बर्डफ्लुले पोल्ट्री क्षेत्र धराशायी

बर्डफ्लुले पोल्ट्री क्षेत्र धराशायी

काठमाडौं : बर्डफ्लुको संक्रमणका कारण नेपालको पोल्टी क्षेत्र धरापमा परेको छ। बर्डफ्लुको हल्लाका कारण पछिल्लो समय सर्वसाधारणले कुखुराको अण्डा र मासु उपभोग कम गरेपछि यो क्षेत्र बिस्तारै धराशयी हुने अवस्थामा पुगेको हो।

नेपालमै पहिलोपटक बर्डफ्लुका कारण एक सर्वसाधारणको मृत्यु भएको विषय बाहिर आएपछि सर्वसाधारणले अण्डा र मासु खान डराएका छन्। यसले गर्दा उपभोग घटेको हो। पोल्ट्री क्षेत्रले कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशतले योगदान दिएको छ। पोल्ट्री क्षेत्रमा निजी क्षेत्रको ८ अर्ब र दाना क्षेत्रमा ४० अर्बको लगानी छ।

वर्डफ्लुका कारण पोल्ट्री क्षेत्रको समग्र मूल्य शृंखला तह नै जोखिममा पर्दा एक सातामै ६३ करोड रुपैयाँबराबरको घाटा भएको नेपाल पोल्ट्री महासंघले दाबी गरेको छ। महासंघका अनुसार यो घाटा मुख्य गरी कुखुराको मासु र अण्डाको उपभोग घट्दा, बर्डफ्लुका कारण ब्रोइलर र लेयर्स जातको चल्ला उत्पादन नहुँदा, उत्पादित चल्लाको बजार मूल्य पनि झण्डै ७५ प्रतिशतभन्दा तल झर्दा र तयारी दानाको बिक्रीसमेत झर्दा भएको हो।

महासंघका अध्यक्ष गुणचन्द विष्टका अनुसार सरकारको गैरजिम्मेवार नीतिका कारण आत्मनिर्भर रहेको पोल्ट्री क्षेत्र धराशयी बनेको हो। विष्टले विभिन्न शक्ति केन्द्रको चलखेलका कारण बर्डफ्लुको नाममा आत्मनिर्भर स्वदेशी पोल्ट्री क्षेत्र धराशयी बनेको आरोप लगाए। ‘जुन बेला यो क्षेत्र पूर्णरूपमा आत्मनिर्भर हुन्छ, त्यही बेला कुनै न कुनै बहानामा ध्वस्त बनाउने काम हुन्छ’, अध्यक्ष विष्टले भने, ‘यसमा सरकारी निकायदेखि विभिन्न शक्ति केन्द्रको स्वार्थ बाझिएको छ। कृषि र पशुजन्य क्षेत्रमा नेपाललाई आत्मनिर्भर हुन नदिने केही तत्व लागिपरेका छन्।’

उनका अनुसार एक सातामै मासुतर्फ २१ करोड, ब्रोइलर चल्लातर्फ १५ करोड, लेयर्स चल्लातर्फ १० करोड, अण्डातर्फ १५ करोड ५० लाख र दानातर्फ डेढलाख रुपैयाँको घाटा भएको छ। विष्टका अनुसार कुखुराको मासु र अण्डाको उपभोगदर सबैभन्दा बढी उपत्यकामा घटेको छ। उपत्यकामा मासुको उपभोग दरमा २५ प्रतिशतले गिरावट आएको छ। अर्थात् मासुको बिक्री एक दिनमै डेढ लाख किलो घटेको छ। उपत्यकामा दैनिक तीन लाख मेट्रिक टन कुखुराको मासु सामान्य दिनमा खपत हुँदै आएको थियो।

‘तर बर्डफ्लुका कारण अहिले बिक्री घटेर आधामा झरेको छ’, विष्टले भने। उनका अनुसार बिक्री घटेर उपत्यकामा एक सातामा झण्डै २१ करोड रुपैयाँको १० लाख ५० हजार किलो कुखुराको मासु बिक्री भएन। बिक्री गर्दा तयारी अवस्थाको कुखुरा खोरमै अलपत्र परेका छन्। अर्कोतर्फ अत्यधिक गर्मीका कारण खोरमै कुखुरा मर्ने सम्भावना बढ्दै गएको उनको कथन छ।

वर्डफ्लुका कारण पोल्ट्री क्षेत्रको समग्र मूल्य शृंखला तह नै जोखिममा पर्दा एक सातामै ६३ करोड रुपैयाँबराबरको घाटा।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले पनि सरकारी नीतिका कारण धराशयीबाट जोगिएर पुनः ठडिएको यो क्षेत्र धरासायीको बाटोमा पुगेको बताए। बीसीले पोल्ट्री क्षेत्र जोखिममा पार्ने उद्देश्यले नियोजितरूपमा गलत प्रचार गरिएको आरोप लगाए। ‘बर्डफ्लुकै संक्रमणबाट मृत्यु भएको व्यक्तिको नाम, ठेगानासहित पूर्णविवरण सार्वजनिक नगरी सरकारी कर्मचारीको मिलेमतोमा नियोजितरूपमा यो क्षेत्रमा आक्रमण भएको हो’, बीसीले भने, ‘बर्डफ्लुका विषयमा नेपालमै अत्याधुनिक सरकारी प्रयोगशाला भए पनि सहकार्य नगरी स्वास्थ्य विभागले एकलौटी अध्ययन गरी जारी गरेको सूचनाले यो क्षेत्र तहसनहस बनायो।’

बीसीका अनुसार अण्डाको उपभोगतर्फ पनि करिब ३० प्रतिशतले कमी आएको छ। बर्डफ्लुबाट डराएका सर्वसाधारणले अण्डा उपभोग नगर्दा अहिले अण्डाको मूल्य पनि घटाइएको छ। तैपनि बिक्री नहुँदा यो क्षेत्रले पनि ठूलो घाटा व्यहोरेको बिसीले बताए। बर्डफ्लु फैलिनु अघिसम्म प्रतिक्रेट अण्डाको मूल्य तीन सय ५० थियो। बिक्री घटेका कारण अहिले प्रतिक्रेटमा एक सय रुपैयाँ घटाउँदा पनि बिक्री हुन सकेको छैन।

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार कुखुराको उत्पादन घट्दा अण्डाको उत्पादनमा पनि कमी आएको छ। दैनिक ४० लाख गोटाको हाराहारीमा उत्पादन भइरहेको अण्डा घटेर अहिले २८ लाख गोटामा झरेको छ।

विष्टका अनुसार बर्डफ्लुका कारण अहिले चल्लाको मूल्य पनि तल झरेको छ। उत्पादन भएका चल्ला बिक्री नहुँदा किसान र उद्योगीले अण्डाबाट चल्ला उत्पादन गर्ने काम पनि प्रभावित भएको छ। प्रतिगोटा ८० मा पाइने चल्लाको मूल्य अहिले १० देखि ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ। नेपाल दाना उद्योग संघका अध्यक्ष रबीन पुर अनुसार चल्ला उत्पादन र कुखुरापालन घटेर दाना उद्योगतर्फ पनि घाटा भएको छ।

पशु सेवा विभागका महानिर्देशक डा.बंशी शर्माले हल्लाको पछि लागेर कुखुराको मासु उपभोग गर्न छाड्न नहुने जानकारी दिए। डा.शर्माले उच्च तापक्रममा कुखुराको मासु पकाएर सेवन गर्दा मानव स्वास्थ्यलाई कुनै पनि प्रकारको हानि नहुने बताए। विभागका अनुसार विश्वको ८ अर्ब जनसंख्यामा पछिल्लो दुई वर्षको अवधिमा एक जना सर्वसाधारणको मात्रै बर्डफ्लु संक्रमण भएर मृत्यु भएको जनाएको छ। डा.शर्माले भने, ‘विश्वमा बिरलै बर्डफ्लुका कारण सर्वसाधारणको मृत्यु भएको छ, डराउनुपर्ने अवस्था छैन। मज्जाले पकाएर ढुक्कले खान सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.