डा. बानिरा गिरीलाई अभिनन्दन
काठमाडौं : डेढ वर्षदेखि ‘डिमेन्सिया’ रोगका कारण आफ्नै निवासमा उपचार गराइरहेकी साहित्यकार डा. बानिरा गिरीलाई गैरआवासीय नेपाली संघ अमेरिका (नेपाली भाषासाहित्य प्रवद्र्धन समिति) ले अभिनन्दन गरेको छ।
संस्कृतिविद् तुलसी दिवसले मंगलबार दोसल्ला ओढाएर अभिनन्दन गरे। संघले गिरीलाई ५१ हजार नगद प्रदान गरेको थियो। दिवसले लेखककविलाई सम्मान गर्न सय वर्षको उमेर पुग्नै पर्छ भन्ने नभएको बताउँदै भने, ‘स्रष्टालाई मृत्युपछि मात्रै सम्मान गरिने परम्पराको निरन्तरतालाई यो कार्यक्रमले विराम लगाइदिएको छ।’
गीतकार दिनेश अधिकारीले गिरीको कविताको विषयमा चर्चा गरे। नियात्राकार प्रतीक ढकालले गिरीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे भने साहित्यकार गीता केशरीले शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।
कार्यक्रमका संयोजक विमल भौकाजीले अभिनन्दन गर्ने संस्थाका अध्यक्ष ज्ञानेन्द्र गदाल र डा. केशव पौडेलप्रति आभार प्रकट गरे।