सराफीदेखि बैंकसम्म

सराफीदेखि बैंकसम्म

सानो लगानीबाट सुरु भएको घरेलु उद्यमलाई आधुनिकीकरण गर्दै इन्द्रभक्तले ठूलो साम्राज्य बनाएका छन्।


बाबुले उनलाई काम लगाइदिएका थिए— सिक्का छान्ने। यो उनले रोजेको काम थिएन तर कालान्तरसम्म उनले यही काम पछ्याए। त्यो समय अहिलेजस्तो स्कुल गएर पढ्न पाइने बेला थिएन। अरूले जस्तै इन्द्रभक्त श्रेष्ठले पनि पढ्ने मौका पाएनन्।

इन्द्रभक्त मोहरको चाङबाट खोटा र सद्दे मोहर छुट्याउँथे। बाबुले लगाएको नेपाली सिक्का (मोहर) छान्ने कामले उनमा बैंकिङ अवधारणा विकास गर्‍यो। बैंकसम्बन्धी औपचारिक शिक्षा नलिएका उनले स्थापना गरेको नेपाल इन्टरप्राइजेज (एनई) ग्रुप हिमालयन बैंकको प्रमोटर छ।

सन् १९७२ मा कपडा तथा अन्य ‘कन्जुमर गुड्स’ आयात निर्यात गर्ने उद्देश्यले एनई ग्रुप स्थापना भएको थियो। व्यवसायलाई विविधीकरण गर्दै हाल यो ग्रुप उत्पादन, बैंकिङ, इन्स्योरेन्स, पर्यटन, परियोजना विकास तथा अन्तर्राष्ट्रिय व्यापारमा संलग्न छ।

सन् २०१५ मा भौतिक दुनियाँबाट बिदा लिएका इन्द्रभक्तले सानो लगानीबाट सुरु भएको घरेलु उद्यमलाई आधुनिकीकरण गर्दै ठूलो साम्राज्य बनाएका थिए।

बाल्यकालमै व्यवसाय

इन्द्रभक्तका छोरा रविभक्त श्रेष्ठका अनुसार उनका पुर्खाको पेसा नै परिवार व्यवसाय थियो। भलै त्यो सानो थियो। ‘बुवाले त्यसलाई विस्तार गर्नुभएको हो। बुवाको सोच र मेहनतले यो अवस्थामा आइपुग्यौं’, उनी भन्छन्। बाबुको व्यवसायमा सहायोग गर्दागर्दै इन्द्रभक्तले त्यसको नेतृत्व लिएका थिए। तीन भाइमध्ये इन्द्रभक्त जेठा थिए। जेठो भएकाले उनले बाबुको विरासत थामेको छोरा रविभक्त बताउँछन्।

९÷१० वर्षको उमेरदेखि नै इन्द्रभक्त सराफी (मुद्रा सटही) पसलमा रेखदेख गर्न बस्थे। कामकाजका कारण बाबु बाहिर जाँदा उनैले पसल हेर्नुपथ्र्यो। सराफी पसलमै काम गर्दै ७ कक्षासम्मको अध्ययन गरेका थिए। कामको चापका कारण पढ्ने चाहना हुँदाहुँदै आफ्ना बाबुले अध्ययनलाई निरन्तरता दिन नसकेको रविभक्त बताउँछन्। भारतबाट प्रकाशित हुने ‘दैनिक विश्वामित्र’ पत्रिका पसलमा आउँथ्यो। त्यही पत्रिका अध्ययनबाट इन्द्रभक्तले बाहिरी दुनियाँको बारेमा जानकारी लिन्थे।

नेपाली नोट प्रचलनमा आइसकेको थिएन। भारतीय सेनामा जागिर खानेहरू मुद्रा साट्न इन्द्रभक्तको पसल पुग्थे। सराफीको काम गर्दैगर्दा १९९२÷९३ मा कपडाको होलसेल कारोबारमा थाले। अधिकांश कपडा जापानबाट आयात गरिन्थ्यो। यहीँबाट व्यापारको दायरा फैलिन थालेको रविभक्त सम्झन्छन्। तर अहिलेजस्तो व्यापारिक चहलपहल थिएन। बँचेको अन्नबाली बिक्री गरेर आवश्यक खाद्य सामग्रीको जोहो हुन्थ्यो। ‘उद्योगको रूपमा कीर्तिपुर, लुभु, ठिमीमा हाते तानबाट कपडा बुन्ने काम हुन्थ्यो’, रविभक्त भन्छन्, ‘काठमाडौंको माग धान्ने गरी उत्पादन हुँदैनथ्यो।’ बेलायत, जर्मनी, जापान र कलकत्ताबाट एजेन्टमार्फत कपडा तथा अन्य सामान आयात गरिन्थो।

सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो। विश्वयुद्धमा नेपाल सहभागी नभए पनि त्यसको प्रभावबाट अछूतो भने रहेन। बजारमा उपभोग्य सामान र खासगरी कपडाको अभाव भएको रविभक्त बताउँछन्। कपडाको माग धान्न भारतबाट आयात बढाउनुपर्ने भयो। तर भारतले झन्झट मान्यो। इन्द्रभक्तसहित चारजना व्यपारी मिलेर एजेन्टका रूपमा काम गर्न तयार भए।

‘देशको माग धान्ने कपडा आयात गर्नुपथ्र्यो। पुँजीको अभाव थियो। यस विषयमा सरकारलाई जानकारी गराइयो’, रविभक्त भन्छन्, ‘सरकारले आवश्यक नगद सापटी दियो।’ यहीँबाट इन्द्रभक्तको अन्तर्राष्ट्रिय व्यापार सुरु भयो। कामका लागि भारत गइरहने उनले त्यहाँ हुने व्यवसायको तौरतरिकाबारे जानकारी प्राप्त गरेको रविभक्त बताउँछन्। भारतीयहरू ऊ बेलै संगठित रूपमा व्यापार व्यवसायमा थिए।

 उतारचढाव

२०१८ सालमा इन्द्रभक्तको काँधमा व्यापारिक र पारिवारिक जिम्मेवारी एकैपटक आइपर्‍यो। परिवारमा अंशबन्डा भयो। सानो पुँजी लिएर उनी दुई छोरा र सात छोरी लिएर अलग भए। नौजनाको परिवार र व्यापार समाल्नु बाबुका लागि सजिलो नभएको रविभक्त सम्झन्छन्। ‘त्यो समय आमाले धेरै सहयोग गर्नुभयो’, भन्छन्, ‘आमाले बुवालाई धैर्यसाथ अघि बढ्न प्रेरणा दिनुभएको थियो। आमाको साथ र हाम्रो मायाले बुवा अघि बढ्न सफल हुनुभयो।’

चिनीको व्यापार गर्दा ठूलो घाटा लागेको रविभक्त स्मरण गर्छन्। ‘घाटाको प्रभाव व्यक्तित्वमा झल्कन दिनु भएन’, रविभक्त भन्छन्, ‘व्यापारमा नाफा घाटा स्वाभाविक हो भनेर विपद्को बेला आत्तिनु भएन।’ आत्मविश्वासमा कमी देखियो भने बजारले विश्वास गर्न छाड्छ भन्ने गर्थे उनी।

व्यापारलाई विस्तार गर्ने क्रममा हरिभक्तले ब्रुकबोन्ड इन्डिया लिमिटेडको उपत्यका वितरक एजेन्टका रूपमा काम गरे। सन् १९९० मा दक्षिण कोरियाबाट पहिलो पटक नेपालमा कपडा भित्र्याउने काम आफ्ना बुवाले गरेको रविभक्त बताउँछन्। २०२८ सालमा मैदा उद्योग र २०३५ सालमा हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना भएको नेपाल सिन्थिटिक इन्डस्ट्रिज खरिद गरे।

बहुराष्ट्रिय कम्पनी युनिलिभरलाई नेपाल भित्र्याउने श्रेय पनि हरिभक्तलाई नै जान्छ। ‘बुवाले हिन्दुस्तान लिभर लिमिटेडबाट उत्पादित सामान आयात गरी बिक्रीवितरण गर्दै आइरहनुभएको थियो। बिक्री राम्रो थियो। कम्पनी नेपाल आए सामान सस्तो र रोजगारी सिर्जना हुने थियो। यो सोचका साथ बुवाले कम्पनीमा प्रस्ताव गर्नुभयो’, रविभक्त भन्छन्, ‘बजार र सम्भाव्यताका आधारमा युनिलिर नेपालमा खडा भयो।’ सन् १९९२ मा युनिलिभरको ८० प्रतिशत र नेपाली लगानीकर्ताको २० प्रतिशत सेयरमा कम्पनी सञ्चालनमा आयो।

निजी क्षेत्रको एकता

हरिभक्तले विभिन्न देश घुम्ने क्रममा निजी क्षेत्रको सहकार्य र एकता देखेका थिए। नेपालको निजी क्षेत्रबीच व्यावसायिक एकता थिएन। २००९ सालमा स्थापित व्यवसायीको पहिलो संगठित संस्था नेपाल चेम्बर अफ कमर्सको स्थापनामा उनको समेत महत्त्वपूर्ण भूमिका भएको रवि सुनाउँछन्। उनी चेम्बर्सका संस्थापक सदस्य र चार कार्यकाल अध्यक्ष थिए।

२०३९ सालमा शाही नेपाल वायुसेवा निगमको सञ्चालक समितमा रहेर पनि काम गरे। नेपाल उद्योग वााणिज्य महासंघको समेत नेतृत्व सम्हाले। व्यापार व्यवसायका साथै सामाजिक कार्यमा पनि बुवा संलग्न हुने गरेको रविभक्त बताउँछन्।

पुस्तान्तरण

हरिभक्तले बनाएको व्यापारिक साम्राज्य अहिले रविभक्तले समालिरहेका छन्। उनी पनि बाबुको प्रेरणाले व्यापारमा छिरे। सानै उमेरदेखि हरिभक्त छोरालाई व्यवसायमा लाग्न प्रेरित गरिरहन्थे।

त्रिचन्द्र क्याम्पसबाट व्यवस्थापनमा स्नातक रविभक्तले साढे एक वर्ष अमेरिकामा बिजनेस म्यानेजमेन्टको तालिम लिएका छन्। पढेरभन्दा पनि बाबुको संगतले धेरै विषय जानेको उनी बताउँछन्। ‘व्यापारमा लाग्नुभन्दा मलाई पढ्नमा रुचि थियो। दाइ अमेरिका पढ्न गएर उतै बस्नुभएको थियो। थप अध्ययनका लागि अमेरिका जाने चाहना थियो’, उनले भने, ‘तर अमेरिका गएपछि नफर्किने भन्ने बुवामा आशंका थियो।’ उनी पनि विदेश हिँडे भने पुख्र्यौली व्यापार हेर्ने मान्छे नहोला कि भन्ने बाबुको चिन्ता थियो। उनकी आमाले छोरा फर्किन्छ भनेर आश्वस्त पारेपछि बल्ल बाबु सहमत भएका थिए।

व्यवसाय विविधीकरणमा विश्वास राख्ने हरिभक्त होटल व्यवसायमा पनि रुचि राख्थे। सोल्टी होटलबाट ओब्राइट कम्पनी बाहिरएपछि उसले बिक्री गरेको सेयर खरिद गरेर उनी होटल क्षेत्रमा छिरे। सोल्टी ब्रान्ड बलियो र सेवास्तरीय भएकाले मुलुकका अन्य स्थानमा सेवा दिनुपर्छ भनेर एनई ग्रुपको जोइन्ट भेन्चरमा सोल्टी सिबिक्रिम होटल्स एन्ड रिसोर्ट प्राइभेट लिमिटेड स्थापना भयो। त्यसको पहिलो ब्रान्च नेपालगन्जमा छ। सीजी ग्रुपसँग मिलेर ताज भिभान्ता र समिट होटलमा पनि यो ग्रुपको लगानी छ।

हरिभक्तले बनाएको व्यावसायिक साम्राज्य सम्हाल्न अहिले तेस्रो पुस्ता तयार भइसकेको छ। रविभक्तका छोरा रवीन्द्रभक्तले अमेरिकाको वाल्टन विश्वविद्यालयबाट एमबीए गरेका छन्। पुस्ता हस्तान्तरण हुँदै रवीन्द्रभक्तले पनि व्यवसाय समाल्न थालिसकेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.