भारतमा मोदी, नेपालमा कन्हैया

भारतमा मोदी, नेपालमा कन्हैया

टाइम पत्रिकाको संसारका प्रमुख सय प्रभावशाली व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम प्रकाशित भएपछि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले गरिबी निवारण, शैक्षिक सुधार र महिला सशक्तीकरणमा प्रमुख योगदान दिएको भन्दै मोदीलाई एक प्रमुख सुधारकको संज्ञा दिएर टाइम पत्रिकामै लेखेका थिए। द इकोनोमिस्ट, द गार्डियन, द वासिंटन पोस्ट्, चाइना डेली आदिले मोदीको दोस्रो कार्यकालको अपेक्षाका विषयमा प्रशस्त लेखेका छन्।

मोदीप्रतिको संसारको चासो मोदीको सफलताको एउटा सूचक हो। नेपालका छापाले भने मोदीसँगै एक युवा नेता कन्हैया कुमारलाई प्रमुख महत्त्व दिएर लेखेका छन्। यो नेपाली बौद्धिक समाजको मनोदशाको सूचक हो। यो नेपालको आगामी राजनीतिक दिशाको संकेत पनि हो।

संसारको ठूलो लोकतन्त्र भारतको निर्वाचनको कोलाहल पनि भीमकाय छ। कन्हैयाले मच्चाएका कोलाहलका तरंगहरू नेपालसम्म पुगेका छन्। कन्हैया आर्थिक रूपले एक गरिब, योग्यताले विद्यावारिधि, उमेरले एक युवा, विचारले एक वामपन्थी र क्षमताका हिसाबले नागरिकलाई उत्तेजित गर्ने चर्को भाषणकलाका धनी छन्। देशद्रोहको अभियोगमा थुनामा परेपश्चात् उनको ख्याति फैलियो र नेपालसम्म पुग्यो। उनको बयानबाजीको लयमा ताली बजाउने नेपालमा प्रशस्तै देखिएका छन्। यो उनको सफलता हो। सरकारविरुद्ध जनताले सुन्न खोजेको, बोल्न सक्नेसिवाय उनको मूल्यांकन गर्ने अन्य कुनै तथ्य छैनन्। संसदीय प्रयास पनि यो उनको पहिलो हो।

कन्हैया भारत र नेपालमा चर्चित हुनुको कारण हो गरिबीजन्य राजनीतिक शक्ति। यो शक्तिले नेपालमा धेरैले नायकत्व प्राप्त गरेका छन्। गरिबीजन्य राजनीति भारतमा पनि छ र नेपालमा पनि। यो दुर्भाग्यपूर्ण हो। भारतीय राजधानीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थी हुँदा एउटा विवादास्पद कार्यक्रममार्फत उनी चर्चित भएका थिए। कन्हैयाको नेतृत्वमा भएको एक सभामा ‘भारत तेरे टुकडे होंगे’ भन्ने नारा लगाइएका थिए। यो वाक्यमा ‘भारत’ को सट्टामा ‘नेपाल’ प्रयोग गरेर कसैले काठमाडौंको टुँडिखेलमा नारा घन्कायो भने नेपालीका लागि त्यो व्यक्ति नायक मानिन्छ वा खलनायक ? तिनै नारा लगाएका कारण उनी केही दिन प्रहरी हिरासतमा परेपछि मोदीविरोधीले उनलाई नायकत्व प्रदान गरे। उनले कश्मीरका केही विद्यार्थीसँग मिलेर चर्काएको अर्को नारा ‘छिनके लेंगे आजादी’ पनि विवादित थियो।

कश्मीरमा भारतबाट स्वतन्त्र हुने आन्दोलन जारी छ, त्यहाँ आजादीको नारा सधैं लाग्ने गर्छ। टुँडिखेलमा सीके राउतले चर्कोरूपले ‘छिनके लेंगे आजादी’ भन्ने नारा लगाए भने सीकेलाई नेपालमा नायक मानिएला ? यद्यपि कन्हैयाले भारतबाट आजादी नखोजेर भारतमै आजादी खोजेको स्पष्टीकरण दिएका थिए तर उनले कश्मिरी विद्यार्थीसँग त्यो नारा लगाएकाले उनलाई देशद्रोहको आरोप लागेको थियो। ७० वर्षको भारतीय स्वतन्त्र लोकतन्त्रमा उनले महिला, किसान, युवा आदिलाई आजादी भन्ने लयबद्ध नारा लगाउने गरेका छन्। के हो त्यो भनेको ? राउतलाई देशद्रोह र विप्लवलाई प्रतिबन्ध लागेको देशमा कन्हैयालाई कसरी आदर्श पुरुषको रूपमा लिन सकिन्छ ? यसको एउटै कारण छ। कन्हैया एक कम्युनिस्ट नेता हुन्। नेपालको छापाले कन्हैयालाई मोदीको दाँजोमा पेस गर्नुको कारण यही हो।

मोदी क्षमताको अध्ययन गर्ने थुप्रै वस्तुगत आधार छन्, कन्हैया बयानबाजीमा सीमित छन्। भारतमा स्थिर सरकार दिन सक्ने हैसियत मोदी सिवाय कसैसँग छैन।

के कन्हैयाबाट मोदीलाई कुनै चुनौती छ ? कन्हैयाको दल भारतीय कम्युनिस्ट पार्टी अहिलेको निर्वाचनमा करिब ५५ स्थानमा मात्र प्रतिस्पर्धा गर्दै छ। मोदीको दलले करिब ४३७ स्थानमा उम्मेदवारी दिएको छ। कन्हैयासँग आफ्नो निर्वाचन क्षेत्रमा एक सर्वसम्मत उमेदवारी दिएर बीजेपीलाई चुनौती दिने अवसर थियो। मोदीविरोधी राजनीतिबाट उदाएका कन्हैयालाई मोदीविरुद्ध बनेको भारतीय महागठबन्धनले नै पत्याएन। त्यसैले बयानबाजीअनुसारको क्षमता कन्हैयासँग देखिएन। कन्हैयाले विशेष गरेर युवा मतदातालाई आकर्षित गरेका छन् तर त्यहाँको जातीय र धार्मिक समीकरण कन्हैयाको पक्षमा देखिएको छैन। बीजेपीले त्यहाँ एक आपराधिक पृष्ठभूमि भएको गैरस्थानीय उम्मेदवार उठाएर कन्हैयालाई हलुका रूपमा लिएको छ।

नरेन्द्र मोदीसँग आफ्नो राज्य गुजरातमा सबभन्दा लामो समयसम्म मुख्यमन्त्री रहेको अनुभव छ। त्यो कालमा गुजरातको विकास दर करिब १२ प्रतिशत रहेको तथ्य छ। भारतका कुनै पनि राज्यमा कुनै पनि सरकारको त्यस्तो आर्थिक वृद्धिको तथ्य छैन, कम्युनिस्टको पनि छैन। मोदी भारतको केन्द्रीय राजनीतिमा उदाएपश्चात् भारतीय लोकसभा निर्वाचनमा हुने जनसहभागिताको आँकडामा वृद्धि भएको छ। त्यो वृद्धि अहिलेको निर्वाचनमा पनि देखिएको छ। यसबाट मोदीले जनतालाई लोकतान्त्रिक अभ्यासमा आकर्षित गरेर जनतामा उत्साह पैदा गरेको स्पष्ट देखिन्छ। तीन तलाकलाई भारतको सर्वोच्च अदालतले गैरकानुनी गरेदेखि मोदीले यसलाई दण्डनीय अपराध बनाउने कानुन निर्माण गर्ने प्रयास राज्यसभामा संख्या नपुगेर पारित हुन सकेन। मोदीको यो प्रयासको कन्हैयाले आलोचना गरेका छन्। कालोबजारी रोक्न र धनाढ्यको कालो धन नियन्त्रण गर्न मोदीले नोटबन्दीजस्तो एक अलोकप्रिय जोखिम मोलेका थिए। यसमा कन्हैयाको दलको विरोध थियो। नोटबन्दीको कारणले अहिलेको भारतीय निर्वाचनमा भइरहेको अधिकांश खर्च सेतो धन हो, जुन निर्वाचन आयोगले नियन्त्रण गर्न सक्छ। मोदीले सरकारी सेवामा १० प्रतिशत गरिबलाई आरक्षण दिनुपर्ने कानुन बनाएका छन्। कम्युनिस्टलगायत भारतका अन्य दलहरू जातीय र धार्मिक आरक्षणका पक्षपाती हुन्। ग्रामीण सरसफाइमा मोदीले उलेख्य काम गरेका छन्। गरिबका लागि मोदीले गरेको सुधारको सूची लामो छ।

कम्युनिस्ट नेता कन्हैयाको सहकार्यसमेत अस्वाभाविक छ। आदर्श नारा ‘तिलक, तराजु और तलबार, यिनको मारो जुते चार’ बोकेकी उत्तरप्रदेशकी नेत्री मायावती कन्हैयाको गठबन्धनमा छन्। यो नारा ब्राह्मण, वैश्य र क्षेत्रीप्रति लक्षित हो। मुसलमानको तुष्टीकरणमा राजनीति गर्ने अर्का नेता अखिलेश यादव पनि त्यही गठबन्धनमा छन्। नेपालीलाई चौकीदारको देश भन्ने नेता हार्दिक पटेल, अल्का लाम्बा र अजित सिंह पनि कन्हैयाको गठबन्धनमा छन्। तीन तलाकजस्तो कुसंस्कारका पक्षधर कट्टर मुसलमान कन्हैयासँगै छन्।

विद्रोहीद्वारा सुरक्षकर्मी मारिँदा मनोरञ्जन गर्ने छद्म उदारवादीहरू कन्हैयासँगै छन्। वंशवादी कांग्रेससँग कन्हैयाको सहकार्य जारी छ। बंगलादेश र पाकिस्तानमा अल्पसंख्यकमाथि भइरहेको अत्याचार नदेख्ने तर रामायण र महाभारतजस्ता ग्रन्थलाई हिंसात्मक देख्ने उल्टो खोपडीका कम्युनिस्ट नेताहरू कन्हैयासँगै छन्। मोदीको आलोचना सिवाय अर्को कुनै मुद्दा नभएका अनेक नेता कन्हैयाका साथमा छन्। राजनीतिमा कुनै न्यूनतम सिद्धान्तको आवश्यकता हुँदैन ? विकासशील देशमा सामाजिक र राजनीतिक विकृति एक दरिलो राजनीतिक हतियार रहँदै आएको छ। यस्तै हतियारको उपयोग कन्हैयाले गर्दै छन्।

पञ्चायतविरुद्ध कांग्रेसले ३० वर्ष संघर्ष ग¥यो। आफूलाई प्राप्त भएको जनमतको सम्मान र रक्षा गर्न नसक्ने लोकतान्त्रिक दल कांग्रेस आजसम्म बीपीको सपना पूरा गर्ने नारा दिँदै छ। इतिहासले के देखाएको छ भने कांग्रेस केवल पञ्चायत ढाल्न उद्वेलित थियो। सुशासन कांग्रेसको क्षमता नै थिएन।

२०२८ सालको झापा विद्रोहका नेता केपी ओली अहिले देशका लोकप्रिय प्रधानमन्त्री बनेका छन्। २०२८ सालको समाजमा अन्याय, अत्याचार र थिचोमिचो पनि थियो होला, ओलीले लोकतन्त्रका लागि योगदान पनि दिएका छन् तर बुर्जुवा वर्गको टाउको काटेर समानता ल्याउने उनको राजनीतिले कुनै पेसा नभएका उनलाई एक धनाढ्य नेताको रूपमा स्थापित गरेको पनि सत्य हो। के झापामा आज वर्गहीन समाज निर्माण भएको छ ? नभए मुर्कट्टा विद्रोहको के अर्थ भयो त ? ‘दासढुंगा हत्या हो, हत्या हो’ भन्नेलाई नेपाली जनताले यथेष्ट अवसर र स्थान दिए। यो दुर्घटनाको सत्यतथ्य किन बाहिर आएन ? जुन आर्थिक हैसियत अहिले समानता र सर्वहारा वर्गको अधियानकवादका लागि युद्ध गरेका नेता पुष्पकमल दाहालको छ, अयोग्य लडाकुको पनि त्यस्तै हैसियत छ ? आयो त सर्वहाराको अधिनायकवाद ?

माओवादी युद्धका घाइतेलाई पनि अमेरिकामा स्वास्थ्योपचार गरिएको छ ? चालीसबुँदे आकर्षक मागलाई प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराईले हुबहु लागू गरेको भए तिनका पुर्खाको के जान्थ्यो ? ती जनताको रगत उमाल्ने शक्तिशाली नारा थिए र तिनको उपयोग गरिएको थियो। हावादारी बयानबाजी र यथार्थमा फरक देख्न नसक्ने बौद्धिक जगत् र उपयोगिताको राजनीति विद्रोहका कारक हुन्, समृद्धिका वाधक पनि हुन्।

सामाजिक र राजनीतिक विकृति संसारमै छन्। तिनको निरूपण गर्न सक्ने अग्र सक्रिय नेताभन्दा समाजका अँध्यारा पक्ष वा विकृतिमा चर्को बोल्ने नेता सजिलै लोकप्रिय हुनुको कारण गरिबी र अशिक्षा हो। यही कारणले कन्हैया नेपालमा चर्चित भए। सरकारको एउटा सानो कमजोरी देखिएमा नागरिकको चर्को विमति विपक्षमा कुर्लिन्छ। किन ? राष्ट्रपतिमाथि अपमानजनक आलोचना गरिएका छन्। किन ? समाजवादउन्मुख संविधान बनिसक्दा पनि घातक समाजवादी आन्दोलन जीवित छ किन ? किनकि विकृतिविरुद्ध चर्को नारा मात्र लगाउन जानेका प्रतिक्रियावादीको नायककत्व जीवित छ। गरिबी, अशिक्षा, कुशासन, भ्रष्टाचार र अभावको समाजमा यी विकृति भजाउन सक्ने प्रतिक्रियावादीलाई सजिलै नेता मानिन्छ। आजको मितिसम्ममा कन्हैयाले यस्तै विकृति भजाएका मात्र छन्। आफूले उजागर गरेका विकृतिको समाधानको उपाय नदेखाएसम्म, आफूले भन्ने गरेको आजादीको वस्तुगत आधार प्रस्तुत नगरेसम्म, व्यक्तिगत रूपमा जननिर्वाचित प्रधानमन्त्रीलाई आक्षेप लगाइरहेसम्म र लोकसभामा भारतीय कम्युनिस्ट पार्टी केवल एक सदस्यमा सीमित भएसम्म कन्हैयाको सकारात्मक मूल्यांकन गर्नै सकिँदैन। कन्हैया मोदीका चुनौती हुनै सक्दैनन्।

अन्त्यमा, नेपालका वाम पत्रकारहरूले केवल कम्युनिस्ट नेता भएकाले कन्हैयालाई प्रभावशाली नेताका रूपमा प्रस्तुत गरेर आफ्नो धर्म निर्वाह गरेका मात्र हुन्। स्वतन्त्रमध्ये केहीले नेपालमा कम्युनिस्ट बाहुल्य भएकाले बजारमा चल्ने समाचारको रूपमा कन्हैयाको पलडा भारी भएको देखे झैं गरेर लेखेका होलान्, केहीलाई मोदीको नाकाबन्दीको पीडाले सत्यतथ्य लेख्न दिएन। तर वास्तविकता के हो भने मोदीको क्षमताको अध्ययन गर्ने थुप्रै वस्तुगत आधार छन्, कन्हैया बयानबाजीमा सीमित छन्। भारतमा स्थिर सरकार दिन सक्ने हैसियत मोदी सिवाय कसैसँग छैन। मोदीसँग विमति राख्न ‘कहाँ राजा भोज कहाँ गंगु तेली’ भने झैं कुनै तोरीलाउरेसँग मोदीको तुलना गर्नु विद्वता होइन। पंक्तिकारका यी वाक्यमा विमति राख्ने र आलोचना गर्न चाहने आदरणीय पाठकले भारतको निर्वाचनको मतगणना हुने दिन मे २३ सम्म पर्खेर आलोचना गर्दा वस्तुगत होला।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.