अब स्वास्थ्य संस्थामै सुत्केरी
कालिकोट : रास्कोट नगरपालिकाले आफ्नो क्षेत्रका सबै महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउने भएको छ। नगरपालिकामा रहेका सम्पूर्ण सरकारी कार्यालय, जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत सरोकारवालाको सहभागितामा रास्कोटमा स्वास्थ्यसंस्थामा सुत्केरी गराउने अभियान थालिएको छ।
घरमा सुत्केरी हुँदा महिलाले उच्च रक्तस्राव, रक्तअल्पता, साल अड्किने, पाठेघर खस्ने, घरायसी हतियारले नाभी काट्दा अन्य समस्या हुनेलगायतका कारण ज्यान नै जोखिममा पर्ने भएकाले नगरपालिकाको पहलमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख हंशराज बरालले बताए। सुत्केरी प्रोत्साहन भत्ता दिने व्यवस्था भए पनि स्वास्थ्य संस्थामा आउन छाडेपछि अभियान नै सञ्चालन गर्नुपरेको उनको भनाइ छ।
वडा नम्बर ९ का अध्यक्ष डबल बोगटीले चैतदेखि सुरु गरेको घरमा सुत्केरीमुक्त वडा बनाउने अभियानले प्रभावकारी भएको बताए। जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत वडाका ११ वटा टोल र तीन सय ८५ घरमा सचेतना जोगाउन अभियान थालिएको छ। नगरपालिकाले मासिक १० हजार तलब दिने गरी स्वास्थ्य स्वयंसेवक खटाएको छ। जसले वडामा रहेका गर्भवती, सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिकाको विवरण संकलन गर्छन्। गर्भवतीले नियमित स्वास्थ्य संस्थामा जाँच, आइरन चक्की खानेलगायत स्वयंसेवकले निगरानी गरिरहेका छन्।
वडा नम्बर ९ स्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा कार्यरत विमला सञ्ज्यालले अनिवार्य स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभियान सञ्चालन गरेपछि गर्भ जाँच गर्ने महिलाको संख्या वृद्धि भएको बताइन्। नगरपालिका प्रमुख कासीचन्द्र बरालले आगामी वर्षदेखि नगरपालिकाका हरेक घरमा पुगेर महिलालाई परामर्श गरिने बताए।