेका उनको बुझाइ छ। यही २६ वर्षको समयावधिभित्र उनले कसरी आफ्नो राष्ट्रमा विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा बृहत् अध्ययन अुनसन्धान गरे। सञ्चारमाध्यम भनेको समाचार प्रवाह गर्ने माध्यम मात्र होइन, नागरिक, सरकार र अन्य विकास एजेन्सीलाई जोड्ने सेतु पनि हो भन्ने निष्कर्षमा उनी पुगे। सञ्चारमाध्यम सरकार र सम्बन्धित सबै निकायलाई नागरिकका गुनासा र सल्लाहसुझाव पुर्याउने र उनीहरूका प्रश्नको जवाफ खोज्ने माध्यम पनि हो भन्ने उनलाई लाग्छ। त्यसैले विकास पत्रकारिताको नयाँ अभियानसहित पुनः मिडियामा फर्कने उनको चाहनाले मूर्त रूप पाउने बेला भएको छ। मिडियालाई रिडिफाइन गर्ने बताउँदै उनले भने, ‘धेरै नै नयाँ र इनोभेटिभ कुराहरू प्रकाशनका विषयवस्तु बन्ने छन्। अब यसको परिपूर्तिको समय निकट छ।
हाल नेपालमा रहेका कुनै पनि मिडियासँग प्रतिस्पर्धा गर्ने आफ्नो उद्देश्य नरहेको बताउँदै उनले भने, ‘भइरहेको बजारलाई बिगार्ने मेरो उद्देश्य होइन। हाम्रा सामग्रीले आफ्ना पाठक आफैं सिर्जना गर्ने छ। कोही नयाँ पाठक हुने छन्। कोही अरू पत्रिका पढ्ने पाठकले पनि पढिरहेकालाई निरन्तरता दिँदै विकासका पत्रिका पनि पढ्ने छन्।’ यसरी सुरु हुने मिडियाले मूलधारको पत्रिकाको पाठकको संख्या नघटाउने पनि उनले बताए।
आफूले सुरु गर्ने नयाँ पहलमार्फत सरकार र अन्य विकास एजेन्सीले दिने सेवा हरेक घरपरिवारमा पुर्याई आमनागरिकको सशक्तीकरण गर्ने उनको चाहना रहेको छ। कान्तिपुरलाई उनी आफ्नो सन्तान सरह ठान्छन् र सधैँ यसको वृद्धि विकास भएको हेर्न चाहन्छन्। उनी भन्छन्, ‘संस्थाका अध्यक्ष कैलाश सिरोहिया एक सज्जन र सहयोगी मानिस हुन्। उनको पत्रकारिता जगत् र मप्रतिको सम्मानलाई म सधैं सम्मान गर्नेछु।’
जनकपुरमा जन्मिएका श्यामको खानपान र जीवनशैली निकै सरल छ। जोसुकैसँग पनि उत्तिकै आदरभावले प्रस्तुत हुन सक्नु उनको अर्को विशेषता हो भन्छन्, वरिष्ठ अधिवक्ता रामकृष्ण निराला।
अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको १८ औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित विशेषांकहरू 'पौरखी पाइला' र 'कर्मवीर काँध' का सबै लेखहरू यहाँ पढ्नुहोस्।