प्रदेश २ च्याम्पियन
काठमाडौं : ‘मनमोहन स्मृति यू– १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’को उपाधि प्रदेश नम्बर २ ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको फाइनल खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई चार विकेटले हराउँदै च्याम्पियन बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ३० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि सुवास ऐरले सर्वाधिक ४७ रन बनाए। ५४ बलमा उक्त रन जोडेका सुवासले सात चौका हानेका थिए। सन्दीप विष्टले २८, आशिष भट्टले २१ र गोविन्द विष्टले १४ रन बनाए।
बलिङमा प्रदेश २ का
विशाल पटेल र निखिल सिंहले समान तीन तीन विकेट लिए। प्रशान्त सिंह र अरबज अन्सारीले एक एक विकेट लिएका थिए। एक सय ३४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले २६.३ ओभरमा ६ विकेटको क्षतिमा एक सय ३६ रन बनाए। २१ बलमा उक्त रन जोडेका रोहनले तीन छक्का र तीन चौका हानेका थिए। विशाल पटेलले अविजित २८, निखिल सिंहले २७ शेख इमरानले १४ रन बनाएका थिए।
बलिङमा सुदूरपश्चिमका आशिष भट्टले तीन तथा गोविन्द विष्ट र सचिन बढायकले एक एक विकेट लिएका थिए। उपाधिसँगै प्रदेश २ ले दुई लाख ५० हजार रुपैयाँ र सोही रकमबराबरको खेल सामग्री पुरस्कार पायो। उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार रुपैयाँ र सोही रकमबराबरको खेलसामग्री प्राप्त गर्यो।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी सुदूरपश्चिमका सुवार ऐर घोषित भए। उत्कृष्ट ब्याट्सम्यानको पुरस्कार प्रदेश ३ का आशिष भट्टराई, उत्कृष्ट बलरको पुरस्कार प्रदेश ३ का दीपक बोहोरा र इमर्जिङ खेलाडीको पुरस्कार प्रदेश ३ कै भार्गव चटौतले पाए। विजेता टोली र खेलाडीलाई नेकपाका नेता माधवकुमार नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्ट, सभासद् रामकुमारी भाँक्री, नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलगायतले पुरस्कार प्रदान गरेका थिए।