गजुरीबाट लागुऔषध चरेश र अफिमसहित पक्राउ
गजुरी (धादिङ) : पृथ्वीराजमार्गअन्तरगत धादिङको गजुरी गाउँपालिका-१ सोतीखोलाबाट प्रतिबन्धित लागुऔषध अफिम र चरेशसहित एकजना पक्राउ परेका छन्। आइतबा राति (सोमबार)१ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र धादिङ प्रहरीबाट खटिएको संयुक्त टोलीले लागुऔषध अफिम ९७८ ग्राम र ४७ किलो चरेशसहित पक्राउ गरेको हो।
राजमार्गको बाटो भएर चरेश ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा चरेश र अफिमसहित जयपृथ्वी नगरपालिका वडा नं ८ घर भई हाल कैलाली जिल्ला धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ४६ वर्षीय काल्चे बोहोरा पक्राउ परेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङगेलले जानकारी दिए।
सोतीखोलास्थित कच्ची सडकमा भारतीय नम्बर प्लेटको डीएल ३ सीएडी ७०८१ नं को लेखिएको मारुती सुजुकी कारको पछाडिको सिट मुनि फल्स बटम बनाई ४ वटा रातो रंगको प्लास्ष्टिक पोका बनाई लुकाई राखेको अवस्थामा प्रहरीले चरेश र अफिम फेला पारेको हो। पक्राउ परेकालाइ लागुऔषध ओसार पसार ऐन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको ढुङगेलले जानकारी दिए।