कांग्रेसलाई सुधार्न राष्ट्रिय जागरण : रिजाल

कांग्रेसलाई सुधार्न राष्ट्रिय जागरण : रिजाल

भक्तपुर : नेपाली कांग्रेसलाई सुधार्न पनि राष्ट्रिय जागरण अभियान अघि बढाइएको कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बताएका छन्।

उनले देशबाट कम्युनिस्टलाई परास्त गर्नमात्रै नभई कांग्रेसभित्र हुने मारामारी, वैमनश्यता, आपसी अविश्वास र झगडाबाट कांग्रेसलाई मुक्त गर्न पनि राष्ट्रिय जागरण अभियान अघि बढाइएको स्पष्ट पारेका हुन्।

भक्तपुरमा बुधबार राष्ट्रिय जागरण अभियान सुरुवात गर्दै उनले भने, ‘तीन तहमा भोगेको पराजयबाट सिकेर कांग्रेसलाई सबैले पत्याउने र विश्वास गर्ने कांग्रेस बनाउन जागरण आवश्यक छ।’

केपी ओली नेतृत्वको सरकार कम्युनिष्ट तानाशाहतर्फ लम्केको आरोप लगाउँदै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता रिजालले नेपालमा पुनः पुनः कम्युनिस्ट उठ्न नसक्ने गरी कांग्रेस उठ्नुपर्ने जिकिर गरे।

कांग्रेस नउठे मुलुक र जनताले अर्को तानाशाह खेप्नुपर्ने उनको भनाइ थियो। नेता रिजालले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु निर्लज्जताको पराकाष्ठा भएको टिप्पणी गरे।

‘संविधानमै नेपार सरकार उल्लेख छ। सरकारका हरेक काम कारबाही नेपाल सरकार मातहत हुने भनिएको छ’, उनले भने, ‘तर राष्ट्रपति मेरो सरकार भन्नु निर्लज्जताको पराकाष्ठा हो। यसैको लागि हामीले राजसंस्था फालेर गणतन्त्र ल्याएका होइनौं।’

‘जनताको सरकारबाट राजीनामा देऊ’
भूलचुक नभई जानी जानी ‘मेरो सरकार’ राखिएको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै सांसद रिजालले प्रधानमन्त्री ओली राष्ट्रपतिको सरकार भए जनताको सरकारबाट राजीनामा दिन सुझाव दिए।
‘प्रधानमन्त्री ओलीलाई आफू राष्ट्रपतिको सरकार जस्तो लाग्छ भने जनताको सरकारबाट राजीनामा दिए हुन्छ’, उनले भने, ‘राजा महाराजाको जस्तै राष्ट्रपतिको सरकार हुन तपाईंलाई जनताले चुनेका होइनन्।’

नेता रिजालले प्रधानमन्त्री ओलीलाई जनताको पक्षमा काम गर्न सुझाव दिँदै जनताले सहने पनि सीमा हुनेतर्फ सचेत गरे।

ओली राजामहाराजाको कित्तातर्फ उन्मुख
‘प्रधानमन्त्री ओली ज्यू जनतालाई होच्याउन छोड्नुहोस्, गिज्याउन छोड्नुहोस्। तपाईंका हरेक अभिव्यक्ति व्यंग्य विनोदझैं लाग्छ, हँसीमजाकझैं लाग्छ’, उनले भने, ‘तपाई राजा महाराजाको कित्तामा जाँदै हुनुहुन्छ। त्यसैले जनताको पक्षमा काम गर्नुस्। जनताले सहने पनि सीमा हुन्छ।’

नेता रिजालले जनताले चाहे कांग्रेस पुनः सत्तामा आउनसक्ने दावी गरे। तर यस निर्वाचनको अवधिभर कांग्रेस प्रतिपक्षमा रहने र सशक्त एवं रचनात्मक प्रतिपक्षको भूमिका निभाउने उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा र सचिव उद्धव सिलवालले भक्तपुरमा जिल्ला तहदेखि निर्वाचन क्षेत्र, नगर हुँदै वडा तहसम्म जागरण अभियान सञ्चालन गर्ने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.