आहा ! नयाँ किताब

आहा ! नयाँ किताब

काठमाडौं : कलंकीस्थित एडमार्क एकेडेमीमा कक्षा ५ मा पढिरहेकी रीना महर्जन अहिले निकै व्यस्त छिन्, साथै उत्साहित पनि। माथिल्लो कक्षामा पढ्न पाउँदाको आनन्द, नयाँ पोसाक र पुस्तक पनि नयाँ। उनलाई उत्साह थप्ने काम अहिले यिनै तीन चीजले गरिरहेका छन्।

उनलाई सबैभन्दा बढी व्यस्त नयाँ पुस्तकले बनाएको छ। अघिल्लो सातासम्म पुस्तकमा गाता राख्न र नाम लेख्नमै उनी व्यस्त थिइन््। अहिले विद्यालय आउने जाने तथा पुस्तकभित्रका कथा, कविता र निबन्ध पढेर उनको दिनचर्या बितिरहेको छ। ‘नयाँ पुस्तक पाउँदा उत्साह थपिँदो रहेछ। सुरुका दिनहरूमा त सबै पुस्तक एकै दिनमा पढिसकुँजस्तो लाग्छ’ महर्जन भन्छिन्।

नयाँ पुस्तक पाएकै कारण आनन्द मान्ने विद्यार्थीमध्ये स्वस्तिक पाण्डे पनि एक हुन्। उनको ललितपुरस्थित डीएभी सुशील केडिया स्कुलमा पढाइ सुरु भएको दुई साता बित्न लागेको छ। तर यो समय उनले घरैमा बसेर बिताएका छन्, कारण हो नयाँ पुस्तक।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय तहका सबैजसो विद्यार्थीको हातमा नयाँ पुस्तक पुग्ने गरेको छ। मुलुकभर रहेका ३५ हजार विद्यालय (सामुदायिक र निजी समेत) मा ७० लाखको हाराहारीमा विद्यार्थी पढ्छन्। अपवादलाई छाडेर सबैजसो विद्यार्थीले सुरुका दिनमा पुस्तकलाई जतन नै गरेको पाइन्छ।

‘नयाँ पुस्तक किन, पुरानो कोट लगाऊ’ भन्ने महान् दार्शनिक थोरोको भनाइलाई पनि विद्यार्थीका यी क्रियाकलापले प्रमाणित गरिदिएको छ। हरेक वर्ष कक्षा चढ्नेबित्तिकै विद्यार्थीको हातमा नयाँ पुस्तक आउने भए पनि सुरुका दिनहरूमा यसले विद्यार्थीमा निकै रौनक छाउने गरेको छ। स्कुलमा पढ्दा र झोलामा बोक्दा जतन गर्ने, घरमा पनि सुरक्षितसँग थन्क्याउने काममा विद्यार्थी निकै सक्रिय हुन्छन् नयाँ पुस्तक पाएको समयमा।

तर, जब दिनहरू बढ्दै जान्छन् र विद्यार्थीलाई गृहकार्य गर्नुपर्ने तथा कण्ठ गर्नुपर्ने कामको बोझ थपिन्छ, क्रमशः उनीहरूको जोस र जागर पनि कम हुँदै जान्छ। लामो समयदेखि बालसाहित्यको क्षेत्रमा कलम चलाउँदै आएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हरि खनाल विद्यार्थी स्वभावैले जिज्ञासु हुने भएकाले नयाँ पुस्तक हात परेको समयमा उनीहरू उत्साहित हुनुलाई सामान्य मान्छन्।

सुरुमा त टलक्क टल्किने गाता, त्यहाँभित्रका रंगीन चित्र, कतै नखुम्चिएको कागजलगायतका कारण पुस्तक निकै आकर्षक पनि देखिन्छ। जुन बालबालिकालाई लोभ्याउने मुख्य माध्यम बनेको छ। बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सिकाइ र सामाजिक विकासका लागि पुस्तक अनिवार्य मानिन्छ।

‘उमेर समूहअनुसार बालबालिकाको रुचि र चाहना पनि भिन्दाभिन्दै हुन्छ। अलिकति ठूलो उमेर भएका विद्यार्थीमा भन्दा कच्चा उमेर भएका बालबालिकामा यसको महत्त्व बढी हुन्छ’ खनाल भन्छन्। तर विद्यार्थीमा उमेर बढ्दै जाँदा सिकाइप्रतिको चाहनामा पनि कमी आउने गरेको छ।

स्कुल तहदेखि नै पुस्तकमा रुचि जगाउन सकिएमा बालबालिकालाई पठन संस्कृतिको विकास गराउन समेत सजिलो हुने खनालको भनाइ छ। पढाइलाई निरन्तरता दिइराख्नु चुनौतीपूर्ण काम भएको उनको अनुभव छ। ‘पढाउने शिक्षकदेखि अभिभावकले पनि हरेक दिन बालबालिकाको रुचि बदलिँदै जान्छ भन्ने हेक्का राख्नुपर्छ। र सोहीअनुसार पढाइलाई अघि बढाउनुपर्छ’ खनालको सुझाव छ।

प्राथमिक तह (कक्षा ५ सम्म) का बालबालिका विशेषगरी चित्र, गीत आदि भएको पुस्तक हेर्न रुचाउँछन्। यस्तो उमेरमा अक्षर धेरै भएको पुस्तक बालबालिकालाई नदिँदा नै उपयुक्त हुने मनोविद्हरूको भनाइ छ। मनोविदहरूका अनुसार प्राथमिक तह कटेका विद्यार्थी अक्षर बढी र चित्र कम भएका किताब पढन् मन पराउँछन्। यो समयमा उनीहरूको पढाइप्रतिको रुचि र चाहनामा पनि परिवर्तन आउने गर्छ। पुस्तकभित्र रहेको चित्रबाट आफ्नो धारणा बनाउने, व्याख्या गर्ने क्षमताको विकास हुने भएका कारण यही समयमा उनीहरू कुन पुस्तक कति महत्त्वपूर्ण भन्ने छुट्ट्याउनसमेत सक्षम हुन्छन्। किशोर अवस्थाबाट उकालो लागेपछि भने उनीहरूभित्र आएको परिवर्तनले गर्दा कौतुहल र जिज्ञासा मेटाउने खालमा पुस्तक पढ्न बढी मन गर्छन्।

हैरान अभिभावक

पुस्तकप्रति आकर्षण बढे पनि कक्षापिच्छे विद्यार्थीलाई नयाँ पुस्तक किनिदिनुपर्ने बाध्यताका कारण अभिभावक भने हैरान भएका छन्। एकै कक्षामा पनि फरकफरक प्रकाशकको पुस्तक किन्नुपर्ने, विद्यालयले भनेकै पसलबाट पुस्तक किन्नुपर्ने र पुस्तकमा आवश्यक छुट पनि नपाउने समस्यका कारण अभिभावक मारमा परेका छन्।

प्रकाशकको आर्थिक प्रलोभनमा फसेर विद्यालय सञ्चालकले तोकिएकै पसलबाट पुस्तक किन्न बाध्य पारेका कारण पनि अभिभावक मारमा परेका छन्। एउटा कक्षाका विद्यार्थीका लागि मात्र अभिभावकले न्यूनतम दुई हजार रुपैयाँको पुस्तक किन्नुपर्ने बाध्यता छ अहिले। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी नियमन गर्ने निकायका कमजोरीका कारण अभिभावक समस्यामा परेको बताउँछन्।

‘विद्यार्थीमा उत्साह मात्र हुन्छ। उनीहरूले कुन पुस्तक महँगो वा सस्तो भयो भन्दा पनि कुन राम्रो छ भन्नेतर्फ मात्र चासो दिन्छन्’ भण्डारी भन्छन्, ‘पुस्तकको मूल्य निर्धारण र अनुगमन पक्षलाई मन्त्रालयले बलियो बनाउनुपर्ने हो। मन्त्रालयको कमजोरीको भार विद्यार्थी अभिभावकले बोक्नु परेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.