आफैं मूल्य तोकेर पुस्तक बेच्दै जेम्स स्कुल
काठमाडौं : ललितपुरको धापाखेलस्थित जेम्स स्कुले विद्यार्थीलाई ‘रिडिङ प्रोग्राम’ शीर्षक राखेर आफूखुशी पुस्तक बेचिरहेको पाइएको छ। स्कुलले कक्षा एकदेखि आठसम्मका हरेक विद्यार्थीलाइ न्युनतम दुई पुस्तक पढ्नुपर्ने र ती सबै पुस्तक स्कुलबाटै किन्नुपर्ने बाध्यकारी नियम बनाएको छ।
स्कुलले अभिभावकलाई पठाएको पत्रमा एउटा अंग्रेजी र अर्को नेपाली पुस्तक पढ्नुपर्ने बताएको छ। तर ती पुस्तक स्कुलबाटै लिनुपर्ने पनि पत्रमा भनेको छ।
पुस्तकको मूल्य ७५० रुपैंया तोेकेको छ। विद्यार्थीले दुईवटा पुस्तक पढ्नुपर्ने अभिभावकलाई जानकारी गराए पनि आफूखुशी पुस्तक किन्नसमेत रोक लगाएको छ।
स्कुलले आफैं पुस्तक र मूल्य तोकेर पत्र पटाएकोमा अभिभावकले आपत्ति जनाएका छन्। कक्षा कोठामा नियमित पढ्नुपर्ने पुस्तक समेत स्कुलले नै तोकेको प्रकाशकबाट किन्नुपर्ने बाध्यताबाट मारमा परेका अभिभावक यो निर्णयले मर्का परेको बताउँछन्।
एक अभिभावकले भने, ‘पुस्तक पढेर विद्यार्थीलाई फाइदा हुन्छ भन्ने हामीलाई थाहा छ। तर आफैँ पुस्तक र मूल्य तोकेर पत्र पठाउनु भनेको स्कुलको कमाउने धन्दा मात्रै हो।’