के अमेरिका–इरान युद्ध हुन्छ ?

के अमेरिका–इरान युद्ध हुन्छ ?

एजेन्सी 

लन्डन : अमेरिकाले इरानलाई ‘सीधा र प्रष्ट’ सन्देश दिन भूमध्यसागरमा आफ्नो एउटा युद्धपोत तैनाथ गरिसकेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनका अनुसार कि राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले यो निर्णय ‘अनेकौं उत्तेजित बनाउने संकेत र चेतावनीको जवाफमा’ लिएको हो।

एक जना अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडामा आक्रमणको आशंका उत्पन्न भएकाले अमेरिकाले भूमध्यसागरमा आफ्नो युद्धपोत तैनाथ गरेको हो।

बोल्टनले कुनै पनि आक्रमणको ‘दह्रो’ जवाफ दिइने बताए। ‘अमेरिका यूएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र एउटा बम्बर टास्क फोर्स आफ्नो मध्य कमान्ड क्षेत्रमा पठाउँदैछ’, उनले भने, ‘हामी इरानलाई स्पष्ट र सीधा सन्देश दिन यसो गरिरहेका छौं कि अमेरिका वा उसका सहयोगी राष्ट्रमाथि कुनै पनि किसिमको आक्रमण भए हामी तत्कालै दाँत भाँच्चिने जवाफ दिनेछौं।’

यतिमात्र नभएर उनले अमेरिका इरानसँग युद्ध गर्न अनिच्छुक रहेको तर इस्लामिक रिभोल्युसनरी गार्डस् वा इरानी सेना जोसुकैले गर्ने कुनै पनि आक्रमण वा छद्म युद्धको जवाफ दिन भने तम्तयार रहेको पनि उल्लेख गरे। अमेरिकाले युद्धपोत भूमध्यसागरमा पठाउनुअघि इरानको विशेष रिभोल्युसनरी गाडर््सलाई ‘विदेशी आतंकवादी संगठन’ भन्दै आतंकवादी संगठनको सूचीमा राखेको छ।

कस्तो छ अमेरिका–इरान सम्बन्ध ?

केही समयअघि युरोप भ्रमण क्रममा अमेरिकी विदेशमन्त्री माइप पम्पेओले पत्रकारमाझ भनेका थिए, ‘इरानले उत्तेजित बनाउने खालका अनेकौं काम गरेको हामीले देखेका छौं र हामीमाथि हुने कुनै पनि आक्रमणको जिम्मेवार इरान नै ठहरिन्छ।’ तर उनले त्यस्ता ‘उत्तेजित पार्ने’ इरानी कामबारे कुनै विवरण दिएका थिएनन्।

अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरूलाई इरानी पेट्रोलियम पदार्थ नकिन्न दबाब दिएर इरानी अर्थव्यवस्था धराशयी पार्ने प्रयास गरिरहेको छ। इरान पनि जस्तोसुकै परिस्थिति किन नहोस् अमेरिकासामु नझुक्ने अडानमा छ।

इरानसमेत ६ देशबीच भएको आणविक सन्धिबाट गत वर्ष अमेरिका बाहिरिएको थियो। सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले गरेको सन्धिबाट अप्रसन्न राष्ट्रपति ट्रम्पले सन्धि तोडेका थिए।

त्यतिमा मात्र सीमित नभएर ट्रम्पले यमन र सिरियाको आन्तरिक द्वन्द्वमा इरानले सक्रिय भूमिका निर्वाह गरेको भन्दै आलोचना गरेका थिए।

सन्धि तोडेर दबाउने खालको नयाँ सन्धि गर्न इरानलाई बाध्य पार्ने अपेक्षा ट्रम्प प्रशासनको थियो। उसले इरानको आणविक कार्यक्रम मात्र नभएर ब्यालेस्टिक मिसाइल कार्यक्रममा समेत रोक लगाउन खोजेको थियो। अमेरिकाले भूमध्यसागरमा दादागिरी गरेको आरोप लगाउँदै आएको छ।

अमेरिकाले ‘मनोवैज्ञानिक युद्ध’ थालेको आरोप

उता, इरानले युद्धपोतको तैनाथीलाई आफूविरुद्ध अमेरिकाको ‘मनोवैज्ञानिक युद्ध’ भनेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकी घोषणाको प्रत्युत्तरमा इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफले अमेरिकी प्रतिबन्ध र तैनाथीको जवाफ दिन इरानसँग अनेकौं विकल्प भएको बताएका छन्।

विदेशमन्त्री जरिफले इरान यसका विकल्पबारे विचार गरिरहेको र तीमध्ये एउटा परमाणु अप्रसार सन्धिबाट बाहिरिनु पनि भएको बताएका छन्। उनले इरानलाई तेल बेच्न नदिए परिणाम भयावह हुने चेतावनी पनि दिए।

यसबीच इरानका एक जर्नेलले इरानमाथि धेरै प्रतिबन्ध लगाइए सामरिक महत्वको हर्मुज स्ट्रेटको जलमार्ग नै बन्द गरिदिने चेतावनी दिएका छन्। उनले भने, ‘इरानी तेल ट्यांकरले हर्मुज स्ट्रेटबाट निर्यात गर्न नपाए, अरू कुनै पनि देशका तेल ट्यांकरले पनि यहाँबाट वारपार गर्न पाउने छैनन्।’ यो जलडमरुबाट विश्वको ३० प्रतिशत पेट्रोलियम ओसारपसार हुन्छ।

‘बोल्टनको घोषणा झूटो र मनोवैज्ञानिक युद्ध मात्र हो’, इरानी सञ्चारमाध्यम तास्निमले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता केयान खोस्राभीको भनाइ उद्धृत गरेको छ, ‘अमेरिकी युद्धपोत कैयौं साताअघि नै भूमध्यसागरमा आइसकेको थियो।’

इरानको अर्धसरकारी समाचार एजेन्सी इस्ना (आईएसएनए)का अनुसार इरानका सर्वोच्च धार्मिक नेता अयातुल्ला अली खामेनीको एक सैन्य सल्लाहकारले भने, ‘अमेरिकासँग इरानमाथि आक्रमण गर्ने न ल्याकत छ न त इच्छाशक्ति नै।’

इरानी ब्रिगेडियर जनरल हुसेन डेघानले इरानविरुद्ध युद्धका लागि आफ्नो सहयोगी राष्ट्र र विश्वलाई नै सहमत गराउन अमेरिकाले फलामे च्युरा नै चपाउनुपर्ने बताएका छन्। इरानी सञ्चारमाध्यमले अमेरिका ६ देशबीचको आणविक अप्रसार सन्धिबाट बाहिरिइसकेकाले आफ्ना आणविका कार्यक्रम फेरि थाल्ने तर सन्धि नतोड्ने जनाएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.