सोमबार ललितपुर महानगरपालिकामा सार्वजनिक बिदा
ललितपुर : ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ। वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको हो।
जोशी सोमबार अर्थात् वैशाख ३० गते ९९ वर्ष पूरा गरी एक सय वर्षमा प्रवेश गर्दैछन्। यस अवसरमा महानगरपालिका मातहतका सबै कार्यालयलगायत संघसंस्थालाई बिदा दिने जानकारी विज्ञप्तिमार्फत् गराएको छ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कला, साहित्य र संस्कृतिमार्फत् नेपाललाई चिनाउन महत्वपूर्ण योगदान दिएको अवसरमा वैशाख ३० गते विभिन्न कार्यक्रम गरेर जन्म शताब्दी मनाउने तयारी छ।
महानगरले उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको र्याली गर्नेछ। र्यालीमा सहभागी हुन सबै नगरबासीलाई अनुरोध गरिएको छ। महानगरले जोशीलाई सम्मान स्वरुप यसअघि नै गाडी, चालक, सुरक्षा गार्ड र मोबाइल प्रदान गरेको थियो।