जन्मसिद्धका सन्तानलाई धमाधम नागरिकता
भैरहवा : जन्मसिद्धको आधारमा नागरिकता लिएका सन्तानलाई यहाँ धमाधम नागरिकता वितरण गरिँदैछ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १४ वटा मापदण्ड बनाएर जन्मको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गरिरहेको छ।
जन्मसिद्धको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नगरिकता दिन गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेसँगै यहाँ नागरिकता बनाउनेको चाप बढेको हो।
गृह मन्त्रलायको परिपत्रलाई सर्वोच्च अदालतको अन्तिरम आदेशले सदर गरेपश्चात सोही आधारमा जन्मसिद्धको आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता लिन थालेका हुन्।
रुपन्देही जिल्लामा ३ स्थान जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगाँवाबाट नागरिकता वितरण हुने गर्दछ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार यी ३ स्थानबाट जन्मसिद्धका आधारमा नागरिकता लिएका हालसम्म करिब एक हजार जना सन्तानलाई वंशजको नागरिकता प्रदान गरिएको छ।
औसतमा एक दिनमा करिब एक सयदेखि एक सय पचासजनालाई नागरिकता वितरण भइरहेको रुपन्देहीकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताइन्। चैत २५ गते आदेश अनुसार त्यस दिन जन्मसिद्धका ५ जना सन्तानलाई नागरिकता वितरण गरिएको थियो।
त्यसपश्चात पुन वैशाख ८ गते देखि नागरिकता वितरण गर्न आदेश आएपश्चात वितरण जारी राखिएको छ।उनले गैरनागरिकले नेपाली नागरिकता बनाउन नपाओस् भन्ने उद्देश्यले कडाईका साथ १४ वटा मापदण्ड बनाएर नागरिकता वितरण भइरहेको जनाइन्।
उनका अनुसार नागरिकता प्राप्तिका लागि कार्यालयले बुवाआमाको सक्कल नागरिकता, लालपूर्जा, नाता प्रमाणित, स्थायी बसोवास प्रमाणित, प्रहरी सर्जमिन, जन्मदर्ता लगायत आवश्यक कागजपत्रसहित नागरिकता वितरण भइरहेको छ।
गैरनागरिकले नेपाली नागरिकता बनाउन नपाओस् भन्ने उद्देश्यले हामीले मापदण्ड बनाएर नागरिकता वितरण गरिरहेका छौँ उनले भनिन्,' निकै कडाईका साथ र सजग भएर कानुनले तोके बमोजिम हामीले वास्तविक नेपाली नागरिकका सन्तानलाई मात्र नागरिकता प्रदान गरिरहेका छौँ।'
वर्षौदेखि नेपालमै बसोबास गर्दै आएपनि जन्मसिद्ध नागरिकका सन्तान नागरिकता पाउनबाट बञ्चित थिए। नागरिकता नहुँदा उनीहरुलाई उच्च पठनपाठन, स्वदेशमा रोजगारी, वैदेशिक रोजगारी, व्यापार व्यवसाय, बैंकिङलगायतका काम गर्न सकेका थिएनन्।
नागरिकताका लागि दैनिक सयौंको संख्यामा सर्वसाधारण पुग्न थालेपछि जिल्ला प्रशासनले भीड नियन्त्रणका लागि टोकन प्रणालीमार्फत नागरिकता वितरण गरिरहेका छ।
नागरिकता लिनेको संख्या बढेसँगै कर्मचारी थप गरेर सहज रुपमा नागरिकता दिने व्यवस्था मिलाइएको सहायक प्रजिअ नेपालले बताइन्।'कागजात पेस गरेपछि वास्तविक नागरिकलाई कानुनले तोकेबमोजिम सेवा लिन कुनै झन्झट छैन, 'उनले भनिन्।प्रशासन कार्यालयका अनुसार ०६३ सालमा जन्मसिद्धका आधारमा नागरिकता लिएका बुवाआमाका सन्तानलाई मात्रै वंशजका आधारमा नागरिकता वितरण गरिएको छ।
रुपन्देहीमा ०६३ सालमा करिब १२ हजार व्यक्तिले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको बताइएको छ। जस अनुसार जन्मसिद्धका करिब ३५ देखि ४० हजार सन्तानले अहिले नागरिकता लिन सक्ने अनुमान गरिएको छ।
२४ वर्षको भइसके तर नेपाली नागरिक हुदाँहुदै पनि नागरिकताको प्रमाण पत्र थिएन नागरिकता बनाउनका लागि लामवद्ध लाइनमा उभिएका एक युवाले धेरै समस्या भोग्नुपरेको बताए।उनले भने,' अब समस्या अन्त्य हुन लागेकोमा धेरै खुशी छु।'
नागरिकताको प्रमाण पत्रको प्राप्तिपछि जीवनले सफलताको नयाँ मोड लैजाने उनको विश्वास छ। नागरिकता ऐन २०६३ बमोजिम जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान बालिक भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट बञ्चित हुनुपरेको भन्दै नागरिकता पाउनुपर्ने माग गर्दै आएका थिए। संशोधन अध्याय २०७० मा एक वर्षका लागि यस्तो सेवा खुलेको भए तापनि संसदबाट पारित नभएपछि रोकिएको थियो।