स्कुलमा एक सातादेखि ताला
जाजरकोट : छेडागाड –११ झाप्रास्थित बालमाध्यमिक विद्यालयमा एक सातादेखि लगाइएको ताला नखुल्दा पठनपाठन प्रभावित भएको छ। विभिन्न माग राखि अभिभावकले गत १६ बैशाखमा ताला लगाएका थिए। एक साता वितिसक्दा पनि उनीहरुका माग पुरागर्ने सम्बन्धमा विद्यालय प्रशासन र सरोकारवालाले ध्यान नदिँदा विद्यालयको ताला खुल्न नसकेको हो। विद्यालय नखुल्दा पठनपाठनसमेत प्रभावित भएको छ।
आर्थिक वर्ष २०६८÷६९ देखिको आर्थिक अवस्था छानविन गरि सामाजिक परिक्षण गर्नुपर्ने, विभिन्न बाहानामा कक्षा ११ र १२ मा लिने गरिएको चर्को शुल्क खारेज गर्नुपर्ने, योग्यता पुगेका व्यक्तिलाई प्रधानाध्यापकमा नियुक्ती गर्नुपर्ने, भवन निर्माणमा लागेका मजदुरलाई तत्काल ज्याला दिनुपर्ने, विद्यालय समायोजनको नाममा गरिएका अनुचित चलखेल तत्काल बन्द गर्न माग गदै अभिभावकहरुले तालाबन्दी गरेका हुन्।
प्रधानाध्यापकक पृथ्वीबहादुर सिंह साविकको उच्च मावि तर्फका अस्थायी शिक्षक हुन्। स्थानीयले योग्यता पुगेका स्थायी शिक्षकलाई प्रअ नियुक्त गर्न माग गरेका छन्। प्रअ सिंहले विद्यालयमा आर्थिक अनियमितता गरेको अरोप लगाउँदै अभिभावकले तालाबन्दी गरेका हुन्। छेडागाड–१० का अमरबहादुर विटालुले शैक्षिक अवस्था र स्तर शुन्य भएको, विद्यालयमा व्यापक अनियमितता भएको र यसको छानविन हुनपर्ने वारम्वार माग गर्दा पनि सुनुवाई नभएपछि आफुहरु तालाबन्दी गर्न बाध्य भएको बताए।
ताला खुलाउन नगरशिक्षा शाखा र विद्यालय प्रशासनले कुनै पहल नगरेको उनको भनाई छ। १२ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा करिव ६ सय विद्यार्थी रहेका छन। शैक्षिक सत्र सुरु भैसके पनि तालावन्दीका कारण पठनपाठन सुरु हुन सकेको छैन। तालाबन्दी गरेर समस्याको समाधान नहुने भन्दै प्रधानाध्यापक सिंहले राजनैतिक पुर्वाग्रहका कारण तालाबन्दी गरिएको आरोप लगाए।