गौचरन बन्यो गोकुलेश्वर विमानस्थल
दार्चुला : दार्चुलाको गोकुलेश्वर विमानस्थल २६ वर्षदेखि गौचरनमा परिणत भएको छ। आर्थिक, पर्यटकीय जिल्लाको विकास र सम्भावनासँग जोडिएको विमानस्थल द्वन्द्वकालदेखि बन्द भएको हो। विमानस्थल सञ्चालन हुन नसक्दा दार्चुलाले ठूलो घाटा व्यहोर्नुपरेको छ।
सिंगो दार्चुला र बैतडीको आधाभन्दा बढी भूभागले सजिलै सेवा पाउने गोकुलेश्वर विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै सम्भावना ओझेलमा परेको शैल्यशिखर नगरपालिकाका स्थानीय लम्बोदर विष्टले बताए। विमानस्थल गौचरन हुँदा आकस्मिक रूपमा रेफर गर्नुपर्ने बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ।
राजनीतिक दलले विमानस्थलको धावनमार्गमा उभिएर सञ्चालन गर्ने आश्वासन दिए पनि निर्माण हुन सकेको छैन। ०५० देखि दार्चुलाबाट जितेर जाने र हार्ने सबै नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुने बताउँदै आएका छन्। सांसद वा मन्त्रीले परिणाममुखी पहल गर्न नसकेको गोकुलेश्वरका व्यापारी गंगादत्त जोशीको गुनासो छ।
विमानस्थल सञ्चालनका लागि प्रधानमन्त्री केपी ओलीलाई भेटेर आगामी वर्षको बजेटमार्फत गोकुलेश्वर विमानस्थल सञ्चालनको कार्यक्रम ल्याउन माग गरेको दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिंह ठगुन्नाले दाबी गरे। ‘बजेट विनियोजनको समस्या नभए पनि प्राविधिक समस्याका कारण जनअपेक्षाअनुसार छिट्टै विमानस्थल सञ्चालनमा आउन सकेको छैन,’ उनले भने।
तत्कालीन बोहरीगाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा ०४४/४५ तिर विमानस्थल निर्माण सुरु भएको थियो। ०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल ०५० सालदेखि पूर्णरूपमा बन्द छ। ०६० सालदेखि कार्यालय सहयोगीको भरमा छाडिएको विमानस्थल जीर्ण बन्दै गएको स्थानीय जिज्ञासु खत्रीले बताए।
प्रदेश राजधानीबाट झन्डै साढे तीन सय किलोमिटर सडक मार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टपूर्ण यात्रा गर्नुपर्ने भएकाले पर्यटक जिल्लामा कमै मात्र पुग्ने गरेका छन्। कष्टपूर्ण यात्रा देखेर सुविधा सम्पन्न ठाउँमा बसेका कर्मचारी, विकास साझेदार र विज्ञसमेत दार्चुला नपुग्ने गरेको प्रदेशसभा शैल्यशिखर नगरपालिकाका मेयर अमर धामीको भनाइ छ।