नेपाली बैंकिङका भीष्म पितामह
हिमालयशमशेरले अर्थ मन्त्रालयको स्थापना, कानुनी तथा व्यवस्थापन प्रणालीको जग बसाल्नेदेखि सञ्चालनसम्मको कार्य सम्पादन सफलताका साथ सम्पन्न गरेका थिए।
हिमालयशमशेर जबरालाई पहिलो पटक मैंले आफ्नै घरमा देखेको थिएँ। उहाँ बुवालाई भेट्न आउनुभएको थियो। गोरो वर्णको प्रभावशाली व्यक्तित्व भएको यो मानिस को होला भन्ने लागेको थियो। बुवाले कोठाको ढोका थुनेर निकै बेर गफ गरेपछि पक्कै पनि कोही विशिष्ट मानिस होलान् भन्ने अनुमान लगाएको थिएँ। बेलुका बुवाले आमासँग कुरा गर्दै ‘राजाले पढे लेखेको गतिलो व्यक्तिलाई देखिनसहने भए। हुँदा हुँदा हिमालयशमशेरको जागिर खाइदिएछन्’ भनेको सुनेँ। पहिलो पटक मैले हिमालयशमशेरको नाम सुनेको यही बेला हो।
त्यस दिनपछि बुवालाई भेट गर्न उहाँ दुईचार पटक आउनु भएको याद छ। अन्तिम पटक चाहिँ उहाँ संयुक्त राष्ट्रसंघमा जागिरे भएर न्युयोर्क प्रस्थान गर्न लाग्नु भएको थियो। झन्डै दुई दशकपछि अर्थात् मेरो विवाहित जीवनकालको आरम्भमा ससुरा स्व.लोकबहादुर विष्टले हिमालयशमशेर राणाका विषयमा कुरा गर्न थालेपछि उहाँका विषयमा थप जानकारी पाएँ।
अर्थ मन्त्रालयमा कार्यरत विष्टलाई राणाले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त हुँदा साथै उक्त बैंकको प्रशासन तथा लेखा व्यवस्थाको स्थापनाका निमित्त अर्थमन्त्रीबाट काजमा अनेक तिगडम लागेर झिकाउनु भएको रहेछ। उहाँमा अधिकार प्रत्यायोजन गर्ने तथा आफू मातहतको कर्मचारीलाई ‘एक पटक विश्वास गरपछि सधैं विश्वास गर्ने बानी तथा रोलवाला राणा परिवारको सदस्य भएर पनि घमण्ड थिएन’ जस्ता प्रशंसाहरू पनि ससुराबाट सुन्ने गरेको थिएँ।
कलकत्तास्थित स्टेट बैंकमा आफूलाई बारम्बार पठाएको चर्चा पनि उहाँले निक्कै गर्नुहुन्थ्यो। राष्ट्र बैंकको प्रशासन तथा स्रेस्ता व्यवस्थापन सञ्चालन भएपछि ससुरालाई राणाकै पहलमा तिनी अर्थसचिव हुँदा स्थापना गरेको नयाँ पद ‘एकाउन्टेन्ट जनरल’ मा बहाली हुने गरेर अर्थ मन्त्रालय फिर्ता पठाएछन्।
म श्रीलंकास्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोग (यूएनएचसीआर) मा कार्यरत हुँदा उक्त कार्यक्रमको मूल्यांकन गर्न यूएनयचसीआर मुख्यालयबाट एलेन सिमेन्सको नेतृत्वको उच्चस्तरीय टोली कोलम्बो आएको थियो। सिमन्स यूएनएचसीआरको इन्डोनेसियामा प्रतिनिधि हुँदा राणा संयुक्त राष्ट्रसंघको आवासीय प्रतिनिधि थिए। धेरै राष्ट्रहरूमा यूएनएचसीआरको आवासीय प्रतिनिधि भएका बेलायती नागरिक एलन सिमन्सअनुसार राणा कुशल प्रशासक हुनुहुन्थ्यो। उहाँमा सबैलाई समेटेर कार्य गर्ने क्षमता थियो।
नेपालमा बैंकिङ व्यवस्थाको सुरुआत प्रधानमन्त्री जुद्धशमशेरले ३० कात्तिक १९९४ सालमा नेपाल बैंकको स्थापना गरेपछि भएको हो। उक्त बैंकको स्थापनकालदेखिको ठूला सेयर होल्डरहरूमा काजी गुञ्जमान सिंह पनि हुनहुन्थ्यो। २००७ सालको क्रान्तिपश्चात् गठन भएको राणा कांग्रेस सरकारको अर्थमन्त्री पदमा नियुक्त भए सुवर्णशमशेर राणा।
सुवर्णशमशेरले आफ्नो मन्त्रालय सञ्चालनका निमित्त अर्थशास्त्र तथा वाणिज्यशास्त्रमा उच्च अध्ययन गरेको चार जना (हिमालयशमशेर, लीलाप्रसाद लोहनी, प्रिक्षितनरसिंह राणा तथा कृष्णराज राजभण्डारी) लाई अर्थ मन्त्रालय सञ्चालनका निमित्त नियुक्त गरे।
नाताले सालीको छोरा तर रोलक्रममा रहँदारहँदै आफूले स्थापना गरेको प्रजातान्त्रिक कांग्रेस पार्टीको सदस्य भएर काठमाडौंमा राणाशासनविरुद्ध पर्चाबाजीसमेत गरिसकेका हिमालयशमशेरलाई आफ्नो मन्त्रालयमा भित्र्याउनुको मुख्य कारण हिमालयशमशेरले बम्बे विश्वविद्यालयअन्तर्गत ‘स्कुल ओफ इकोनामिक्स एन्ड सोसियोलजी’ बाट अर्थशास्त्रमा एमए गरेका थिए। तीन महिनाको कार्यसम्पादन हेरेपछि हिमालयशमशेरलाई सुवर्ण शमशेरले अर्थ सचिव बनाएका थिए। हिमालयशमशेर २५ वर्षमा अर्थसचिव भएका थिए।
अर्थसचिव नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको पदेन अध्यक्ष हुने प्रावधानको कारणले हिमालयशमशेर आफू जन्मनुभन्दा झन्डै एक दशक अगाडि स्थापना भएको नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा पनि नियुक्त भए। नेपाल बैंक लिमिटेडको अध्यक्ष पदसँगै तिनको बैंकिङ क्षेत्रमा प्रवेश भयो। सुवर्णशमशेरले पद त्याग गरे पनि हिमालयशमशेरले चार वर्षसम्म अर्थसचिव तथा नेपाल बैंकको अध्यक्ष पदमा रहिरहे।
उक्त कार्यकालमा हिमालयशमशेरले अर्थ मन्त्रालयको स्थापना, कानुनी तथा व्यवस्थापन प्रणालीको जग बसाल्नेदेखि सञ्चालनसम्मको कार्य सम्पादन सफलताका साथ सम्पन्न गरेको नेपालको वित्तीय तथा अर्थ मन्त्रालयमा काम गर्ने अधिकांशले कर्मचारीहरूले गर्ने गर्छन्। राणाले नेपाल बैंकलाई चलायमान वाणिज्य बैंकमा परिणत गरेर नाफा आर्जन गर्न सक्षम बनाएको चर्चा पनि उक्त बैंकका पूर्व कर्मचारीहरू गर्छन्।
अर्थ मन्त्रालय तथा नेपाल बैंकमा उनको प्रवेशसँगै मुलुकले आधुनिक अर्थतन्त्रको जग हालेको हो। नेपाल सरकारले तिनको पाँचौं वर्षको कार्यकालमा एक वर्षका निमित्त अमेरिकी सहायता नियोगको सौजन्यमा संयुक्त राज्य अमेरिकामा विभिन्न निकायहरू जस्तै संयुक्त राष्ट्रसंघीय मुख्य कार्यालय न्युयोर्क, वासिंगटनस्थित बजेट विभाग तथा हार्डवर्ड विश्वविद्यालयमा स्थलगत अध्यायनका लागि पठाएको थियो।
वि.सं. २०१२ सालमा राजा महेन्द्रले मन्त्रिपरिषद्लाई विस्थापित गरेर पाँच सदस्य भएको शाही सल्लाहकार गठन गरे। उक्त सल्लाहकारको ‘प्रिन्सिपल रोयल एडभाइजर’ थिए सरदार गुञ्जमान सिंह। प्रिन्सिपल रोयल एडभाइजरको सल्लाहबमोजिम राजा महेन्द्रले केन्द्रीय बैंकको गठन गर्ने निर्णय गरे। राजा महेन्ले सरदार गुञ्जमान सिंहलाई उक्त बैंक निर्माणका निमित्त आवश्यक कार्य अघि बढाउन निर्देशनसमेत दिएका थिए।
अमेरिकाबाट अध्ययन गरेर फर्केका हिमालयशमशेर राणालाई सरदार गुञ्जमान सिंहले बैंक स्थापनाका निमित्त ऐन कानुनदेखि संस्थागत संरचना निर्माण कार्यको सम्पूर्ण जिम्मेवारी सुम्पिए। सरदार गुञ्जमान सिंहले हिमालयशमशेर राणालाई उक्त जिम्मेवारी सुम्पनुका मूल कारण नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष हुँदा हिमालयशमशेरले देखाएको कार्यदक्षता थियो।
देशको केन्द्रीय बैंक राष्ट्र बैंकको स्थापनाका लागि आवश्यक ऐन कानुन तर्जुमा तथा संस्थागत संरचना बनाउनका लागि उनलाई तीन महिना लागेको थियो। राणाको दूरदर्शिता तथा कार्यशैलीबाट प्रभावित राजाको प्रमुख सल्लाहकार सरदार गुञ्जमान सिंहको सिफारिसमा सरकारले हिमालयशमशेर राणालाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति गर्यो। राजा महेन्द्रले १३ वैशाख २०१३ का दिन नेपाल राष्ट्र बैंकको उद्घाटन गरेर उक्त बैंकको विधिवत् स्थापना गरेका थिए।
हिमालयशमशेरलाई चार वर्षसम्म नेपाल राष्ट्र बैंकको केन्द्रीय बैंकको गभर्नर पदमा रहेर कार्य गर्ने अवसर मिलेको थियो। केन्द्रीय बैंकको कार्यभार सम्हालेपछि तिनले छरिएका सरकारी निकायहरूमा रहेको राष्ट्रिय सम्पत्तिहरूलाई केन्द्रीय बैंकको मातहमा जम्मा गर्ने देखि सरकारी ढुकुटीबाट हुने राजस्व संकलन तथा खर्च वितरण कार्यहरूलाई बैंकिङ प्रणालीअन्तर्गत रोक्ने कार्यहरूको सुरुआत गरेका थिए।
तिनकै पालामा प्रथम पटक नेपाली रुपैयाँहरू छापियो भने टक्सार विभागद्वारा उत्पादन हुने सिक्काहरूसमेत राष्ट्र बैंकको निर्देशनमा हुने प्रक्रियाको थालनी भयो। तिनको गभर्नर कालखण्डमा भएको सबैभन्दा महत्त्वपूर्ण कार्य भनेको नेपालभर भारतीय मुद्रालाई विस्थापित गरेर नेपाली मुद्रालाई प्रचलनमा ल्याउनु हो।
केन्द्रीय बैंक स्थापना हुनुभन्दा पहिला नेपालमा भारतीय मुद्राको प्रचलन थियो। नेपाली मुद्राको सटही दर कायम गर्ने जस्तो अत्यन्त जटिल तथा गहन कार्य गभर्नर राणाको नेतृत्वमा भएको हो। उक्त कार्यका निमित्त तिनका सहयोगी, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख गोविन्दप्रसाद लोहनी तथा फोर्ड फाउन्डेसनको आर्थिक सल्लाहकारको योगदानको प्रशंसा राणाले आफ्नो पुस्तक ‘सम्झना र चिन्तनमा’ मुक्त कण्ठले गरेका छन्।
त्यही समय भारतीय एक सय रुपैयाँको मूल्य नेपाली एक सय ६० निर्धारण गरिएको थियो। जसलाई विगत तीन दशकभन्दा लामो अवधिदेखि पुनः कायम गरिएको छ। राष्ट्रिय अर्थतन्त्रका निमित्त नेपाल राष्ट्र बैंकको स्थापना तथा सञ्चालनले भारतीय तथा विदेशी बैंकमार्फत हुने वैदेशिक बैंकिङ कारोबारलाई विस्थापित गरेर केन्द्रीय बैंकमार्फत हुने प्रावधान हुनुमा हिमालयशमशेरको ठूलो योगदान छ।
२०१७ मा राजा महेन्द्रले सत्ता हत्याएपछि ठूलो संख्यामा कर्मचारीहरू बर्खास्त गरे। उक्त पजनीमा गभर्नर राणा पनि परे। नेपाली कांग्रेस समर्थक भन्ने आरोप तिनका विरोधीहरूले लगाइएको हुनाले गर्दा नै आफूलाई राजाले बर्खास्त गरेको भन्ने राणाको भनाइ छ। ३४ वर्षको उमेर काट्दा नकाट्दै बेरोजगार भएका राणाका निमित्त राजा महेन्द्र शासित नेपालमा रोजगारी पाउने सम्भावना न्यून थियो।
तै पनि तिनले राजासँग दर्शन भेटको प्रयास भने झन्डै एक वर्षसम्म गरेका थिए। एक वर्षसम्म पनि उनले राजासँग ‘दर्शन भेट’ पाएनन्। नेपालमा रोजगारी पाउने सम्भावना नभएपछि उनी यूएनको जागिरे भएका हुन्। उनलाई यूएन मुख्यालयमा रोजगारी मिल्यो। संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत रहेर तिनले श्रीलंका, म्यानमार अफगानिस्थान, इन्डोनेसिया, पाकिस्तान हुँदै २४ वर्ष अन्तर्राष्ट्रिय सेवामा संलग्न रहेर उमेरको हदका कारण अवकाश भएका हुन्।
वि.सं. २०४४ सालमा यूएनबाट अवकाश प्राप्त गरेर स्वदेश फर्किएका राणा अवकाश जीवन बिताए पनि बस्न सक्थे। तर, उनले अवकाशपछि पनि केही गर्ने विचार गरे। निजी क्षेत्रमा देखा पर्न थालेका अवसरहरूको सदुपयोग गर्ने निधो गरे। पञ्चायतको उत्तरार्धमा सुरु गरिएको खुला प्रतिस्पर्धा आधारित आर्थिक नीतिलाई उपयोग गर्दै निजी क्षेत्रमार्फत आर्थिक गतिविधिमा संलग्न हुन थाले।
आफ्नो अध्यक्षतामा अभा इन्टरनेसनल प्रालि नाम गरेको व्यापारिक संस्थाको स्थापनाबाट व्यापारिक क्षेत्रमा तिनले प्रवेश गरे। नेपालमा वैदेशिक लगानी भित्र्याउने उद्देश्य अनुरूप त्यस कालखण्डको प्रसिद्ध उद्यमी मोहनगोपाल खेतान तथा अन्य नातागोताका उद्यमीहरूसँग सहकार्य गर्दै गोर्खा बियर कम्पनी स्थापित गरे। तिनकै पहलमा डेनमार्कको सुप्रसिद्ध टुबर्ग बियर कम्पनी नेपाल भित्रियो।
मोहन खेतानसँगै मिलेर आधुनिक धागो उद्योग स्थापनाका निमित्त पनि उनी लागिपरेका थिए। धागो उद्योग खोल्ने योजना पूरा नभएपछि उनी बैंकिङ क्षेत्रतर्फ केन्द्रित भएका थिए। पाकिस्तानको अन्तर्राष्ट्रिय बैंक हबिब बैंकको सहभागितामा हिमालय बैंक स्थापना गर्न उनी सफल भए। तर, बिमा कम्पनी योजनामा उनी असफल रहे। एक दशक लामो अवधिसम्म हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा रहेर उक्त बैंकलाई आफ्नो प्रत्यक्ष नेतृत्व तथा निगरानीमा देशको निजी क्षेत्रको अब्बल बैंक बनाउन सफल भए। राणा अहिले पनि हिमालय बैंकको वरिष्ठ सल्लाहकार छन्।
‘दक्षिण एसियाका राष्ट्रहरूमै हामीले बैंकिङ क्षेत्रमा गरेको उन्नति उत्कृष्ट छ। प्रधानमन्त्रीज्यूको प्रत्येक नागरिकको नाममा बैंक खाता हुने कार्यक्रमको घोषणाले म अत्यन्त उत्साहित भएको छु। उक्त लक्ष्य हासिल भएको खण्डमा सरकारबाट नागरिकहरूलाई उपलब्ध गराइने सहयोगहरू सीधा बैंकमार्फत हुने प्रावधानको पर्खाइमा रहेको छु।’ पंक्तिकारसँग कुरा गर्दै राणाले भने। बैंकिङ क्षेत्रमा उनको योगदानले उनलाई नेपालको वित्तीय क्षेत्रको ‘हिमालय पर्वत’ नै बनाएको छ।
त्यसो त हिमालयशमशेर राणाले आफूलाई व्यापारिक क्षेत्रमा मात्रै सीमित गरेनन्। राष्ट्रको आवश्यकताअनुसार सरकार प्रमुखहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी तथा कृष्णप्रसाद भट्टराईद्वारा सुम्पिएको जिम्मेवारीहरूलाई विभिन्न कालखण्डमा तिनले बहन गर्न कहिल्यै पनि हिच्किचाएनन्। नेपाल विद्युत् प्राधिकरणको स्थापना तथा सञ्चालन कार्यमा तिनको योगदान उल्लेखनीय रह्यो। त्यसैगरी नागरिक अभियान चाहे त्यो शान्ति स्थापनाका निमित्त होस् अथवा चुनावको निष्पक्षता कायम गर्ने कार्यहरू हिमालयशमशेरको क्रियाशील सहभागितामा हुँदै आएको छ।
उमेरका हिसाबले नौ दशक पार गरिसकेका राणा अझै सुस्ताएका छैनन्। तिनको राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय संघसंस्थाहरूमा हुने संलगनता कायम छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग आबद्ध रहेका हिमालयशमशेर राणा संयुक्त राष्ट्रसंघ तथा बहुराष्ट्रिय संस्थाहरूमा सेवा गरेका नेपाली अधिकृतहरूले स्थापना गरेको संस्था फोरम अफ फर्मर इन्टरनेसनल प्रोफेसनलस मल्टिल्याटरल अर्गनाइजेसन (एफआईपीमो) का संरक्षक छन्।