प्रदेश १ राजधानी : विराटनगरको पक्षमा दुईतिहाई, नाम टुंगो लागेन
विराटनगर : प्रदेशसभा गठन भएको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागेको छ । लगाइएको छ । लामो समयपछिको रस्साकस्सीपछि मतदानको सराहा लिंदै प्रदेश राजधानी विराटनगर नै रहने टुंगो लागेको हो ।
राजधानी टुंगो लागे पनि प्रदेशको नाम भने प्रदेशसभाले टुंगो लगाउन सकेन । सोमबारको प्रदेशसभा बैठकले यस अघि अस्थायी राजधानी रहेको विराटनगरको पक्षमा परेको प्रस्तावलाई पारित गर्दै स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । प्रदेशसभाबाट पारित भएको प्रस्तावको भाषाले भविष्यमा जुनसुकै बेला विवाद निम्त्याउन सक्ने सम्भावना भने जीवितै राखेको छ । साँझ अवेर सम्पन्न मतदानमा सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको विराटनगरको पक्षमा दुई तिहाई मत खसेको थियो।
राजधानी विराटनगरको पक्षमा ८६ मत खसेको थियो । नेकपाको प्रस्तावको विपक्षमा मत खसेन । प्रदेश १ मा १९३ प्रदेश सभा सदस्य रहेका छन् । प्रदेशसभा सदस्यहरु कंग्रेसबाट ज्योति सुब्बा, प्रतापप्रकाश हाङगाम, अगमलाल चौधरी, नेकपाबाट गणेश काङमाङ, संघीय समाजवादी फोरमबाट रामचन्द्र लिम्बू र राधा थापा मतदानमा अनउपस्थित रहे ।
विराट बृहत क्षेत्र अन्तर्गतको विराटनगर, इटहरी र सुन्दरहरैँचामा कार्यालय रहेनछ भन्ने प्रस्ताव पनि दुई तिहाईबाट हुबहु पारित भयो । संसदमा दुईतिहाई रहेको नेकपाले दर्ता गराएको प्रस्तावमा ‘प्रदेश १ को राजधानी विराटनगर रहने छ’ भन्ने उल्लेख छ । त्यसको कैफियतमा ‘कार्यपालिका, व्यवस्थापिकालगायतका संरचनाहरु वृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहनेछ’ भन्ने उल्लेख गरेका कारण यसले भविष्यमा जुनसुकै बेला विवाद निम्त्याउन सक्ने सम्भावना छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर राजधानी बनाउनुपर्छ भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको बताए । ‘राजधानीको टुंगो लागेको छ,’ उनले भने, ‘संरचनाका विषयमा अगामी दिनमा थप गृहकार्य र छलफल गरेर अघि बढ्ने छौं ।’
कांगे्रेस प्रदेशसभा सचेतक सुयर्माराज राईले सत्तारुढ नेकपासग भद्र सहमति भएपछि कांग्रेसले मतदानमा सहभागिता जनाएको बताए ।
आइतबार प्रदेशसभामा राजधानी तोक्न माग गर्दै विराटनगरको पक्षमा दुई र धनकुटाको पक्षमा दुईवटा प्रस्ताव दर्ता गरिएको थियो । आधिकारिक रुपमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसले विराटनगरको पक्षमा प्रस्ताव दर्ता गराएका थिए ।