ठेकेदारलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध, स्थानीय र प्रहरीबीच झडप
काठमाडौं : चाबहिल-बौद्ध-जोरपाटी सडकखण्ड बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।सडक मर्मत नभएको भन्दै स्थानीय र व्यापारीले बिहान ८ बजेदेखि सडक अवरुद्ध गरेका हुन्।शंख फुकेर विरोधमा उत्रिएका स्थानीय र व्यापारी सडकमा टायर बालेर अवरोध जनाएका हुन्।
प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ। आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको छ। बिहानैदेखि सडक अवरुद्ध भएपछि साँखु, मेलम्ची र गोकर्णबाट रत्नपार्क, चक्रपथ र कोटेश्वर जाने सवारी साधनलाई जोरपाटी चोकबाट फर्काइएको छ।
प्रदर्शनमा उत्रिएका स्थानीयले कालोपत्रे छिटो गर,ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर, भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेका छन्।सडक मर्मत नहुँदा धूलो र हिलोले आजित भएका स्थानीय सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन्।
उक्त सडकमा खण्डखण्ड बनाएर कालोपत्रे सुरु गरिएको छ। लामो समय भएसक्दा पनि सडक पिच नहुँदा स्थानीय पानी पर्दा हिलो र घाम लाग्दा धूलोबाट आजित हुँदै आएका छन्।
चाबहिलदेखि थलीसम्मको सडकखण्डको ६ ठाउँमा कालोपत्रे भएको छ। टुकुचोदेखि टुसाल चोकसम्म, जोरपाटी ओरोलोदेखि नारायणटार चोकसम्म र दक्षिण ढोकादेखि नर्लिङसम्म सडक कालोपत्रे भएको छ। त्यस्तै नर्लिङ गेट अगाडिदेखि तिवारीचोकसम्म कालोपत्रे भएको छ भने हरियाली नगरसम्म कालेपत्रेको काम हुँदैछ। थली ओरालोमा पनि कालोपत्रेको काम सिद्धिएको छ। थलिदेखि साँखुसम्मको सडकमा भने कालोपत्रेको कुनै सुरसार छैन।
तस्बिर : उमा विष्ट / दिपेन श्रेष्ठ