दोलखामा कांग्रेसको राष्ट्रिय जागरण अभियान
दोलखा : नेपाली कांग्रेस दोलखाले बुधबार पहिलो चरणको हिमाल, पहाड़ तराई- मधेश राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ।
राष्ट्रिय जागरण अभियान कार्यक्रम भनिए पनि कांग्रेस दोलखाको अभियानमा नेताको उपस्थिति बाक्लै रहे पनि कार्यकर्ता र शुभेच्छुकको उपस्थिति भने अत्यन्त नगन्य छ। यसअघि सम्पन्न संघीय निर्वाचनमा करिब २७ हजार मत प्राप्त गरेको कांग्रेस दोलखाको जागरण अभियानको उद्घाटन समारोहमा कार्यकर्ताको फितलो उपस्थिति रह्यो।
उक्त उपस्थितिले कांग्रेस दोलखाको जागरण अभियान कहाँ पुग्ने हो भन्ने नेपाली कांग्रेसका कार्यकर्ता उद्धव विसीले चिन्ता व्यक्त गरे। नजिकिंदै गरेको दोलखा उद्योग वाणिज्य संघको चुनावको कारण बहुसंख्यक कार्यकर्ता उता खटिनु परेकाले जागरण अभियानमा उपस्थिति कम देखिएको एक कांग्रेस नेताको जिकिर छ।
जागरण अभियानका प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व कृषि मन्त्री रामकृष्ण यादवले सरकारले जनतालाई उल्टो विकास जबरजस्ती लाद्न खोजेको आरोप लगाएका छन्।
सरकारद्वारा नियमित हुनुपर्ने कामलाई पनि दुई तिहाईको दम्भमा बंग्याएर उल्टो विकास लाद्न खोजेको उनको आरोप थियो । जागरण अभियान नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काको सभापतित्वमा आयोजना गरिएको थियो।