बर्डफ्लुको पहिचान नेपालमै सम्भव
काठमाडौं : बर्डफ्लु (हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा–एच फाइभ एन वान) बाट प्रभावित भएका सर्वसाधारणको स्वदेशमै रोगको विषयमा प्रारम्भिक चरणमा पहिचान गर्न सकिने नेपाल भेटेरिनरी एशोसिएसनले दाबी गरेको छ।
विज्ञप्ति जारी गर्दै एशोसिएसनले नेपालमै भएको सुविधा उपभोग नगरिएका कारण बर्डफ्लुबाट पीडित भएर पहिलोपटक एक नेपालीको मृत्यु भएको जानकारी निकै ढिलो मात्र बाहिर आएको जनाएको छ।
‘वन हेल्थको अवधारणालाई कार्यान्वयनमा ल्याएर उपभोग गरिएको भए प्रारम्भिक अवस्थामै रोग पत्ता लगाउन सकिन्थ्यो’, एशोसिएनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले भने, ‘स्वदेशमै भएको सुविधा उपभोग नगर्दा बर्डफ्लुबाट एक सर्वसाधारण मारिएको जानकारी निकै ढिलो आएको हो।’ बर्डफ्लुबाट पीडित भएर अन्य सर्वसाधारणको पनि मृत्यु भएको हुन सक्ने संस्थाको ठहर रहेको एशोसिएसनले जनाएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत त्रिपुरेश्वरमा रहेको राष्ट्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाको सहयोगमा प्रारम्भिक अवस्थामै रोगको कारण पत्ता लगाउन सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। सर्वसाधारणको मृत्यु भइसक्दा पनि सरकारले यो विषयमा गम्भीर रूपमा चासो नदेखाएको र गम्भीर रूपमा परीक्षण कार्यलाई कार्यान्वयनमा नल्याइएको उनले आरोप लगाए।
एशोसिएसनले हालसम्म मृत्यु भएको व्यक्तिको विषय सार्वजनिकीकरण नगर्नु, संक्रमणको ट्रयास ब्याक रिर्पोट नगरिनु, रोगको कारक भाइरस एच पाइभ एन वानको थप अध्ययन गरी वैज्ञानिक रूपमा पत्ता नलगाइनु समस्या भएको दाबी गरेको छ। यसैगरी कुन स्रोत र स्थानको भाइरससँग मेल खाने किटाणु मृतकमा भेटिएको लगायतका विषयमा आवश्यक प्रतिवेदन सरकारले सार्वजनिक गर्न ढिलाइ गरी सर्वसाधारणलाई थप जोखिममा पुर्याएको पनि दाबी गरिएको छ।