जुम्लामा भाइरल नियन्त्रण हुँदै
जुम्ला : जिल्लाको तातोपानि गाउँपालिका ७ सर्मी गाउँमा फैलिएको मौसमी फ्लू तथा रुघाखोकीको भाइरल नियन्त्रण हुँदै गएको छ। एक साता अघिदेखि गाउँमा फैलिएको मौसमी फ्लू नियन्त्रणमा आएपछि बिरामी निको हुन थालेका छन्। औषधि सहित स्वास्थ्यर्मीको टोली सर्मीगाउँमा पुगेको छ। बिरामीमा ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने जस्ता लक्षण देखिएका छन्।
ताम्ती स्वास्थ्य चौकीका इन्चार्ज भुपेन्द्र पाण्डेका अनुसार स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य चेकजाँच तथा उपचार गरिरहेको छ।सोमबारदेखि स्वास्थ्यकर्मीको टोलीले गाउँमा स्वास्थ्य शिविर नै संचालन गरिरहेको उनले बताए। शिविरमा दुई सय बढी बिरामीले आफ्नो स्वास्थ्य चेकजाँचसँगै उपचार गराएका छन्।
अधिकांश बिरामी उपचारपछि सजिलै घर फर्किएका छन्। बिरामीलाई उपचारसँगै सरसफाई र खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीले सुझाब दिएका छन्।
सर्मीगाउँमा फैलिएको मौसमी फ्लूको भाइरल छिमेकी गाउँमा पनि सर्न सक्ने भएकाले सजक रहन तर नआत्तिन उनको सुझाब छ। बिरामीको स्वास्थ्य अवस्था सामान्य देखिएको भन्दै थप जटिल भए उपचार तथा उद्धारका लागि गाउँपालिका तयारी अवस्थामा रहेको अध्यक्ष नवराज न्यौपानेले बताए। मौसमी फ्लुले पूरै गाउँ सिकिस्त बनेको यो जुम्लाको पहिलो घटना हो।