बाल कथा : सेतो छडी
दाइले भन्नुभयो, ‘अब पीर गरेर मेरा आँखाको ज्योति फर्केर आउँदैन बहिनी। जीवनलाई सामान्य बनाउनुपर्छ। आँखा देख्दा म जति खुसी थिएँ, नदेख्दा पनि उत्तिकै खुसी हुने प्रयास गर्दैछु।’
सडकपेटीमा मानिस कुदिरहेका थिए। एकअर्कालाई ठेल्दै हिँडेका थिए। म स्कुल जान हिँडेकी थिएँ। मलाई साथी भेट्ने हतार थियो। मेरो किताबको झोला निकै गह्रौं थियो। त्यसले मेरो काँधै दुखाएको थियो।
परबाट मेरै उमेरको केटो यतै आउँदै थियो। उसले स्यानो लौरो टेकेको थियो। मैले सोचेँ, ‘केटाले किन लौरो टेकेको होला !’ मलाई त्यो केटोलाई नजिकबाट हेर्न मन लाग्यो। म उभिरहेँ। उसले कालो चस्मा लगाएको थियो। ऊ एकदमै सुन्दर थियो। हिँड्दा भने लर्खराएर हिँडेको जस्तो लाग्थ्यो।
ऊ बालुवाको थुप्रोमा पछारियो। लौरो उछिट्टिएर पर पुग्यो। कसैले भन्यो, ‘यति सानै उमेरमा यसरी धोक्नुपर्ने ? ’ बल्लबल्ल त्यो केटो आफैं उठ्यो। सबैले उसलाई गिज्याए। कसैले सहयोग गरेन। लडेर उठ्दा पनि उसको अनुहार हँसिलो थियो।
म उसलाई नै हेरिहेकी थिएँ। ऊ फेरि लड्यो। अहिले उसको टाउको बिजुलीको पोलमा ठोक्कियो। उसले टाउको सुम्सुम्यायो। दुखे पनि अनुहार उज्यालो थियो।
म उसको छेउमा गएँ। मैले भनेँ, ‘तपाईंलाई के भयो दाइ ? धेरैचोटि लडिसक्नुभयो। अनि कता हिँड्नुभएको ? ’ उसले भन्यो, ‘म तपाईंलाई देख्न सक्दिनँ। म नेत्रहीन हुँ। मेरो आँखाको ज्योति गुमेको केही समय मात्रै भयो। सेतो छडीको सहायताले हिँड्न कोसिस गरिरहेको छु। लड्दा आपैmं उठ्ने प्रयास गर्दैछु। अनि तपाईं को हो नि ? ’
मैले भनेँ, ‘दाइ, मेरो नाम मानषी हो। मेरी आमाले मलाई छाडेर हिँडेको धेरै वर्ष भयो। बाबासँग बसेकी छु। म स्कुल हिँडेकी हुँ। ८ कक्षामा पढ्छु। तपाईं धर्खरिएको देखेर बसेकी। आउनुहोस्, म तपाईंलाई सडक कटाइदिन्छु। मेरो स्कुलमा प्रार्थना समय टरिसक्यो। म आज स्कुल जान्नँ।’
मैले दाइलाई डोर्याएँ। दाइले मलाई सोध्नुभयो, ‘तपाईंले मलाई कता लग्न खोजेको बैनी ? ’ मैले भनेँ, ‘तपाईंलाई सडक कटाइदिँदै छु। सडक काटेर ऊ पर पार्कमा गएर बसौं है दाइ ! तपाईंलाई भेटेपछि मलाई स्कुल जानै मन लागेन। मलाई तपाईं आप्mनै दाइजस्तो लाग्यो। मेरो पनि तपाईंजस्तै दाइ हुनुहुन्थ्यो। के मसँग बसेर कुरा गर्न मन छैन तपाईंलाईं।’
दाइले भन्नुभयो, ‘म तपाईंलाई चिन्दिनँ बहिनी।’ मैले भनेँ, ‘बहिनीको गालामा छाम्नुस् त दाइ।’ दाइले मेरो अनुहार छाम्नुभयो। मायाले सुम्सुम्याउनुभयो। अनि भन्नुभयो, ‘मलाई सडक कटाइदिनुभयो। तपाईंलाई धेरै धन्यवाद ! म अब जान्छु है !’
मैले भनेँ, ‘हैन दाइ जानुहुन्छ ? कसरी जानुहुन्छ ? आज म स्कुल जान्नँ। तपाईंसित बस्छु। तपाईंलाई जानुपर्ने ठाउँमा म पुर्याइदिउँला।’
मैले सोधेँ, ‘दाइ, तपाईं अब देख्न सक्नुहुन्न ? ’ दाइले भन्नुभयो, ‘मेरो आँखाको ज्योति गुमेको एक महिना पनि भएको छैन बहिनी। चार वर्षदेखि नै मेरा आँखा धमिला भएका थिए। अस्पताल आउँदा ढिलो भइसकेछ। डाक्टरले भने, ‘अब तिम्रो आँखाको ज्योति फर्काउन सकिन्नँ।’ डाक्टरको कुराले मलाई छाँगाबाट खसायो।’
मैले भनेँ, ‘दाइ, तपाईंले भर्खर मात्रै आँखा देख्न छाड्नुभएको मैले थाहा पाएँ। तपाईं छडीले छामेर बिस्तारै पेटीमा हिँडेको देखेँ। बालुवाको सानो थुप्रोमा पनि तपाईं सेतो छडीले छाम्दै हुनुहुन्थ्यो। तपाईं लड्नुभयो। लडेर पनि मुसुमुसु हाँस्दै बिस्तारै हिँड्दै हुनुहुन्थ्यो। तपाईंको टाउको बिजुलीको पोलमा ठोक्कियो। तपाईंले टाउको छाम्नुभयो। तपाईंको अनुहार बिग्रिएको थिएन। सधैंका लागि आँखा गुमाएको मान्छे, यसरी हाँसेर हिँडेको मैले कहिल्यै देखेको थिइनँ। मलाई त अचम्म लागेको थियो। तपाईंलाई पीर लाग्दैन दाइ ? ’
दाइले भन्नुभयो, ‘अब पीर गरेर मेरा आँखाको ज्योति फर्केर आउँदैन बहिनी। जीवनलाई सामान्य बनाउनुपर्छ। आँखा देख्दा म जति खुसी थिएँ, नदेख्दा पनि उत्तिकै खुसी हुने प्रयास गर्दैछु।’
मैले भनेँ, ‘दाइ, तपाईंका कुराले मेरो मन छोयो। आज दिनभरि सँगै बसेर कुरा गरौँ न है ! हिँड्नुहोस्, मेरो घर जाऊँ।’ दाइले भन्नुभयो, ‘मानषी बहिनीलाई धेरैधेरै धन्यवाद ! अर्को कुनै दिन जाउँला नि ! मेरी आमा मलाई भात कुरेर बस्नुभएको छ। म नपुगेसम्म उहाँले पनि भात खानुहुन्न।’
दाइ हिँड्नुभयो। म दाइलाई हेरिबसेँ। चारपाँच पाइला पर जाँदै लड्नुभयो। मानिसको भीडले दाइलाई उठाएन। लत्याएर हिँड्यो। मेरो मन कुँडियो। कुदेर गएँ। दाइलाई उठाएँ। उहाँले मेरो अनुहार छाम्नुभयो। भन्नुभयो, ‘मानषी बहिनी, तिमी मेरै पछिपछि आएकी थियौ ? घर किन नफर्केकी ? ’
मैले भनेँ, ‘दाइलाई पुर्याएर मात्रै म घर जान्छु। आफू बसेको घर पत्तो लगाउनुहुन्छ दाइ ? ’ दाइले भन्नुभयो, ‘आमाले मलाई एक्लै सडकमा जान दिनु भएको थिएन। म जबर्जस्ती आएको हुँ। मलाई हेरेर आमा सडकमै बस्नुभएको छ। उहाँले बोलाउनुहुन्छ नि !’
म दाइलाई डोर्याउँदै अघि बढेँ। केहीबेरमै आमा भेटिनुभयो। उहाँले सोध्नुभयो, ‘तिमी कसको साथ लागेर आएको बाबु ? ’ दाइले भन्नुभयो, ‘यी मानषी बैनी हुन्। म यिनलाई आप्mनै बहिनी मान्छु है आमा ! तिहारमा यिनकै हातको टीको लगाउँछु।’
मैले दाइको आमाको अनुहारमा हेरेँ। बेरीबास्सै ! उहाँ त मेरी आफूनै आमा पो हुनुहुँदो रहेछ। आमाले मलाई अँगालो मार्नुभयो। बरबरी आँसु खसाल्नु भयो। निधारमा मायाले चुम्नु भयो। भक्कानिएर भन्नुभयो ‘मानषी ! ऊ तिम्रो दाइ मानष !’ दाइ सेतो छडीले यताउता छाम्दै हुनुहुन्थ्यो। मलाई खुसी पनि लाग्यो। दुःख पनि लाग्यो।