नीति तथा कार्यक्रमको छलफलमा घोचपेच

नीति तथा कार्यक्रमको छलफलमा घोचपेच

काठमाडौं : संघीय संसद्का दुवै सदनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल जारी छ। यसले नागरिकमा उत्साह जगाउन नसकेको टिप्पणी प्रतिपक्षीले गरेका छन्। सत्तारुढ दलका सांसद सरकारको बचाउमा देखिएका छन्।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नीति तथा कार्यक्रममा समेटिएका योजना यथार्थपरक नभएको बताए। ‘नीति तथा कार्यक्रम यथार्थपरक, वस्तुनिष्ठ र तर्कसम्मत छैन’, सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उनले भने, ‘यसमा सरकारको प्रशंसा मात्र भेटिन्छ, जनतामा उत्साह ल्याउने कुनै कार्यक्रम छैन।’ कार्यक्रम कार्यान्वयनको विश्वसनीय आधार नभएको, खोक्रो आश्वासन मात्र भएको आरोप उनले लगाए।

कांग्रेसकै प्रदीप गिरिले भने सरकारको आलोचना मात्र होइन, प्रशंसासमेत गरे। ‘तपाईंहरूलाई प्रधानमन्त्रीको अध्ययनबारे कति थाहा छ तर जेलमा वर्षांै वर्ष यत्तिकै बिताउनुभएको छैन। उहाँजस्तो सूचना भएको, जानकारी भएको मैले राजनीतिमा अर्काे व्यक्ति देखेकै छैन’, उनले भने, ‘हेर्दा केही नजानेजस्तो तर नजानेको कुनै शास्त्र छैन उहाँले। अर्काे गणेशमानजस्तो। ‘मेरो सरकार’बारे प्रधानमन्त्री केपी ओलीको स्पष्टीकरणप्रति भने उनले असहमति जनाए। उनले मनोगत कुरा नगरी वस्तुगत रूपमा कुरा गर्न प्रधानमन्त्रीलाई आग्रह गरे।

कांग्रेसकै सांसद गगनकुमार थापाले सरकारको नीति तथा कार्यक्रम सपनारहित रहेको भन्दे आलोचना गरे। भने, ‘नीति तथा कार्यक्रम एउटा अलमलिएको निबन्धजस्तो छ।’ उनले यसका सम्बन्धमा सरकारलाई ६ वटा प्रश्न सोधेका थिए। ‘राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न उक्सायो। राष्ट्रपतिको संस्थालाई बदनाम गराउने काम गर्‍यो। के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ? ’, उनले प्रश्न गरे, ‘यो प्रश्नको उत्तर आउँदैन, बरु गाली आउँछ भन्नेमा म विश्वस्त छु। प्रधानमन्त्रीको भाषा सुन्दा नीति तथा कार्यक्रममा उठेका प्रश्नमा बौद्धिक छलफल हुन्छ भन्ने मलाई आस छैन।’

नेकपाका योगेश भट्टराईले नीति तथा कार्यक्रम एक वर्षका लागि भए पनि धेरै वर्षका लागि नेपालको दिशा परिलक्षित रहेको दाबी गरे। ‘मौलिक हकको कार्यान्वयन, संघीयता कार्यान्वयन, नेकपाको चुनावी घोषणापत्र, दिगो विकास लक्ष्यमा नेपालले हासिल गर्नुपर्ने उपलब्धि र अघिल्लो वर्ष प्रस्तुत सरकारको नीति तथा कार्यक्रमको जगमा यो आएको हो’, उनले भने, ‘यसलाई सम्पूर्णतामा हेर्नुहुन्न, यसले नेपाली समाजको गन्तव्य देखाएको छ। तुलनात्मक रुपमा वस्तुवादी, यथार्थपरक र मुलुकलाई सही दिशामा डोर्‍याउने निश्चित भएको छ।’ यसले मुलुकको समृद्धि र लोककल्याणकारी राज्य निर्माणको बाटो सुनिश्चित गरेको जिकिर उनले गरे।

नेकपा महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहर भए सजाय भोग्न तयार रहेको बताए। उनले ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिनको माग गरे। ‘यसको छानबिन होस् र दोषीलाई कडा कानुनी कारबाहीको माग गर्छु’, उनले भने, ‘म आफू दोषी ठहर भए जुनसुकै सजाय भोग्न तयार छु। गैरकानुनी तरिकाले दर्ता गरिएका सरकारी स्वामित्वका जग्गा फर्काउन सरकारले चालेको कदमको म स्वागत गर्छु।’

नीति तथा कार्यक्रम आज पारित गर्ने कार्यक्रम छ। सांसदले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि संशोधन प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत गरिने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.