पूर्वकुमारीको आकाश छुने रहर

पूर्वकुमारीको आकाश छुने रहर

पूर्वकुमारी मतिना शाक्य जिन्स प्यान्ट र टिसर्टमा छिन्। मोबाइल खेलाइरहन्छिन्। मस्को भ्रमणको अनुभव सुनाउन आतुर उनी घरि फोटो हेर्छिन्, घरि देखाउँछिन्। घरको दोस्रो तलामा बसेकी उनी केही बोल्ने कोसिसमा छिन्। अक्मकाउँदै उनको ओठबाट केही शब्द निस्कन्छन्, निकै सानो स्वरमा।

मतिना भर्खरै मस्को यात्राबाट फर्किएकी छन्। कुमारी पदबाट घर फिर्ती भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। या भनौं, जीवनकै पहिलो भ्रमण। नौ वर्षसम्म कुमारी बनेर सामान्य जीवनमा फर्किएपछि उनले लुम्बिनी भ्रमण गर्ने मौका पाएकी थिइन्। अन्य भ्रमणको अनुभव उनीसँग छैन।

 मस्को भ्रमणका क्रममा जीवनमै पहिलो पटक उनले प्लेन चढिन्। त्यति बेला थोरै डर र धेरै उत्साहका साथ उनले रोमाञ्चक उडान भरेकी थिइन्। रुसको राजधानी मस्को पुगेपछि मतिनाले रसियाली जनमैत्री विश्वविद्यालयका बारेमा जान्ने मौका पाइन्। विश्वविद्यालयको पढाइ, अतिरिक्त क्रियाकलाप, संग्रहालय आदि अवलोकन गरिन्।

उनको साथमा बुवा प्रतापमान र आमा सुनिता शाक्यका साथै कुमारीघरका अभिभावक महेन्द्ररत्न शाक्य थिए। वरिपरि रुसी नागरिक, नेपाली विद्यार्थी, विश्वविद्यालयका प्राध्यापकहरूले उनी घेरिएकी थिइन्। अञ्जान मानिससँग बोल्न र घुलमिल हुन अप्ठ्यारो मान्ने मतिनाका लागि यो एक चुनौतीपूर्ण भ्रमण थियो।

‘कुमारी पदमा रहँदा तोकिएको ठाउँमा बाहेक अन्त जान पाइँदैनथ्यो। यो हाम्रो परम्परा हो’, मतिनाका बुवा प्रतापमान भन्छन्, ‘अहिले उनी स्वतन्त्र छिन्।’ करिब दुई वर्ष भयो, मतिना कुमारीघरबाट आफ्नै घर फर्केकी। तर आज पनि नेवारी समुदायका मानिस ‘द्यःमयजू’ भन्दै उनको खुट्टा ढोग्छन्। कुमारी जीवित देवी हुन्। मानिसको आस्था र विश्वास यसमा जोडिएको छ।

भ्रमणकै क्रममा मतिनाले थाहा पाइन्— विश्वविद्यालयले उनका लागि छात्रवृत्ति दिने निर्णय गरेको रहेछ। द्यःमयजू (कुमारी) प्रति देखाएको सम्मानमा उनका बुवाआमा नतमस्तक थिए। तर मतिना भन्छिन्, ‘मस्कोमा गएर पढ्ने नपढ्ने पछि थाहा हुन्छ।’ सायद उनी पहिले नेपालमै आफ्नो पढाइ पूरा गर्न चाहन्छिन्।

उक्त विश्वविद्यालयको उद्देश्य मतिनालाई त्यहीँ पढाउनु थियो। जीवित देवी कुमारीको इतिहास, मौलिक परम्परा र उनीप्रति आममानिसको आस्थालाई पूरै विश्वले नजिकबाट नियाल्न खोजेको छ। चासो दिएको छ।

 साताव्यापी मस्को भ्रमण उनका लागि विशेष रह्यो। नेपाली संस्कृतिका प्रशंसक तथा प्रचारक रवीन्द्र भट्टराईले मस्कोस्थित नेपाली राजदूतावासमा कुमारी पूजाको आयोजना गरेका रहेछन्। बुवा प्रतापमान भन्छन्, ‘सभाकक्षका भित्तामा जताततै जीवित देवी कुमारीका तस्बिर झुन्डिएको थियो। नेपालको राष्ट्रिय झन्डा, पूजा सामग्री, नैवेद्य र फलफूल सजाएर राखिएको थियो। दायाँपट्टि वर्तमान कुमारी तृष्णा शाक्य र बायाँपट्टि मतिनालाई ससम्मान राख्ने व्यवस्था थियो।’

बुवा प्रतापमानले समारोहको फोटो देखाए। मतिना रातो कोट र रातै लेहेंगामा थिइन्। समारोहमा नेपालका लागि रुसका पूर्वराजदूत सेर्गेई भेलिच्कीले नेपालमा आफ्नो कार्यकाल सम्झँदै भने, ‘नेपाली संस्कृतिमा जीवित देवी कुमारीको पूजाआराधना विश्वमै अद्वितीय छ।’

नेपालमा कुमारीप्रति हिन्दू र बौद्ध धर्मावलम्बी दुवैको आस्थाभाव छ। हिन्दूहरूले आदिशक्ति र बौद्धहरूले बज्रशक्ति मान्ने देवी कुमारीलाई नारी शक्तिको द्योतक मानिन्छ। किंवदन्तीअनुसार देवी कुमारीमा अष्टमात्रिकाका साथै गणेश र कालभैरवको शक्ति समाहित छ। सम्भवतः त्यसै कारण कुमारी जात्रामा कुमारी देवीको रथका साथै गणेश र भैरवका रथहरू पनि साथै हुन्छन्। यो पनि पूर्वराजदूत भेलिच्कीले देखेका थिए।

कार्यक्रममा जीवित देवी कुमारीका अभिभावक महेन्द्ररत्नले कुमारी प्रथाका बारेमा भएका किंवदन्ती सुनाउँदा रसियाली नागरिकले कुमारी परम्पराका बारेमा जान्ने मौका पाए। उनको वक्तव्यको नेपाली अनुवाद डा. वदास उलकबाट भएको थियो। कृष्णप्रकाश श्रेष्ठले नेपालका देवताहरूको विषयमा लेखेको नेपाली अनुवादको किताब प्रस्तुत गरेका थिए। १० पटकभन्दा बढी नेपाल आएका एगोर आयोजक समितिका अध्यक्ष थिए।

कार्यक्रममा नेपालीमा अनुवाद गरेको जनकवि रासुल हाम्जातोभको ‘जीवित देवी कुमारी’ शीर्षकको काव्यबाट ‘कुमारीस्तुति’को अंश वाचन गरियो। यसको अन्तिम पंक्तिमा भनिएको छ—

रूप–अवर्णनातीत दिव्योपहार हो कि त ?       

उन्कै सौन्दर्यको गाथा गाउँछन् आरसी स्वतः।

नपरोस् तिमीले पर्न कुदुष्टिमा अनिष्टका,

सदा होस् शुभ, हे देवी ! कुमारी ! दिव्य बालिका !!

हाम्जातोभको यो काव्य र चित्रकार इभान कोजोरेजोभले खिचेका नेपालका रमणीय दृश्यचित्रले भरिएको किताब मतिनालाई हस्तान्तरणसमेत गरिएको थियो।

औपचारिक कार्यक्रमबाहेक मतिनाले व्यक्तिगत भ्रमण पनि गर्ने मौका पाइन्। तस्बिर देखाउँदै उनले क्रेमलिन परिसरमा घुम्दा रमाइलो लागेको बताइन्।

लालमैदान, हीरा जवाहरात भण्डार क्षेत्र उनका लागि नौलो थियो। ८९ तलाको गगनचुम्बी भवन माथिबाट मस्को सहरलाई आँखाभरि राख्न पाउनु उनको सौभाग्य थियो। सफा, सुन्दर मस्को देख्दा नेपालको साँघुरो बाटोको धुलोमैलो सम्झिइन्।

नेपाल फर्किएकी उनलाई भ्रमणले धेरै कुरा सिकाएको छ। जिज्ञासाका ढोका खोलिदिएको छ। संसारलाई आफ्नो ढंगले हेर्न सिकाइदिएको छ।

जनमानसमा भ्रम छ— एक पटक कुमारी बनेपछि जीवनभर पारम्परिक बन्धनमा बाँधिनुपर्छ। उचित शिक्षा पाइँदैन। विवाह गर्न दिइँदैन। पूरै जीवन देवी बनेर स्वतन्त्रताको तिलाञ्जलि दिनुपर्छ। के वास्तवमै यस्तो हुन्छ त ?       

प्रतापमान भन्छन्, ‘त्यसो होइन। अहिलेसम्मका कुनै पनि कुमारी कोठाभित्र थुनिन बाध्य छैनन्। मतिना पनि छैनन्।’ उनी थप्छन्, ‘मतिनाका लागि मस्को भ्रमणको महत्त्वपूर्ण क्षण अन्तरिक्ष उडान भर्न सिकाउने तारानगरीमा प्रवेश गर्नु हो। ज्वेज्द्नी गोरोद नामक उक्त क्षेत्र अन्तरिक्षयात्री प्रशिक्षण केन्द्र हो। त्यहाँ पुगेपछि मतिनाले अन्तरिक्ष यात्री सलिजन खलिफपसँग फोटो खिचाइन्। विज्ञानका नयाँ उपलब्धिबारे थाहा पाइन्। अन्तरिक्ष यात्रीसँग भेट्दा मतिनालाई पनि एस्ट्रोनट बनौँ बनौं लागेछ। उडेर आकाश छुने रहर जागेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.