प्युठानको बंगाली मेडिकलमा शिलबन्दी
प्युठान : सरुमारानी गाउँपालिका- ५ जस्पुर प्यूठानमा संचालनमा रहेको एक अवैध मेडिकलमा शिलबन्दी गरिएको छ। गैर नेपाली नागरिकले संचालन गरेको बंगाली मेडिकलमा बुधबार गाउँपालिकाबाट पुगेको अनुगमन समितिले शिलबन्दी गरेको हो।
गत मंसिर २६ गते मेडिकल अवैध भएको भेटिएपछि गाउँपालिकाले एक साताभित्र संचालकलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थियो। तर, पाँच महिना वितिसक्दा समेत संचालक कार्यालयमा नआएपछि शिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्मर वलीले जानकारी दिए। उनका अनुसार मेडिकल संचालक कलकत्ता निवासी शंकर लस्कर हुन्।
मेडिकलले म्याद गुज्रिएका औषधि बिरामीलाई दिँदै आइरहेको भेटिएको समेत उनले जनाए। लस्करले विगत डेढ वर्षदेखि मेडिकल संचालन गर्दै आइरहेको स्थानीयले बताएका छन्।
प्रमुख प्रशाकीय अधिकृत वलीको नेतृत्वमा स्वास्थ्य शाखा सहसंयोजक, वडा अध्यक्ष, जस्पुर स्वास्थ्यचौकी इन्चार्जलगायत सहभागी थिए। लस्करकै दाजुभाइ नाता पर्ने अर्का गैर नेपाली नागरिकले गाउँपालिकाकै वडा नम्बर २ स्थित दरभानमा संचालन गरेको दर्लामी फार्मेसी समेत अवैध भएको पाइएको छ।
फार्मेसीका संचालक कंकन लस्कलाई मंगलबार एक साताभित्र आवश्यक कागजातसहित गाउँपालिकामा उपस्थित हुन पत्र काटिएको स्वास्थ्य शाखा सहसंयोजक टेकेन्द्र रायमाझीले जानकारी गराए।
तोकिएको समयमा उपस्थित नभए उक्त फार्मेसीमा समेत शिलबन्दी गरिने उनको भनाइ छ। बजार अनुगमन निर्देशिका २०७५ दफा १४ को उपदफा क बमोजिम औषधिपसलमा शिलबन्दी गरेको गाउँपालिकाले जनाएको छ।