राजधानीमा भेटियो हैजाको जीवाणु
काठमाडौं : राजधानीमा हैजाका विरामी फेला परेका छन्। काठमाडौं–१३का एक विरामीको दिसा परिक्षण गर्दा उनमा दुषित पानीका कारण हुने हैजा भेटिएको हो।
४५ वर्षे ती विरामीको दिसामा हैजाका जीवाणु फेला परेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए।
गत साता ती विरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि भर्ना भएका थिए। उनको दिसाको नमुना संकलन गरी अस्पतालको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा आइतबार हैजाको जीवाणु फेला परेको हो।
काठमाडौं उपत्यकामा हरेक वर्ष हैजाका विरामीहरु देखिने गरेका छन्। ढल निकास नभएको र पानी पनि अशुद्ध हुने गरेका कारण हैजा फैलने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.लालले बताए।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट स्वास्थ्यकर्मीको टोली विरामीको घर गई स्थलगत निरिक्षण समेत गरेका छन्। परिवारका अन्य सदस्यमा भने झाडापखाला तथा हैजाका कुनै लक्षण देखिएको छैन।
विरामीको घरमा उपलब्ध पानीको विभिन्न स्रोतका तीनवटा पानीको नमुना संकलन गरी परिक्षण गर्न लागिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको पानी परिक्षणको नतिजा भने आउन बाँकी छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.लालले पानी उमालेर वा शुद्धिकरण गरेर खान आग्रह गरे।